पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।   उहाँले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले  फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताउनु भयो । उहाँले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरिसकेको पनि बताउनुभयो ।   कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गरेको उहाँले बताउनु भयो । उहाँले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकताबद्ध गर्‍यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्‍याउन सकिन्छ, भनेको थिएँ । र कम्युनिष्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति झन्डै दुई तिहाइ प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखापर्‍यो। अब कम्युनिष्टहरुले ४०/५० कति वर्ष लानेहुन् शासन भनेर भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ ।’   उहाँले अगाडि भन्नुभयाे, ‘अहिले कमरेड माधवकुमार नेपाल, मलगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’  

काठमाण्डौ: श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।   विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो ।   हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाण्डौ नै फर्किएको थियो ।   ‘आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गर्छौँ, भोलिदेखि नियमित उडान शुरु हुन्छ,’ मानन्धरले भन्नुभयो ।   आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

काठमाण्डौ:  बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।   १० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ ।   तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ।   त्यसैगरी, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी छ । सडक विभागले वर्षाको बेला सडक बन्द भए तत्काल खुलाउने तयारी गरेको भने पनि त्यसो हुन सकिरहेको छैन ।   पहाड र ठूलाठूला ढुंगा खस्दा सडक खुलाउन समस्या भइरहेको छ । विभागका उपमहानिर्देशक रामहरि पोखरेलले  सडक खुलाउनका लागि विभिन्न ठाउँमा दुई सय ४२ वटा उपकरणहरु तयारी अवस्था राखेको बताउनु भएको छ। देशमा ८० वटा राजमार्ग छन् । यसमध्ये​​ कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा छैनन्। नियमित गाडी चलिरहेका राजमार्ग अवरुद्ध भइहाले समयमै खुलाउन सडक डिभिजन कार्यालयलाई तयारीका साथ राखिएको विभागको दाबी छ ।   यसैबीच, पहिरोको कारण मुग्लिन–नारायणगढ सडकको यात्रा कष्टकर बनेको छ । गएराति  ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको छ । पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन छ । सडक खुलेको एकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।   संघीय राजधानी काठमाण्डौको ‘लाइफ लाइन’ मानिएको मुग्लिन–नारायणगढ सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिरो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन् ।

काठमाण्डौ:  पछिल्लो समय नयाँ राहदानी ९पासपोर्ट० लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।    राहदानी विभागका अनुसार गएको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् ।   एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको अहिलेसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता एवम् निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैतमा एक लाख ४२ हजार र वैशाखमा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ ।   प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ ।    ६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।   बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका(३ देउराली मोडमा दुर्घटना भएको हो।   दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी  मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए।   घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम र अन्य चारजनाको अवस्था सामान्य रहेको डिएसपी घलेले जानकारी दिए। उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको डिएसपी घलेले बताए। उनका अनुसार त्यो ठाउँ दुर्घटना धेरै हुनेमध्येको ठाउँ हो।     दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको डिएसपी  घलेले जानकारी दिए।

काठमाण्डौ:  लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ ।   हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।   पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।   यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।   काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ । 

पोखरा: पोखरा महानगर क्रिकेट समितिको अध्यक्षमा बीरेन्द्र पुन चयन भएका छन् ।    पोखरामा सम्पन्न क्रिकेट प्रेमीहरुको भेलाले पुनको अध्यक्षतामा ७ सदस्यिक कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोविन्द प्रधान  सचिवमा कपिल देव गौतम तथा कोषाध्यक्षमा ऋषिकेश सर्मा पौडेल चयन भए । त्यसैगरि सदस्यहरुमा भरत थापा, देवी लामा, र अभिनय श्रेष्ठ चयन भए ।   नवनिर्वाचित अध्यक्ष पुनले कास्कीमा ग्रासरुट क्रिकेट विकासका लागि अभियानको थालनी गर्ने बताए । यसका लागि पोखरा महानगर अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा क्रिकेटका कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए ।   पोखरामा रहेका विभिन्न क्लवहरुविच क्रिकेटका प्रतिस्पर्धात्मक कार्यक्रम गरिने, खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिइने, महानगरभित्रका वडाहरुविच वडा कप प्रतियोगिता आयोजना लगायतका कार्यक्रमहरु अघि सारिने पुनको भनाई छ । त्यसैगरि अन्तर महानगरिय मेयर कप क्रिकेट प्रतियोगिता समेत आयोजना गर्ने समितिको योजना रहेको अध्यक्ष पुनले बताए । यि सबै कार्यक्रमका लागि कास्की जिल्ला क्रिकेट संघसंग समन्वय गरिने पुनको भनाई छ ।   पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको विशेष उपस्थितीमा उक्त समिति निर्माण गरिएको हो । सो अवसरमा खड्काले नेपालमा क्रिकेटको लोकप्रियता निकै माथि पुगेको बताए । ‘हाम्रो देशले विश्वकप खेल्न सक्ने खेल क्रिकेटनै हो, यसमा सम्भावनानै सम्भावना छ’–खड्काले भने । नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै समितिका आगामी कार्यक्रमहरु सफल पार्न समितिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

काठमाण्डौ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताउनुभएको छ ।    बिहीबार आज काठमाण्डौमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताउनु भएको हो ।    उहाँले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताउनु भयो । उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भएको छ ।    उहाँले भन्नुभयो, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । दुस्खद् कुरा हो यो । हाम्रो देश जस्तो सभ्यताको जग बसाल्ने, सभ्यता शुरु गर्ने, सभ्यताको दियो बाल्ने, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’   अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताउनु भयो ।  

साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।   हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय भने खुलेको छैन ।   नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ ।   दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए ।   सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए ।   यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए ।   यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ।