पोखरा: मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४/३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र पनि भन्ने गरिन्थ्यो ) संवाददाताका रुपमा काम गर्ने अवसर पाएँ । त्यो बेलामा केही असल पत्रकारहरुको संगत भयो । मसँगै त्यो बेलामा दुर्गा बराल ‘वात्सायन’ ले राष्ट्र पुकारमा कार्टुनहरू पठाउने गर्नुहुन्थ्यो । अत्यन्त कठीन समय थियो । त्यो पठाइएको समाचार के बाट पठाउने हो ? हुलाकबाट पठाउँदा लामो समय लाग्थ्यो । अनि त्यो समाचार र कार्टुन दुवै पठाउन हामी साइकल चढेर एयरपोर्टसम्म पुग्थ्यौं । एयर डकुमेन्ट गरेर काठमाडौं पठाउने गथ्र्यौं । फ्याक्सको जमाना पनि थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । र त्यो बेलाको पत्रकारिता मिसन पत्रकारिता थियो । विशुद्ध रूपले प्रजातन्त्र पुुनस्र्थापनाका निम्ति एउटा लडाईंको मोर्चाका रूपमा हामीले पत्रकारितालाई लिएका÷ ग्रहण गरेका थियौं । त्यसरी म पत्रकारितामा संलग्न भएको थिएँ । त्यसको एउटा मोह मसँग अझै पनि बाँकी छ । सँगसँगै नेपाल प्रेस युनियनसँग पनि सम्बन्ध र साइनो छ । नेपाल प्रेस युनियनको काठमाडौंमा पहिलो अधिवेशन भयो । पहिलो अधिवेशनमा हरि अधिकारी अध्यक्ष हुनुभयो । त्यसपछि दोस्रो अधिवेशनमा सहभागी हुन पुगेका थियौं । म पुगेको थिएँ । पोषनाथ शर्मा पुग्नुभएको थियो । अहिले नेपाली फिल्म जगतमा चरित्र अभिनेताका रूपमा चीरपरिचित हुनुभएका प्रकाश घिमिरे पुग्नुभएको थियो । दुर्गा बराल पुग्नुभएको थियो । हामीले त्यहाँ रमेश तुफानको अध्यक्षतामा नेपाल प्रेस युनियनको दोस्रो कार्यसमितिको गठन गरेका थियौं । मसँग विषयवस्तुको ज्ञान भएर होइन । मसँग असाध्यै अध्ययन भएको विषय पनि होइन । तर, कारण के हो भन्दा कुनै समय म पत्रकारितामा संलग्न थिएँ । पोखराकै जनमत दैनिक, पर्यवेक्षक साप्ताहिक (जो तिलकमान गुभाजू दाईले निकाल्नुहुन्थ्यो ) त्यसको स्तम्भ लेखकका रूपमा पनि म जोडिएको थिएँ । अहिले पनि एक ढंगले पत्रकारितासँग जोडिएको छु । धेरै पत्रकार साथीहरू विभिन्न विषयमा सोध्न आउने गर्नुहुन्छ । कुनै चाडपर्वका विषयको सन्दर्भ भयो भने केही भन्दिनुस् न भन्ने गर्नुहुन्छ । एउटा समय त यस्तो पनि थियो–कतिपय नयाँ पत्रकार भाइबहिनीहरुलाई समाचार लेख्न सिकाउने काममा पनि संलग्न भएको थिएँ । त्यो हुनाले नेपाल प्रेस युनियन कास्कीको आग्रहलाई नाइँ भन्न सकिन । पत्रकारलाई नै पत्रकारिता भनेको के हो भनेर परिभाषित गर्न लागँे भने म अन्यौलमा पर्छु । मलाई पत्रकारिता भनेपछि हाम्रो पूर्वीय सभ्यतामा पत्रकारको भूमिका निर्वाह गर्ने को थिए भन्ने विषयवस्तुतर्फ जानुपर्छ कि भन्ने लाग्छ । सनातन वैदिक संस्कृतिमा विभागहरु छुट्याइएका छन् । देवताहरूको विभागहरू छुट्याइएको छ । देवीहरूको विभाग छुट्याइएको छ । देवता र देवीको विभाग छुट्याउँदा अत्यन्त महत्वपूर्ण मन्त्रालयहरू चाहिँ महिलाहरूलाई दिइएको छ । शिक्षा मन्त्रालयलाई सरस्वतीलाई दिइयो । अर्थ मन्त्रालय लक्ष्मीलाई दिइयो । रक्षा मन्त्रालयलाई भगवतीलाई