पोखरा: नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ । गत बैशाख २२ गते बुद्धपूर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएको ठहर गर्दै आपत्ति जनाएको हो । नौंचु पैंगीलामा गुरुङ ताङतिङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा.जगमान गुरुङले माफी माग्नु पर्ने बताएको छ । विज्ञप्तीमा भनिएकोछ, ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैर संवैधानिक छ । उनले नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका बासिन्दाले जाल साजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको आरोप छ ।’ नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले डा. गुरुङले आफ्नो भनाई फिर्ता लिएर माफी नमागे परिवारको तर्फबाट जस्तो सुकै कदम चाल्न तयार रहेको बताए । संस्कृतिविद डा. गुरुङले नौंचु पैंगीलामा गुरुङ बारे आपत्तिजनक अभिव्यक्ति मात्र नभई मादी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सर्वोच्च अदालतलाई चुनौती त्यस्तै जातीय तथा क्षेत्रीय द्वन्द्व सृजना गर्ने खालको भनाई राखेका थिए । उनको भनाईको सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो । सो विषयलाई लिएर गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङले समेत सामाजिक सञ्जालमा अभिव्यत्ति दिदै आपत्ती जनाएका छन् ।
बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ। आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ। हात्तीको पोस्टमर्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली समेत झापा आएका छन्।
काठमाडौं: आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ । यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक र दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । भोलि र पर्सि भने मौसम बदली भई एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।
पोखरा: पोखरेली पत्रकार श्रीराम सिग्देल काठमाडौंमा सम्मानित भएका छन् । २१ औँ चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २४ औ वार्षिक उत्सबका अवसरमा सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८० बाट सम्मानित भएका हुन् । फेवापोस्ट साप्ताहिकका सहायक सम्पादकसमेत रहेका सिग्देल सिग्देल समाजवादी प्रेस संगठनका उपाध्यक्ष हुन् । उनी पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । सो कार्यक्रममा सिक्देलसँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट शान्तिप्रिय, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट तुलसी गिरी , ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट कुबेर डँगोल, दीपज्योती थापा, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रबि अधिकारी पुरस्कृत भएका थिए ।
जनकपुरधाम: सप्तरीमा एक युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताएका छन् ।
पोखरा: परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएकाले , प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन गर्दै आएको छ । परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए । परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिंदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेभएको छ । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुन पाउने उनले जनाएका छन् । तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्, र त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको छ ।
पोखरा: प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया) को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो । पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरिएको छ ।
काठमाण्डौं: सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण सेमिनार गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए । पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
काठमाडौं: हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । चट्याङ र हावाहुरीका कारण मानवीय क्षति हुने जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताएका छन् । उनका अनुसार बेलुकीपख काठमाडौंसहित केही पहाडी जिल्लाका हल्का वर्षाको सम्भावना पनि छ । पहाडी क्षेत्रमा हल्का हावाहुरी पनि चल्ने उनले बताए । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थालेको छ । विशेषगरी आज मधेस प्रदेश र कोशी प्रदेशका केही ठाउँमा तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।

