रुकुम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । आज (बिहीबार) बिहान भएको दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० घाइते भएको बताइएको छ । घटनास्थलबाट सानीभेरी गाउँपालिका ३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट - ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
पोखरा: पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले आफ्ना वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफि मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क १५ दिने तालिम मंगलबार सम्पन्न भएको हो । यस्तै, फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १ लाख छात्रवृत्ति प्रदान गरेको छ र विद्यालयमा अध्ययनरत ५० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई वितरण गर्न वडाले उक्त रकम बराबरको चेक मंगलबार हस्तान्तरण गरेको हो । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्देश्यका साथ वडाले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन् । उनले भनिन् – ‘प्रशिक्षार्थीका लागि तालिम लाभदायक रहेको विश्वास लिएकी छु । तालिम भन्ने चीज जब व्यवहारमा उतार्छाैं अनि मात्र फलदायी रहन्छ । युवाको बढ्दो विदेश पलायन रोक्नुपर्ने भन्दै उपप्रमुख गुरुङले युवाहरू पनि स्वदेशमै बस्ने मनस्थिति बनाउनुपर्ने र यसको लागि राज्यले पनि युवा केन्द्रित नीति ल्याउनुपर्नेमा जोड दिइन् । पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले वडामा रहेका युवा तथा महिलाहरुलाई केन्द्रीत गरी विभिन्न तालिमहरु दिँदै आएको बताए । उनले युवाहरू बेरोजगार भए, विदेशिने क्रम बढे भन्दै यसैलाई मध्येनजर गरी पहिले कपाल काट्ने तालिम आयोजना गरेको र अहिले बारिष्टा तालिम गरिएको बताएका छन् । प्रशिक्षक मुना राना मगरले १५ दिने सीपमूलक तालिममा सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै सिकेका ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउन आग्रह गरिन् । प्रशिक्षार्थीका तर्फबाट शर्मिला परियारले तालिममा कफीबारे बुझन र बनाउन सिकेको बताउँदै अझै लामो कार्यक्रमको अपेक्षा गरिन् । उपमेयर गुरुङले पोखरा महानगरपालिकामध्ये १५ नं. वडा कार्यालयको गतिविधि उत्कृष्ट रहेको भन्दै वडाबासी भाग्यमानी रहेको बताइन् । शिक्षा र खेलकुद क्षेत्रमा विशेष चासो दिँदै वडाले कार्य गरिरहेकोमा उनले खुशी प्रकट गरिन् । ‘पोखरालाई शिक्षाको हब बनाउने महानगरकै योजना छ । दोस्रो बढी बजेट शिक्षामै छ । करिब डेढ अर्ब छुट्याइएको छ ।’ गुरुङले भनिन् । विशेष अतिथि वडाध्यक्ष बानियाँले बाटोघाटो बनाएर मात्र विकास भएको नमानिने बताउँदै शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा अघि बढेमात्र समाज विकसित रहने बताए । उनले पोखरा १५ बस्ने कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगराउने प्रतिबद्धता जनाउँदै गरीबिकै कारण पढ्न नपाउने बालबालिका छन् भने वडामा सम्पर्क गरिदिन पनि आग्रह गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आले, प्रधानाध्यापक गुरुदत्त कोइराला, सहायक प्रधानाध्यापक जुना थापालगायतले विद्यालयका तर्फबाट वडालाई धन्यवाद दिए । उनीहरुले वडा र महानगरले विद्यालयको विकासका लागि विशेष सहयोगको पनि अपेक्षा गरका छन् ।
काठमाडौं: काठमाडौं महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ । महानगरको शिक्षा ऐन २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराइ छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न सूचित गराएको छ । महानगरले कुनै पनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा त्यसको सुनुवाइका लागि अवसर प्रदान गर्न पनि भनेको छ । महानगरले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई छात्रवृत्ति वितरण तथा विवरणको काममा सहयोग र अनुगमन गर्न पनि आग्रह गरेको छ ।
काठमाडौं: सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज मङ्गलवारको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो भने, राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।
डोटी: बिगत लामो समयदेखि रोजगारीको सिलसिलामा परिवारसहित भारतमा बस्दै आएका डोटी आदर्श गाउँपालिकाका शेर रोकाया घर आएका छन् । श्रीमती र छोराछोरी समेत केही दिनको बिदामा घर फर्केका उनी भाइहरुबीच पैत्रिक सम्पत्तिको अंशबण्डा गरेर फर्किन चाहन्थे , तर अंशबण्डा नहुने भयो । ‘आमा–बुवा बित्नु भएको धेरै भयो, बुवाको नाममा रहेको जग्गा जमिनको अंशबण्डा गरिहालौं भन्ने सोचेर उताबाट आएँ,’ रोकाया भन्छन् ‘यता आएपछि थाहा भयो अंशबण्डा हुँदैन भन्ने ।’ उनलाई किन यस्तो भएको हो थाहा छैन, तर जग्गाको कित्ताकाट गर्न रोकिएको भन्ने मात्रै उनले बुझे । अंशबण्डा नहुने भएपछि उनी फेरी कर्मथलो फर्किने तयारीमा छन्, भन्छन् ‘अब जहिले आउँला उहिल्लै अंशबण्डा गरौंला । तीन दाजु–भाइमध्ये जेठा उनी भाइहरुबीच अंशबण्डा गरिदिनु आफ्नो जिम्मेवारी पनि सोच्छन् । उनी भन्छन् ‘भाइहरुबीच कुनै मनमुटाव नगरी राजीखुशी अंशबण्डा भइदिओस् भनेर आएको हुँ, तर यसपालि हुन सकेन ।
काठमाडौं: मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३१२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् । परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका ९ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिएका छन् । “पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ”, उनले भने । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताएका छन् । परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध ५७५, चोरीसम्बन्धी कसुर ४४५, लागूऔषध २६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २५७, आत्महत्यासम्बन्धी कसुर २३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएको छ । परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार ३४३ मुद्दा दर्ता भएको थियो। रासस
जनकपुरधाम: मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज मङ्गलबार मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनकारी दिएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कांग्रेसकै वीरेन्द्र सिंहलाई दिने तयारी भइरहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन् । यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा, जनमत र नेकपा माओवादी केन्द्र भएका थिए ।
खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको ज्यान गएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को २ त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको ज्यान गएको हो । ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