दिइयो । संचार मन्त्रालय चाहिँ नारादमुनीले पाए । नारादमुनी सम्भवतः हाम्रा पौराणिक पात्रहरूमा त्यस्ता पात्र हुन्, जसले सूचना संवाहकका रूपमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अर्को एउटा महत्वपूर्ण पात्र पनि छन्–जसले सूचनालाई आफ्ना निम्ति अत्यन्त महत्वपूर्ण ढंगले उपयोग ग¥यो । हामीले महाभारतका कथाहरू पढेका छौं । महाभारतमा कृष्णजीको भूमिका झण्डै तटस्थ थियो । मलाई छान्छौ कि मेरो एक अक्षौहिणी सेनालाई छान्छौ ? भन्दा दुर्योधनले भगवान कृष्णलाई छानेनन् । उनले भगवान कृष्णका एक अक्षौहिणी (एक अक्षौहिणी सेनामा २१ हजार ८७० रथ, त्यति नै हात्ती,६५ हजार ६१० घोडसवार सैनिक र १ लाख ९ हजार ३५० पैदल सेना हुन्छन् ) सेनालाई छाने । अर्जुनले कृष्णलाई छाने । तर, प्रत्यक्ष म युद्धमा सहभागी हुन्न भन्ने कृष्णको सर्तनामा थियो । युद्धको अन्त्यमा जाँदा सबैले आ—आफ्ना भूमिकालाई आत्ममुग्धताको स्तरमा पु¥याए मेरा कारणले यो युद्धमा जित हासिल भएको भनेर पाण्डवका पात्रहरूले भन्न थालेपछि भगवान कृष्णले वर्वरिक भन्ने नामको पात्र थिए । जसको सुरुमै भगवान कृष्णले घाँटी काटेर कुनै रूखमा झुण्डाइदिएका थिए । त्यो झुण्डाइएको टाउकोले महाभारतको युद्ध सबै देखिराखेको थियो ।ती पाण्डवहरूलाई लगेर कृष्णले वर्वरिक समक्ष उभ्याए । अनि सोधे वर्वरिक यो युद्धमा तिमीले के देख्यौ ? ‘मैले कि तपार्इंलाई देखेँ कि तपाईको सुदर्शन चक्रलाई देखेँ’,वर्वरिकले भने । र, सबै आफ्ना कारणले युद्धमा विजयी भएको घोषणा गर्नेहरु नतमस्तक भए । महाभारतको यो पाटोलाई अर्को ढंगले हेर्ने हो भने यति धेरै सूचना कृष्णजीसँग थियो । वर्वरिकसँग सम्पूर्ण महाभारतको युद्धलाई पल्टाउन सक्ने क्षमता छ भन्ने कुरा कृष्णले थाहा पाएका थिए । त्यसकारण उनी कतै दुर्योधनतिर मिसिन्छन् कि भनेर बाधा दिने काम पनि कृष्णजीले गरे । कर्णसँग यस्तो गज्जबको कवच थियो । त्यो कवच ननिकालिकन कर्णको बध सम्भव थिएन । कर्णलाई विवश बनाउनका निम्ति कुन्तीलाई कसरी प्रयोग गर्ने कृष्णजीले आफ्नो सूचनाका आधारमा थाहा पाएका थिए । चाहे जरासन्धको बधमा होस्, चाहे दुर्योधनको बधमा नै किन नहोस् ! कृष्णजीले प्राप्त गरेको सूचना सबैभन्दा बलशाली थियो । भीमसेनको गधा भन्दा पनि कृष्णजीको सूचना प्रवल थियो । त्यसकारण सूचना कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउँछ । सूचना महत्वपूर्ण भएकै कारणले गर्दा प्रत्येक राज्यले ठूलो संख्यामा गुप्तचरहरू तैनाथ गरे । गुप्तचरहरू राज्यका निम्ति अत्यन्त महत्वपूर्ण ठहरिन्थे/ठहरिन्छन् । मैले यहाँहरुलाई के निवेदन गर्न खोजेको भन्दा,जीवनमा, युद्धमा, विकासमा सबै चीजमा सूचनाको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । हामीले समाचार भन्नासाथै के चिजलाई समाचार भन्ने ? पत्रकारिताको सबै भन्दा ठूलो धर्म भनेको के रैछ भन्दा समाचार संकलन गर्ने । त्यसको लेखन गर्ने । त्यसको सम्पादन गर्ने र त्यसलाई आम जनसाधारणका बीचमा पु¥याउने । सामान्यतयः त्यो छापा