पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

रोल्पा:    रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।  चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताए । 

चितवन :  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।   बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।  

काठमाण्डौ: आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।   काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।   काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फोहर निस्कन्छ । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।​   महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने  जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उहाँको भनाइ छ ।   स्थानीयबासिन्दाले भने सरकारले फोहरको राम्रो व्यवस्थापन नगरेसम्म अवरोध नहट्ने बताएका धादिङको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । उनीहरुले फोहरलाई पूरै माटोले छोप्न र दुर्गन्ध फैलिनबाट रोकेपछि मात्रै फोहर लैजान दिने बताएका नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले  बताउनुभयो ।   

गलकोट:     कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट ताराखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो । स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ । गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ । गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ । दश किमी सडकमध्ये अहिले छ किमी सडक कालोपत्र भइसकेको छ । गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताउनुभयो ।    “गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भन्नुभयो, “अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगामी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।” सडकको ट्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिउँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत  कालोपत्रको चरणमा छ । गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन् । ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिनुभयो । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेको माझखर्कका रोकामगरको भनाइ छ । उहाँले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गर्नुभयो । पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो । वि।सं। २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ । उक्त सडक खण्डको छ किमी कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमी सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रमा पुनः अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँले बर्खा लगत्तै बाँकी रहेको चार किमी सडक कालोपत्रको काम थालिने बताउनुभयो । ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताउनुभयो । मौसमले साथ दिएमा आगामी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ । निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ । गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।

काठमाडौं:  बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।   बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो ।   आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।   चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

काठमाडौं:  सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ ।    भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जानकारी दिए ।    ‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।    विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।   पक्राउ परेकाहरूको आधिकारिक रूपमा पहिचान खुलाइएको छैन ।

कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्।   पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई  काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका(८ अत्तरखेलबाट पक्राउ गरेको हो।   कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२  भदौ १ गते उनलाई  १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनीविरूद्ध  ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो।    त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध  बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई  फैसला कार्यान्वयनक‍ा लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ। 

काठमाण्डौ: जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ ।   साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९ र ८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।    प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्‍याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्‍याक नुन आयात हुने गर्दछ ।   कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा  सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिनुभयो । 

अघिल्लो आर्थिक वर्षको ६ महिनायता मालपोत कार्यालय कास्कीमा सवारीचालक रहेका हिमलाल उपाध्यायले प्रमुख रामचन्द्र अधिकारीको रोपाइँमा नजाँदा जागिर गुमेको बताएका छन् । ।   उपाध्यायले सुनगाभा न्यूजसँग कुरा गर्दै गत असार १५ गते प्रमुख अधिकारीको शिसुवास्थित खेतमा रोपाइँमा नगएपछि करार अवधि नथपिएको आरोप लगाए । ‘रोपाइँको अघिल्लो दिन शुक्रबार बिहानदेखि बेलुकासम्म स्याङजा लगेर ल्याउने काम गरे’ उपाध्यायले भनेका छन् ‘राती अबेरसम्म पनि गाडी चलाउँदा भोलीपल्ट रोपाइँमा जान सकिन ।’   रोपाइँमा नगएकै दिनदेखि प्रमुख आफुसँग रुष्ट भएको र आर्थिक वर्ष सकिएलगत्तै आफुलाई जागिरबाट निकालेको उनको आरोप छ । दिनभर काम गरेर बेलुका ८ बजे घर फर्किएपछि थकाइकैकारण हाकिम खुशी बनाउन नसकेको उनले जनाए ।   ‘रोपाइँको दिन शनिबार थियो, हाकिमसाबले अर्काे गाडी खोज्नुभएको थियो’ उपाध्यायले भने ‘म जान सकिन, पछि म्याडमले पनि यही विषयमा गुनासो गर्नुभयो ।’     प्रमुखले साउन १ गतेदेखि नआउनु भनेपछि कार्यालयमा बुझ्न जाँदा तलब खुवाउन नसकेको, बुढो भएको भनिएको उपाध्यायले बताए ।    मालपोत प्रमुख भने उपाध्यायको भनाइप्रति असहमत छन् । उनले शुक्रबार दिनभर चालक व्यस्त भएको र शनिबार पनि कार्यालयकोतर्फबाट केही काम परेकाले उनलाई बोलाएको बताए ।    ‘त्यतिबेला प्रधानमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरु पोखरामा हुनुहुन्थ्यो‘ प्रमुख भन्छन् ‘आफिसियल कामले चालकलाई बोलाएको हो ।’ उनले रोपाइँमा पनि एकपटक पुग्ने योजना भएको स्वीकार्दै चालकलाई बाउसे बनाउन नखोजेको स्पष्ट पारे ।     त्यस्तै, कार्यालयका अन्य कर्मचारीले पटकपटक उपाध्यायको कार्यक्षमता र अन्य पाटोबारे असन्तुष्टी जनाइरहेको प्रमुखले उल्लेख गरे । ‘मैले हटाउन चाहेको भए ६ महिना अघि नै हटाइसक्थे तर उनले आफुलाई सुधार्नेछन् भनेर समय दिएको हुँ,’ अधिकारीले भने ।    भूमि व्यवस्थापन तथा अभिलेख आयोगले पनि यस आर्थिक वर्षमा करारमा कर्मचारी नराख्न निर्देशन दिएको र उपाध्यायको कार्य सम्पादनमा बाराम्बार प्रश्न आएपछि नियमसंगतरुपमै करार अवधि नथपिएको अधिकारीले बताए ।    ‘उनी रिसाहा र अटेरी थिए, राम्रै गरेको भए ड्राइभर त चाहिन्छ नै’ अधिकारीले थपे ‘पछि बोलाउन पनि सकिन्थ्यो तर उनले अनावश्यक हंगामा गर्नेतर्फ लागे ।’   तर चालक उपाध्यायले भने आफुबाट कुनै गल्ती भए त्यसलाई सुधारेर काम गर्ने भनिरहँदा पनि नियतवश निकालिएको दाबी गरेका छन् ।    ‘अब गाडी कसले चलाउँछ त ?’ भन्ने प्रश्नमा प्रमुख भन्छन् ‘निवासदेखि कार्यालयसम्म म आफै चलाउँछु, पछि आवश्यक परेको खण्डमा हिमलाललाई पनि राख्न सकिन्छ, अरु आउन पनि सक्छन् ।’