काठमाण्डौ: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताउनुभएको छ । बिहीबार आज काठमाण्डौमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा उहाँले गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताउनु भएको हो । उहाँले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताउनु भयो । उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । दुस्खद् कुरा हो यो । हाम्रो देश जस्तो सभ्यताको जग बसाल्ने, सभ्यता शुरु गर्ने, सभ्यताको दियो बाल्ने, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’ अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताउनु भयो ।
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ । हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय भने खुलेको छैन । नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ । दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए । सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए । यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए । यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ।
काठमाडौं: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले राससलाई जानकारी दिनुभयो । मुस्लिम धर्म गुरु ९मौलाना० रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गर्नुभएको थियो । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि ९कुर्बानी० दिन्छन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लाह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले शनिबारसम्म यो पर्व मनाउने छन् । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
काठमाण्डौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि बिहीवारदेखि काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ । भोलिदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्’, मन्त्री बस्नेतले भन्नुभयो । ‘वीर अस्पतालले सात सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्’, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले बिस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिनुभयो । शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताउनुभयो । निजी अस्पताल पनि जिम्मेवार भई नियमअनुसार कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले यो नियमलाई कडाइका साथ कार्यान्वयन गराइरहेको बताउनुभयो ।
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने क्रम बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । महानगरपालिकाको सहकारी विभागले बुधवार एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन आग्रह गरिएको छ । महानगरका मेयर बालेन्द्र शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरूलाई निर्देशन दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।’ सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उहाँले मूल्यवृद्धि र मुद्रास्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गर्नुभएको छ । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उहाँको भनाइ छ । मेयर शाहले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवम् विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवम् व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्नुभएको छ ।
काठमाडौं: महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९ र ८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ । यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि भने निकासा दिन सकिने प्रावधान छ । सो निकासाबाहेक नियमित निकासा र भुक्तानी सक्न महालेखाले मातहतका कार्यालयलाई निर्देशन दिएको हो । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । मंगलबारसम्म संघीय सरकारले १२ खर्ब २१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरिसकेको छ । जसमा ९ खर्ब १० अर्ब चालु, १ खर्ब ६० अर्ब पूँजीगत र १ खर्ब ४८ अर्ब रुपैयाँ वित्तीय व्यवस्थामा खर्च भइसकेको छ । यो क्रमशः ७६।९१ प्रतिशत, ४२।८७ प्रतिशत र ६४।४ प्रतिशत हो । राजस्व संकलन भने मंगलबारसम्म ८ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ मात्र भएको छ ।
रौतहट: प्रहरीले मंगलबार एकै दिनमा ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्दाको फरार प्रतिवादीहरू गरुडा नगरपालिका २ गेडहिगुठिका वर्ष ६५ का बलिराम सहनी, सोही ठाउँका वर्ष ५५ को कृष्णनन्दन सहनी, वर्ष ३५ का सुनिल सहनी, वर्ष ३९ का प्रभुनन्दन भन्ने शशि सहनी रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । त्यसैगरी जुवा सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू गरुडा ६ पोथियाहिका ६५ वर्षीय जम्दार साह र ६० वषीय जुकिन्द्र साह पनि पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए । पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराई प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
काठमाण्डौ: काठमाण्डौको नक्सालमा विवाह मण्डपबाटै बेहुला पक्राउ परेका छन् । बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको र धम्क्याएको आरोपमा सुनसरीको दुहबी नगरपालिका–६ घर भइ काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार पक्राउ परेका प्रहरीले जनाएको छ । हिजो नक्सालको एक पार्टी प्यालेसमा विवाह समारोह भैरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएको पीडित परिवारको गुनासो छ । प्रहरी परिसर काठमाण्डौका एसपी सीताराम रिजालका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बेहुला पक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको र थप ५० लाख रुपैयाँ मागेको खुलेको छ । दाइजो माग्ने बेहुलालाई विवाहसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौनियारसँग अमेरिकाको ग्रिनकार्ड पनि छ ।
स्याङ्जा: करेन्ट लागेर स्याङ्जाको बिरुवा गाउँपालिकामा एक बालिकाको ज्यान गएको छ । करेन्ट लागेर मङ्गलवार दिउँसो बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको ज्यान गएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रबिन्द्र खनालले जानकारी दिनुभयो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा ज्यान गएको डीएसपी खनालले बताउनुभयो ।