पत्रकारिताको कुरा गरौं वा विद्युतीय संचारमाध्यमको कुरा वा अन्य अहिले विकसित भएका इन्टरनेटका कुराहरु गरौं । तर, सूचनाहरु सँधै उपयोगी हुन्छन् कि हुँदैनन् ? सूचनाहरुलाई कसरी समाजमा उपयोगी बनाउने ? सूचनालाई प्रस्तुत गर्दा लोककल्याणको भावनाको जन्मको कसरी हुन सक्छ भन्ने सोच पनि आवश्यक छ । हाम्रो अधिकांश समाचारहरु एउटा नेता आयो भाषण ग¥यो, त्यसपछि समाचार बन्यो । हाम्रो अधिकांश समाचारहरु घटनामा आधारित छन् । अधिकांश समाचारहरुमा शब्दको तलमाथि बाहेक मनसाय उस्तै छ । अधिकांश समाचारहरु अहिलेका सन्दर्भमा भन्नुपर्दा आग्रहले परिपूर्ण छन् । जबकि पत्रकारिताको सबैभन्दा ठूलो योग्यता भनेको तटस्थता र निष्पक्षता हो । सबैभन्दा ठूलो पत्रकारिताले निर्वाह गर्नुपर्ने भूमिका सत्यप्रतिको निष्ठा हो । तपाई सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन । तपाईमा आग्रह परिपूर्ण भो र निश्चित उद्देश्यका निम्ति जानुभयो भने पत्रकारिता सम्भव छैन । हामीले चाहिँ पत्रकारिता गर्दा पनि आग्रहका साथ गरेका थियौं । त्यो भन्नलाई हिच्किचाउन हुँदैन । आग्रह के थियो भन्दा, पञ्चायती शासन व्यवस्थालाई ढालेर प्रजातन्त्रको पुनस्र्थापना थियो । त्यो मिसनमा पत्रकारिता गरिएको थियो । अब त्यो मिसनबाट पत्रकारिता कमिसनसम्म पुग्यो । मैले सबै पत्रकार मित्रहरुलाई दोषारोपण गर्न खोजेको होइन । हामी यस्तो दलदलमा फसेका छौं कि यहाँबाट जस्तोसुकै पानी निकाल्छु भने पनि पानी चाहिँ फोहोर नै आउने अवस्था छ । समाज सम्पूर्ण रुपले दूषित भइसकेपछि त्यो समाजबाट स्वच्छताको कल्पना अलिक असम्भव हुँदोरहेछ । त्यस सन्दर्भमा मैले भनेको पत्रकारिता पनि अब मिसनबाट कमिसनतर्फ पुगेको अवस्था छ । पत्रकारिता व्यनवसायिक हुन आवश्यक छ । त्यसमा संलग्न भएका मानिसहरु पनि पेटसहितका हुन्, केही आकांक्षासहितका हुन् । पेटरहित र आकांक्षारहित मानिस हुँदैन । अन्य मानिसमा जस्तै पत्रकारमा पनि आकांक्षा हुन्छ । उनलाई पनि जीवन बाँच्नका निम्ति आवश्यक सुविधाहरुको खाँचो छ । तर, त्यसको लागि हामीले पत्रकारिताको व्यावसायिकाको विकास गर्न खोजेका हौं भन्ने मलाई लाग्छ । अब पत्रकारितामा सिर्जनशीलता भनेको के ? अथवा सिर्जनशीलतालाई पत्रकारितामा कसरी प्रस्तुत गर्ने ? मैले आफ्नो अवधारणा मात्रै भनेको हुँ है । फेरि यसलाई यसले बडो जान्ने भएर भन्यो, हामीले यसले भनेको मान्नुपर्छ र भन्ने अर्थमा ग्रहण नगरिदिनुहोला । मैले पत्रकारहरुसँगको निकट संगत र पत्रकारितासँगको आत्मियताको कारणले मलाई लागेको कुरा भनेको हुँ । दुईटा कुरा देखेँ मैले । पहिला–पहिला भर्खरको ठिटा हुने बेलामा हिन्दी पत्रिका खुब पढिन्थ्यो । राजनीतिमा चासो राख्ने हरेकका निम्ति दिल्लीबाट प्रकाशन हुने दिनमान नपढि नहुनेजस्तै थियो । अलिअलि साहित्यप्रति पनि रुची भएका कारणले मुक्ता, सरिता, नवनित, कादम्बिनी पढ्थे । त्यो दिनमानका सम्पादक थिए–रघुवीर सरहाय । रघुवीर सरहाय भनेको भारतका अत्यन्त प्रसिद्ध कवि हुन् । धर्मयुगका सम्पादक थिए–डा.