पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

काठमाण्डौ:  सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।   सिंहदरबारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउने छन् ।   २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले  हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् ।   गएको २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो । अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन सिफारिस गरेको हो ।    चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ। 

काठमाण्डौ: रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ ।    काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो ।     नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार काठमाण्डौं उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ ।   केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उनले बताए तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उनको भनाइ छ ।   रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र  यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् ।   रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् । 

काठमाडौं:  ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ ।    महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो ।   महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र स्तरोन्नति गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ ।   कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने ? भनेर महानगरले स्पष्टीकरण सोधेको छ ।   तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो  कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।

पोखरा:  पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ ।      एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नुभएको थियो ।      विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरूलाई समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त ४५ हजार रुपैयाँबाट पोशाक उपलब्ध गराइएको हो ।      उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिको २०८० वैशाख १२ गतेको निर्णय अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवम् व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापा लगायत पनि सम्मानित बन्नुभएको थियो ।      व्यवस्थापन समितिको बैठकले हरिभक्त सिग्देल, छत्रधर आत्रेय, चन्द्रावती पौडेल, वासुदेव पौडेल, धनबहादुर थापा र हरिप्रसाद तिवारीलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको थियो ।      कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।      कार्यक्रममा सल्लाहकार एवम् राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, सल्लाहकार एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तरीयता अभिबृद्धि सँगै विद्यालयको दीर्घकालीन सुसञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभएको थियो ।  

 रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।    तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् ।   तलब नपाएपछि गएको जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाएको तर पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा आन्दोलन थालेको उनीहरुले बताएका छन् ।   स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलबका लागि मेयर रामकृष्ण खाँणसहितलाई मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको समेत बताए ।

काठमाडौं:  नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरूद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो ।   ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहितका हाइप्रोफाइल मछिए ।     सो प्रकरणमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानुभण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए ।     यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरू जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् । बुधबार दायर मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरूङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ ।   यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् ।

रुकुम:  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । आज (बिहीबार) बिहान भएको दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० घाइते भएको बताइएको छ ।    घटनास्थलबाट सानीभेरी गाउँपालिका ३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।    मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट - ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।   दुर्घटनामा परेर  घाइते भएकाहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ ।   जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।