पोखरा: कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकको बसपार्कमा सिसी क्यामेरा जडान गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ मा पर्ने पर्यटकीय क्षेत्र घान्द्रुकस्थित बसपार्कमा सुरक्षालाई मध्यनजर गर्दै साढे ३ लाखको लागतमा घान्द्रुक पर्यटन विकास समितिले सिसी क्यामेरा जडान गरेको हो । समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुक आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले ल्याउने सवारीसाधनको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेको बताए । ‘घान्द्रुक कास्कीको एक पर्यटकीय स्थल हो, घान्द्रुकको बसपार्कमा सवारी साधन राखेर घोडेपानी, अन्नपूर्ण आधारसिविर, पुनहिल लगायतका पदमार्ग पर्यटक जान्छन्, गुरुङले भने, ‘पर्यटकहरुले पार्किङ गरेर राखेको सवारीबाट तेल चोरी हुने, हराउने जस्ता कार्य नहुन सिसी क्यामेरा जडान गरेका हौं ।’ घान्द्रुक पर्यटक विकास समितिले साढे ३ लाखको लागतमा घान्द्रुकको बसपार्कमा ३ वटा सिसी क्यामेरा जडान गरेको हो । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले सिसी क्यामेरा जडान हुँदा गाउँको शान्ति सुरक्षादेखि पर्यटकहरुको सुरक्षा लागि पनि सहयोग पुग्ने बताए । ‘घान्द्रुक बसपार्कमा सवारी पार्किङ गरेर अन्नपूर्ण आधारशिविर,पुनहिल, घोडेपानी पदमार्गमा निस्कने पर्यटकहरुले प्रयोग गर्ने रुट हो, उनले भने, ‘बसपार्कमा पार्किङ गरेर राखेको सवारी धनीहरुले बेलाबेलामा तेल चोरी भयो भन्ने गुनासो गरेपछि समितिले सिसी क्यामेरा जडान गरेको छ ।’ यस्तै पर्यटकीय क्षेत्र घान्द्रुकमा ज्योति विकास बैंकको सहकार्यमा पर्यटन व्यवस्थापन समितिले ६० वटा डस्टबिन गाउँमा वितरण गरेको छ ।
पोखरा: अनुसन्धान व्यवस्थापन एकाइ, बिन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा आजदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले उद्घाटन गर्नुभयो । कार्यक्रममा कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको जरो भएको बताउँदै यो नैतिक चेतना र सभ्यताको श्रोत भएको उल्लेख गर्नुभयो । बाहिरी संसारले उच्च महत्त्व दिनुका साथै माया गरेको यस वाङ्मयलाई हामीले कदर गर्न नसकेको उहाँले बताउनुभयो । विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको उल्लेख गर्दै उहाँले हाम्रो सभ्यता र संस्कृतिको मौलिकता जोगाउन संस्कृतको पठनपाठनलाई तल्लो तहसम्मै पु¥याउनु जरुरी रहेको बताउनुभयो । क्षमता विकास तालिमले शिक्षाको गुणस्तरीयता अभिबृद्धि गर्ने उहाँले बताउनुभयो । पदोन्नतिका लागि मात्र अनुसन्धान गर्ने प्रवृत्ति रहेकोमा जोड दिदै उहाँले तालिम र अभिमुखीकरणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । वद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठलाई अनुसन्धान एवम् प्राज्ञिक क्षेत्रमा गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । विद्यापीठका संस्थापक प्राचार्य सह प्राध्यापक श्रीराम बरालले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नु जरुरी रहेको बताउनुभयो । विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सह प्राध्यापक डा. चूडामणि कँडेलले स्वागत गर्नुभएको थियो । सहप्राध्यापक सत्यराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यपत्र प्रस्तुतीका दुई सत्र अन्तर्गत पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागका उपप्राध्यापक डा.सवीन्द्रराज भण्डारीले प्रोस्पेक्ट्स एण्ड च्यालेन्ज्स अफ टिचिङ कम्पलसरी इङ्गलिस इन शास्त्री फस्ट एण्ड सेकेन्ड इयर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र माथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक भरत ढकालले टिप्पणी गर्नुभएको थियो भने प्राध्यापकहरू श्यामप्रसाद पौडेल, अम्बिकाप्रसाद भट्टराई, योगराज पौडेल, विष्णुप्रसाद शर्मा, प्रकाश पौडेलले विभिन्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो । दोस्रो सत्रमा सिद्धान्त ज्योतिषका सह प्राध्यापक पूर्णचन्द्र वाग्लेले “प्रथम लग्नानयनमा देखिएका समस्या र निराकरणका उपायहरू” शीर्षकको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अवधारणापत्रमा सह प्राध्यापक श्रीराम बरालले टिप्पणी एवम् प्राध्यापकहरू पशुपति दवाडी, नारायणप्रसाद सापकोटा, योगराज पौडेल, जगन्नाथ रेग्मी, सवीन्द्रराज भण्डारी, भानुभक्त आचार्यले विभिन्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १५ रामवजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लि.