धर्मवीर भारती । हिन्दी साहित्यमा डा. धर्मवीर भारतीको त्यति नै महत्वपूर्ण योगदान छ । नेपालको पत्रकारिताको इतिहासको कुरा गरौं । चाहे त्यो सुधासागरको कुरा गरौं । चाहे त्यो मोतीराम भट्टको पत्रिकाको कुरा गरौं । चाहे सिद्धिचरणले श्रेष्ठले पहिलो दैनिक पत्रिका दर्ता गर्नुभयो ‘आवाज’ को कुरा गरौं । चाहे गोरखापत्रमा भएका सम्पादकहरुको कुरा । गोरखापत्रले पहिलो पटक प्रधानसम्पादक भनेर कसलाई तोक्यो भन्दा बालकृष्ण समलाई । नेपाली पत्रकारिताको बीचको भागमा किशोर नेपालको अत्यन्त चकचकी–बकबकी थियो । किशोर नेपालले बनाएका टिमहरु धेरै थिए । देशान्तरको टीम होला अथवा कान्तिपुरकै टीम होला । मैले यी सबै उदाहरण दिएर भन्न खोजेको के हो भन्दा– साहित्य, सिर्जनशीलता र पत्रकारिता टाढाका विषय होइनन् । यी एउटै घरका अलग कोठाहरु हुन् । पत्रकारितालाई हामी कहिलेकाहिँ के पनि भन्छौ भन्दा यो हतारको साहित्य पनि भन्छौं । तपाईंले आज एउटा घटना भएको देख्नुभो अथवा तपाईले कुनै विषयका विषयमा अनुसन्धान गर्नुभयो भने त्यसलाई भोलिपल्ट नै प्रस्तुत गर्नुपर्छ । ६ महिना पर्खेर बसेर, त्यसका विषयमा एउटा आख्यान बनाएर प्रस्तुत गर्ने फुर्सद तपाईंले पाउनुहुन्न । तर, एउटा कविले त्यसका विषयमा ६ महिना घोत्लिएर एउटा कविता लेख्छ । एउटा उपन्यासकारले त्यसैका विषयमा दुई वर्ष अनुसन्धान, अवलोकन, अध्ययन गर्छ अनि उपन्यास निकाल्छ । तपाईंहरुलाई याद होला नारायण वाग्लेजीले कान्तिपूरमा ‘कफी गफ’ लेख्नुहुन्थ्यो । कफी गफले नारायण वाग्लेको कलमलाई यति मिहिन ढंगले परिमार्जित गरिदियो कि उहाँले पल्पसा क्याफे लेखेर मदन पुरस्कार जित्नुभयो । सिर्जनशीलतासँग पत्रकारिताको सम्बन्ध के ? सिर्जनशीलता र पत्रकारसँगको निकट सम्बन्धका कुरा मैले राखेँ । हामी केटाकेटी थियौ । नेपालमा तीनवटा साप्ताहिक हामी खुब पढ्थ्यौं । एउटा राष्ट्रपुकार थियो । जसलाई हाम्ले कांग्रेसको कण्ठ भन्थ्यौं । एउटा मातृभूमि थियो, जसलाई हामीले चिनिया कम्युनिष्टहरुको वाणि मुखरित गर्छ भन्थ्यौँ । एउटा समीक्षा साप्ताहिक थियो । त्यो अलिक बढी वौद्धिक पनि थियो र वामपन्थको सोभियत खेमालाई प्रतिनिधित्व गथ्र्यो । त्यहाँ एउटा गजबको स्तम्भ थियो । त्योभन्दा अगाडि त्यस्तो स्तम्भ नेपाली छापा जगतमा देखिएको थिएन । त्यो स्तम्भ के थियो भन्दा–‘सडक बोल्छ’ । रमेश तिवारी भन्ने पत्रकार हुनुहुन्थ्यो । सडकमा हिँडिरहेका मान्छेलाई उहाँ प्रश्न गर्नुहुन्थ्यो,समसामयिक विषयमा । सडकमा भेटिएको आवाजलाई साप्ताहिक पत्रिकामा मुखरित गर्नुहुन्थ्यो । जुन नविन र सिर्जनशील शैली थियो । समीक्षामै अर्को शैली थियो । मदनमणि दिक्षित–जसले ऋग्वेदका विषयमा पिएचडी गर्न लाग्नुभएको थियो । त्यो पिएचडीको सोध निर्देशक सर्वपल्ली राधाकृष्णन (जो पछि भारतका राष्ट्रपति हुनुभयो) हुनुहुन्थ्यो । त्यति ज्ञान भएको मान्छे मदनमणि दिक्षित । उहाँले चक्रपाणिका नामबाट एउटा स्तम्भ चलाउनुहुन्थ्यो । सायद, अहिलेसम्म पनि (मलाई कतै मेरो अज्ञानता होला । कति मेरो