काठमाडौँ: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा उनलाई नक्सालस्थित घरबाटै पक्राउ गरेको हो । ललिता निवासको २९९ रोपनी ३ आना जग्गामा सरकारी कागजात किर्ते गरेको कसुरमा गुरुङलाई पक्राउ गरिएको बुझिएको छ । सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङ २०७७ साल माघमा विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
काठमाण्डौ: हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो । जङ्गलमा च्याउ टिप्न गएका बेला उहाँलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
इलामको माङ्सेबुङ–५ बाह्रलाखेमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन् । गएराति २ बजे स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागीबाट त्यस आसपासमा रहेका ८ वटा घर पनि जलेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
काठमाण्डौ: गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङलाई अमलेमा रहेको जङ्गलमा सोमबार मृतावस्थामा फेला पारेको बताउनुभयो। गुरुङको काठ लिएर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताउनु भएको छ ।
काठमाण्डौ: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गएको शनिवारदेखि महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा। डा। रत्नमणि गजुरेलले जानकारी दिनुभयो । डाक्टरको टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ र आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
काठमाण्डौ: लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाण्डौमा प्रभातफेरी निकालिएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा सहभागीले लागुऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका छन् । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने रहेको छ । लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष एक लाख ९० हजार जनाभन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ ।
चितवन: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका, ४ मनकामना केवलकार नजिकै माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज आइतबार दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले र विपरीत दिशातर्फ आँउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही कञ्चन गाउँपालिका १ बस्ने ३६ वर्षका हेमन्त कुमाल घाइते भएका थिए । घाइते कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक मकवानपुर कैलाश गाउँपालिका २ घर भएका लुम्न सिंह मोक्तानलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट कार र चालक दाङ घोराही उपमहानगरपालिका १० का हुमानन्द गिरीलाई पक्राउ गरेको हो। उनलाई सशस्त्र प्रहरीले गत शनिबार राति साढे ९ बजे पक्राउ गरेको हो। नेपालबाट भारत जाँदै गरेको बा १२ च ३८२० नम्बरको कारलाई प्रहरीले चेक गरेको थियो। चेक गर्दा गियर बक्सभित्र दुई किलो बराबरको सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ। परीक्षणबाट उक्त धातु सुन नै पुष्टि भए दुई करोड ३ लाख २७ हजार बराबरको हुने प्रहरीले जनाएको छ।

