पाँचथर: पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ । बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ । वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भक्तपुर: रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए। मेलाले स्थानीय सरकारलाई नगर क्षेत्र, जिल्लामा के–कति र कस्ता क्षेत्रमा रोजगारीको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवा कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन् भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । मेलामा युवा विद्यार्थीलाई वृत्तिविकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने उनले जानकारी दिए । मेलामा युवालाई बजारको मागअनुसार के–कस्ता सीपयुक्त तालिम आवश्यक छ भन्नेबारेमा जानकारी दिने, उद्योगलाई सीपयुक्त, अर्धसीपयुक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगर क्षेत्र एवं जिल्लामा कति बेरोजगार युवा रहेछन् भन्नेबारेमा तथ्याङ्क सङ्कलनमा मेलाले टेवा पुर्याउने छ । दक्ष सीपयुक्त युवाहरूको सीप रोजगारदाताको मागसँग मेल खाए मेलामै अन्तरर्वार्ता लिई रोजगारीको सुनिश्चितता गरिने, उद्यम व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयुक्त जानकारी गराइने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदान–प्रदान पनि मेलामा गरिने भएको छ । नगरपालिकाले नपाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ । आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो । दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ । पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएको बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ ले वडाका दलित महिलालाई लक्षित गरि आयोजना गरेको ३ दिने उद्घोषण तथा माइनुट लेखन तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्रका सबै क्षेत्रमा आवश्यक्ता अनुसारको योजना र सामाजिक सशक्तिकरणका कार्यक्रम निरन्तर संचालन गर्ने बताउनु भयो । जनप्रतिनिधिलाई झक्झकाउने काम वडावासीको रहेको बताउदै , वडावासीको सक्रियताले मात्र वडाको समग्र विकास हुने बताउनु भयो । तालिममा सहभागीहरुको उत्साहलाई देखेर आगामी दिनमा अझ प्रभावकारी र स्वरोजगारमुखी सिपमुलक कार्यक्रम संचालन गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । प्रशिक्षक रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले तालिम छोटो समयको भएता पनि महिला दिदि बहिनीको सक्रियताले प्रभावकारी भएको बताउनुभयो । सिकेका कुरालाई व्यवाहारमा उतार्न उहाँले सहभागी सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमा सहभागीको तर्फबाट सविना परियार, सम्झना परियार र भावना परियारले आफ्नो अनुभव सुनाउदै तालिम निकै प्रभावकारी भएको बताए । पोखरा ७ को घारीपाटन क्षेत्र अन्य क्षेत्रको तुलनामा अलि पछि परेको बताउदै महिलाहरुलाई आय आर्जनमा जोड्ने सिपमुलक तालिम पनि राख्न उनीहरुले आग्रह गरे । वडा नं. ७ का महिला जनप्रतिनिधि तथा कार्यक्रम संयोजक सुनिता सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन पोखरा ७ का वडा सचिव राजेन्द्र पौडेलले गर्नुभयो । तालिममा ४५ जनाको सक्रिय सहभागीता थियो ।
ताप्लेजुङ: बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने । स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो । बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१।६ मिलिमिटर वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म गएरातिजस्तो धेरै पानी भने परेको छैन । तर दिउँसोतिर पुनः वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले कोशी प्रदेशमा मनसुनी प्रणाली एक्टिभ भएकाले ताप्लेजुङ लगायतका पहाडी जिल्लामा वर्षा हुँदै आएको छ ।
सिन्धुली: लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिनुभएको हो ।
सिन्धुपाल्चोक: विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए । बाढीले क्षति पु¥याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुुकुम्बासी बन्नुभएको छ । सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ । हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् । नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ । नदि नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गर्नुभयो । उहाँले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाउनुभयो । बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन् । यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ । उहाँले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो । घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताउनुभयो । रु पाँच लाख घर बनाउन अपुग भएको छ । प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ । यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ । उहाँले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएकोे बताउनुभयो । विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियोे । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
ढोरपाटन: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहिचान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जना भएको थियो । पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन । पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलसमेत विवाद टुङ्याउन सकेन । दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरि सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको उहाँको भनाइ छ । सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुङ्ग्याइ काम गरिरहेको अध्यक्ष घर्तीमगर भन्नुहुन्छ । “पहिले सीमाको बारेमा कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यो भू–भाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नर्भपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरुले अहिले काम गरी राख्नुभएको छ ।” मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताउनुभयो । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कट आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरु कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ, दिनदिनै गुम्न आउनेको भीड हुन्छ, वर्षौंदेखि हामीहरुले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरुको भनेर स्वीकार गर्ने रु यो विवाद राज्यले मिलाउनुपर्छ ।”