ध्यान नपुगेको होला ) त्यो स्तरको स्तम्भ लेखन मैले अहिलेसम्म पढ्न पाएको छैन । त्यहीताका र त्यसको सेरोफेरोमा किशोर नेपाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रमा सम्पादक हुनुहुन्थ्यो । र, काम नपाएर हल्लिरहेका किशोर नेपाललाई कृष्णप्रसाद भट्टराईले ‘तिमी गोरखापत्रमा जाऊ, गोपाल दाईलाई म भन्दिन्छु’ भनेर त्यहाँ पठाएपछि एउटा गजबको स्तम्भको सुरुवात भयो । ‘हाम्रा गाउँघर’ नामक स्तम्भ सुरु भयो । पत्रकार एउटा गाउँमा पुग्छ । त्यो गाउँमा के के उत्पादन हुन्छ ? त्यो गाउँको सडक कस्तो छ ? त्यो गाउँका विद्यालय कस्ता छन् ? एउटा गर्वको समाचार आउथ्यो । जुन गाउँमुखी थियो । अहिले पनि हाम्रो पत्रकारिता गाउँमुखी हुन सकेको छैन । तपार्इंहरुलाई याद छ कि छैन ? गोरखापत्रमा पहिला पहिला के हुन्थ्यो भन्दा महावाणी भनेर राजाले भनेका कुरालाई कोट गरेर महावाणि आउथ्याँे । महानवाणी छापिन्थ्यो– महावाणी । हामी चाहन्थ्याँै, महावाणी हैन, महानवाणी छापियोस् । महानवाणी भनेको के भन्दा जीवनका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति उपयोगी चीज कसैबाट भनियो भने त्यो महानवाणी हो । महावाणी भनेको के हो भन्दा ठूलो पदमा बसेको ठूलाबडाले भनेको कुरा महावाणी हो । अहिले पनि हाम्रो पत्रकारिता महावाणीमा छ, महानवाणीमा छैन । तपाईंले समाचार लेख्नुभयो भने समाचारको पहिलो अनुच्छेद के लेख्नुहुन्छ भन्दा, त्यो प्रमुख अतिथिले बोलेका कुराहरुले पहिलो प्राथमिकता पाउँछ । चाहे उसले बोलेको दुई पैसाको किन नहोस् । तर त्यहीँ अर्को एउटा मान्छेले महत्वपूर्ण कुरा बोल्यो भने त्यसको उल्लेख नै हुँदैन । हामी अहिले पनि त्यो महावाणी सिस्टममा छौं । पोषनाथ शर्मा गोरखापत्रमा काम गर्दा मलाई सोधेँ–‘दाई समाचार पाइएन के लेख्नेहोला ?’ मैले उनलाई भनेँ,‘ समाचार प्रशस्तै छ तर समाचार हेर्ने दृष्टिकोण चाहिँ हामीसँग हुन आवश्यक छ ।’ ‘के छ दाई?’ भनेपछि मैले भनेँ,‘फेवातालको बाँध छ नि, त्यो फेवातालको बाँध, जुन हाइटसम्म फेवातालको बाँध रोकिनुपर्ने त्यो बाँध रोकिएको छैन । त्यसको तलपट्टि प्वाल परेको छ । बालुवाका बोरा लगेर थुपारेका छन् । त्यसको आयूको सम्बन्धमा समाचार लेख न’ भनेर मैले भनेँ । पोषनाथले त्यसका आयूका विषयमा समाचार लेखे । त्यसलाई राइजिङ नेपालले प्राथामिकता दिएर छाप्यो । सूचना सधैँ घटनामा आधारित मात्र हुँदैन । तारा पाखे दाई संस्कृत माविमा प्रधानाध्यापक, म अध्यक्ष भएर काम गरेका थियौं । अनि मैले एक जना पत्रकार साथीलाई भनँे,‘संस्कृत स्कुल ठ्याक्कै गोरखापत्रसँग जन्मियो ।१९५८ असार २४÷२५ गते गोरखापत्रको जन्म भयो । १९५८ सालमै राजकीय संस्कृत प्रधान पाठशाला भनेर यहाँ पाठशाला खोलियो । स्कुलको आयू एक सय वर्ष पुग्यो तर सयजना विद्यार्थी भएनन् । यो भन्दा ठूलो समाचार के हुन सक्छ ?’ एक जना केदार शर्मा भन्ने मान्छे पत्रकारिता पनि गर्नुहुन्छ । हिमालमा लेख्नुहुन्थ्यो । उहाँले नेपाली खाद्य संस्कृतिका सम्बन्धमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्ययन गर्नुभएको छ, भ्रमणमा हिड्नुभएको छ । त्यो खाद्य संस्कृति विषयमा छलफल गर्न म कहाँ आउनुभयो । उहाँले के भन्नुभयो भन्दा ‘तीर्थजी विन्ध्यावासिनीमा बली कस्तो छ ?’ मैले भनें,‘ किन ?’ उहाँले भन्नुभयो–‘ बली दिन जाती होइन ।’ मैले उहाँलाई भनें,‘ बली दिन जाती त होइन तर त्यो त म पनि मान्छु तर विन्ध्यावासिनीमा दिएका मात्र बली हुन्छन् ? बुच्चडका दिएका बली हुँदैनन् ?’ विन्ध्यावासिनीमा बली एकदम घटेको छ तर पोखरामा मासु पसल बढेको छ । फरक के र’ैछ भन्दा बली दिँदा मान्छेले प्रसाद खान्छन् मासु खादैनन । बली वर्षको तीन चार चोटी दिन्थ्यो । उनीहरु मासु खाने भनेर खाँदैनथे । देवीको प्रसादका रुपमा ग्रहण गर्थे । त्यसको परिमाणसमेत सानो हुन्थ्यो । तर, मन्दिरहरुमा बली समाप्त भयो । एउटै टोलमा ५÷६ ठाउँमा बलीहरु सुरु भए । यो समाचार हुन सक्छ कि सक्दैन ? समाचार अर्को पनि छ, हामीले पोखराबाट सँधैं हिमाल देखेका छौं । हामीमध्ये कतिलाई थाहा छ– हिमालका नामहरु, उचाइहरु । हिमाल आरोहण इतिहासका विषयलाई हामीले आफ्नो समाचार लेखनीमा विषय बनाएका छौं कि छैनौं ? हाम्रो दुर्भाग्य ! संसारमा पहिलो चोटी ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहणको प्रारम्भ हामीबाट भयो । अन्नपूर्ण प्रथम चढेर यसको आरम्भ भयो । १९५० जुन ३ तारिखमा । सगरमाथा कहिले चढियो ? १९५३ को मे मा । अन्नपूर्ण चढेको तीन वर्षपछि सगरमाथा चढियो तर हामीले यसलाई उजागर गर्न नसकेको हुनाले सगरमाथाको आरोहणको इतिहास बन्यो । अन्नपूर्णको आरोहणको इतिहास बनेन । हामीले पोखराबाट देख्दै गरेको पाँचवटा हिमालले नाम नै पाएको छैन । ७ हजार ५ सय मिटरको सेरोफेरोमा भएका पाँच हिमाल नामविहीन छन् । समाचारहरु छन् । समाचार खोज्नका लागि हामीले अध्ययन गर्न जरुरी छ । त्यसलाई प्रस्तुतिकरणमा हामी कति नवीन हुन सक्छाँै ख्याल गर्न आवश्यक छ । समाचार वाचकको त समाचार लेखनमा केही भूमिका हुँदैन । समाचार लेखन एउटाले गर्छ, त्यो सम्पादककोमा पुग्छ । सम्पादकले सम्पादन गर्छ अनि वाचकले वाचन गर्छ । तर पनि वाचन कति आकर्षक हुन्छ ? भन्ने कुरासँग समाचारको सम्प्रेषण जोडिन पुग्छ । समाचार अत्यन्त महत्वपूर्ण थियो तर वाचन नै काम नलाग्ने भयो भने स्रोताले त्यो समाचारमा ध्यान दिँदैन । समाचार स्रोताका मनसम्म पु¥याउनका निम्ति त्यसलाई बलशाली बनाउनका निम्ति वाचकको पनि भूमिका हुन्छ । मैले यो पत्रकारितामा सिर्जनशीलतालाई यसरी जोड्न चाहेँ । पत्रकारिता यस्तो डरलाग्दो विधा हो । हामीले जुन बेलामा पत्रकारिता गथ्र्यौँ, त्यो बेलामा सबै बीटमा लेख्नुपथ्र्यो । राजनीति, भाषासाहित्य, संस्कृति, विज्ञान, सडक सबै विषयमा समाचार लेखिन्थ्यो । अहिले विस्तारै विधागत पत्रकारिताको युगमा प्रवेश गरिसक्यौं । राजनीतिको विषय लेख्नेले त्यसमा मात्रै केन्द्रित भएर लेख्ने प्रचलन बढ्दो भयो । पत्रकारहरुको संघसंस्था समेत विधागत रुपमा बन्न थालेका छन् । यतिबेला अझै विषयवस्तुका विषयमा हामीले आफूलाई अझै गम्भीरताका साथ लान सक्ने परिस्थतिको निर्माण भएको छ । मैले पत्रकारितामा सिर्जनशीलतालाई के भन्न चाहँे भन्दा, तपाईँको प्रस्तुतिमा सिर्जनशीलता, तपाईको दृष्टिमा सिर्जनशीलता हुन आवश्यक छ । पत्रकार राष्ट्रको मार्गदर्शक पनि हो । एउटा पत्रकारको खोजी पत्रकारिता र त्यसको अध्ययनले संसारको चक्रवर्ति महाराज जस्ता भएका अमेरिकाका राष्ट्रपतिको सत्ता गुमेको इतिहास पनि छन् । त्यस कारण मेरो आग्रह छ, निवेदन छ । पत्रकारिता सामान्य विषय होइन । घटना घट्यो, त्यसको सूचना संकलन गरी आफ्ना माध्यम बाट आम जनमानस समक्ष पु¥याउने मात्र उत्तरदायित्वमा सीमित हुनुभयो भने पत्रकारिताको कर्मकाण्डमा तपाईं सम्मिलित त हुनुभयो तर पत्रकारितालाई एउटा उचाईमा पु¥याउने कुराबाट तपार्इं चुक्नुभयो । त्यो हुनाले पत्रकार साथीहरुले दुईटा विषयमा आफूलाई गम्भीर राख्नुपर्छ जस्तो लाग्छ । सत्यका प्रतिको निकटता, सत्यको सामिप्यतामा जीवलाई आलोकित बनाउने एउटा अभ्यास । दोस्रो आग्रह नराख्नुहोस् । दल वा दलको गुट विषयमा आग्रह नराख्नुहोस् । मैले सम्प्रेषण गरेको समाचार मुलुकका हितमा हुनुपर्छ भन्ने आग्रहका साथ समाचार लेख्नुभयो भने त्यसले तपार्इं, समाज र राष्ट्रलाई कल्याण गर्छ । जसले भोलिका दिनमा अझ सिर्जनात्मक हुनका लागि पनि बल दिइन्छ । पत्रकारिता भनेको छिटछिटो विषय होइन । यो सतहको कुरा मात्रै होइन । पत्रकारितामा जीवतको गाम्भीर्यता छ । पत्रकारितामा सिर्जनशीलता छ र त्यो सिर्जनशीलता मुलुकका पक्षमा छ भनेर हामीले साबित गर्न सक्छौं । (नेपाल प्रेस युनियन कास्कीले ३२ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको ‘पत्रकारितामा सिर्जनशीलता’विषयक कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठबाट प्रस्तुत विचारको सम्पादित अंश )
पोखरा: सरकारले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई पर्यटन र मगर संस्कृति, पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बागलुङ, पर्वत र म्याग्दीको उत्तरी क्षेत्रलाई मगर सस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने बताएका हुन् ।
काठमाण्डौ: सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरिएको छ । सिंहदरबारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे गणतन्त्र दिवसका दिन भोलि चौधरीले आममाफी पाउने छन् । २०७२ साल भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । गएको २ गते सर्वोच्च अदालतले चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो । अदालतको यस्तो फैसलापछि पनि सरकारले गणतन्त्र दिवसका अवसरमा उनलाई आममाफी दिन सिफारिस गरेको हो । चौधरीको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ।
