काठमाडौँ: पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । “ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्”, उहाँले भन्नुभयो, “म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।” मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिनुभयो । त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरु खोजी, उद्धार र राहतमा सक्रियताका साथ लाग्नुभएको छ । मन्त्री ज्वालाले भन्नुभयो, “ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत्सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ”, उहाँले भन्नुभयो । मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो । रासस
बुटवल: पाल्पाको दोभान खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका(११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको पाल्पाको तिनाउ गाउँपालिका(२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाका अनुसार शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पिकनिक सकिएपश्चात घर फर्किने क्रममा लोकप्रसादलाई साथमा नदेखेपछि खोजतलास गर्ने क्रममा पिकनिक खाएको स्थानदेखि अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए । उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पाँचथर: पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ । बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ । वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भक्तपुर: रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए। मेलाले स्थानीय सरकारलाई नगर क्षेत्र, जिल्लामा के–कति र कस्ता क्षेत्रमा रोजगारीको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवा कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन् भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । मेलामा युवा विद्यार्थीलाई वृत्तिविकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने उनले जानकारी दिए । मेलामा युवालाई बजारको मागअनुसार के–कस्ता सीपयुक्त तालिम आवश्यक छ भन्नेबारेमा जानकारी दिने, उद्योगलाई सीपयुक्त, अर्धसीपयुक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगर क्षेत्र एवं जिल्लामा कति बेरोजगार युवा रहेछन् भन्नेबारेमा तथ्याङ्क सङ्कलनमा मेलाले टेवा पुर्याउने छ । दक्ष सीपयुक्त युवाहरूको सीप रोजगारदाताको मागसँग मेल खाए मेलामै अन्तरर्वार्ता लिई रोजगारीको सुनिश्चितता गरिने, उद्यम व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयुक्त जानकारी गराइने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदान–प्रदान पनि मेलामा गरिने भएको छ । नगरपालिकाले नपाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ । आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ । पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ ले वडाका दलित महिलालाई लक्षित गरि आयोजना गरेको ३ दिने उद्घोषण तथा माइनुट लेखन तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यक्ता अनुसारको योजना र सामाजिक सशक्तिकरणका कार्यक्रम निरन्तर संचालन गर्ने बताउनु भयो । जनप्रतिनिधिलाई झक्झकाउने काम वडावासीको रहेको बताउदै , वडावासीको सक्रियताले मात्र वडाको समग्र विकास हुने बताउनु भयो । तालिममा सहभागीहरुको उत्साहलाई देखेर आगामी दिनमा अझ प्रभावकारी र स्वरोजगारमुखी सिपमुलक कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । प्रशिक्षक रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले तालिम छोटो समयको भएता पनि महिला दिदि बहिनीको सक्रियताले प्रभावकारी भएको बताउनुभयो । सिकेका कुरालाई व्यवाहारमा उतार्न उहाँले सहभागी सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमा सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले आफ्नो अनुभव सुनाउदै तालिम निकै प्रभावकारी भएको बताए । पोखरा ७ को घारीपाटन क्षेत्र अन्य क्षेत्रको तुलनामा अलि पछि परेको बताउदै महिलाहरुलाई आय आर्जनमा जोड्ने सिपमुलक तालिम पनि राख्न उनीहरुले आग्रह गरे । वडा नं. ७ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले गर्नुभयो । तालिममा ४५ जनाको सक्रिय सहभागीता थियो ।
ताप्लेजुङ: बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने । स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो । बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१।६ मिलिमिटर वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म गएरातिजस्तो धेरै पानी भने परेको छैन । तर दिउँसोतिर पुनः वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले कोशी प्रदेशमा मनसुनी प्रणाली एक्टिभ भएकाले ताप्लेजुङ लगायतका पहाडी जिल्लामा वर्षा हुँदै आएको छ ।
सिन्धुली: लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिनुभएको हो ।