को न्युरोडस्थित सेवा केन्द्रको मंगलबार शुभारम्भ गरिएको छ । समुदायको पहिलो रोजाई संगम सहकारी उद्घोष गर्दै रामवजारमा २०६१ सालमा स्थापना भएको सहकारीले २० औं वर्ष पुगेको अवसरमा सेवाग्राहीको सुविधाको लागि महानगरपालिका कार्यलय नजिक पोखरा ९ न्युरोड स्थित हेल्लो स्टेशनरी भएको भवनमा सहकारीको सेवा केन्द्रबाट सेवा सुरु गरिएको हो । सेवा केन्द्रको पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गर्दै संगम सहकारी लामो समय देखि नै नितिनियम पुर्ण पालना गरी संचालन भएकोले आज समस्यामा नरहेको थाहा पाउँदा खुशी लागेको वताउँदै संगम सहकारीबाट अरु सहकारीले सिक्नु पर्ने बताए । संस्थाका संरक्षक निरज थापाले म र मेरो साथी संगममा संगसंगै भन्ने नाराका साथ वडा नं. ९ मा आइ पुगेका छौं यहाँका वासिन्दा तथा व्यवसायीको साथ र सहयोगको अपेक्षा रहेको वताएका थिए । सो कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला, कानुनी सल्लाहकार दयाराम गौतम, वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारी, शेयर सदस्य दामोदर शर्मा, शोभा कुँवर, स्वास्थ्य स्वयम् सेवीका मिरा गिरी, लेखा संयोजक भविन्द्र गिरी लगाएतले बोलेका थिए । कार्यक्रममा दीर्घकालिन वचतकर्ता सुर्य गिरी, दैनिक वचतकर्ता समिर कुमार थापा, बाल वचतकर्ता जेसिका विक, जेष्ठ सदस्य वचतकर्ता, दिर्पा थापा, ऋण कारोवारी आशा साई, सुझावकर्ता धनप्रसाद गुरुङ, संचालक सुवास चन्द्र भण्डारी, उपसमिति सदस्य इन्द्रबहादुर गिरी र कर्मचारी गोमा गिरीलाई खादा, अविर र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धिमान थापा र संचालन सचिव धनराज पुरीले गरेका थिए ।
पोखरा: वैशाख २९ गते काठमाडौं टोखा नगरपालिका ८ का विश्वास अर्याल साथीको बिहेमा पोखरा आए । पोखरा पार्टी प्यालेसमा भएको बिहेमा सहभागि भएपछि उनी अचानक हराए । आइतबार परिवारले कास्की प्रहरीमा २८ वर्षीय अर्यालय हराएको जाहेरी दिएपछि प्रहरीले खोजी गर्याे । तर पत्तो लागेन उनले आत्मदाह गरे या कसैले हत्या । अहिले कास्की प्रहरीले उनी हिडडुल गरेको संभावित क्षेत्रको सिसिटिभी फुटेज संकलन गरिरहेको छ । ‘साथीको बिहेमा काठमाडौंबाट पोखरा आएका अर्याल हराएको जाहेरीपछि उनी देखिएको सिसीक्यामेराको सहयोगमा खोजी गरिरहेका छौं, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले सुनगाभा न्यजसँग भने, ‘उनी आफै हाम फाले या कसैले धकलिदिए । अझै ठोस प्रमाण भेटिएको छैन । सिसिटिभी फुटेज संकलन गरेर हेरिरहेका छौ ।’ बेपत्ता अर्यालले हाम फालेको गाइगुई कास्की प्रहरीसमक्ष पुगेपछि सोमबार नदीपुरमा रहेको सेती नदीको खोँच आसपासमा खोजी गर्याे तर केही पार लागेन । ‘शंकाको भरमा टोलीले खोँचमा खोजी गरेका थियौ तर पनि केही सुइको लागेन,’ ति प्रहरी अधिकारीले भने । ति प्रहरी अधिकारीका अनुसार अर्याललाई सोही पुल नजिक लुटपाट भएको सिसी क्यामेरामा देखिएको छ । ‘सिसी क्यामेरामा अर्याललाई कसैले लुटपाट गरेको देखिन्छ, लुटपाट गर्ने एकजनालाई प्रकाउ गरिसकेका छौं, अर्कोलाई खोज्दै छौं, उनले भने, ‘लुटपाटपछि उनलाई पुलबाट धकेले वा आफै हाम फालेर बेपत्ता भए भन्ने एकिन भएको छैन । यद्यपी टोलीले विभिन्न कोणबाट खोजीकार्य तिब्र पारेको छ ।’
पर्वत: पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ । जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस
पोखरा: चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्रीहरुको पोखरामा प्रर्दशन हुने भएको छ । सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियोहरु प्रर्दशन गर्ने लागिएको चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका सचिव रुद्र सन्देश मगरले जानकारी दिए । डकुमेन्ट्री आगामी शनिवार जेठ ६ गते पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरीने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
महोत्तरी: एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहेका छन् । उनको साथबाट प्रहरीले पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको हो । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई शनिबार राति जाँच गर्ने क्रममा पेस्तोल फेला पारेको थियो ।
काठमाडौं: बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ । तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो । पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए । पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए । उनी वि सं १९८९ साउन ७ मा जन्मिएका थिए ।
पोखरा: जनआन्दोलन २०६२/६३ मा घाइते भएका काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने बनेपा नगरपालिका–८ का कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ ७ः३० बजे निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।