काठमाण्डौ: रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको छ । काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको हो । नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । यही कारण रगतको अभाव देखिएको केन्द्रका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादवले जानकारी दिएका छन्। उनका अनुसार काठमाण्डौं उपत्यकामा अहिले दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग छ । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएको छ । अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका उनले बताए तर, रक्तदान कार्यक्रम नियमित नहुँदा समस्या भएको उनको भनाइ छ । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । रगत अभाव भएपछि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले रगत दानलाई नियमित गरिदिन आग्रह गरेका छन् । रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।
काठमाडौं: ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो । महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र स्तरोन्नति गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने ? भनेर महानगरले स्पष्टीकरण सोधेको छ । तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ । एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरूलाई समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त ४५ हजार रुपैयाँबाट पोशाक उपलब्ध गराइएको हो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिको २०८० वैशाख १२ गतेको निर्णय अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवम् व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापा लगायत पनि सम्मानित बन्नुभएको थियो । व्यवस्थापन समितिको बैठकले हरिभक्त सिग्देल, छत्रधर आत्रेय, चन्द्रावती पौडेल, वासुदेव पौडेल, धनबहादुर थापा र हरिप्रसाद तिवारीलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवम् राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, सल्लाहकार एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तरीयता अभिबृद्धि सँगै विद्यालयको दीर्घकालीन सुसञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । तलब नपाएपछि गएको जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाएको तर पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा आन्दोलन थालेको उनीहरुले बताएका छन् । स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलबका लागि मेयर रामकृष्ण खाँणसहितलाई मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको समेत बताए ।
काठमाडौं: नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरूद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहितका हाइप्रोफाइल मछिए । सो प्रकरणमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानुभण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए । यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरू जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् । बुधबार दायर मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरूङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् ।

