काठमाण्डौ: आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ । छोरालाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन्। कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पुरकोशी एन्ड न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाको सिफारिस पछि कार्यालयले चेतना÷युके एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीको काम अलपत्र पारेपछि बिकेबि कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि, सन्धिखर्क नगरपालिकाको सिफारिसमा ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सनलाई एक वर्ष, सडक डिभिजन कार्यालय इलामको सिफारिसमा बुढाथोकी निर्माण सेवालाई एक वर्ष र सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ। भरतपुर महानगरपालिकाको सिफारिसमा अर्भन कन्स्ट्रक्सन लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने भरतपुर महानगरपालिकाकै सिफारिसमा अन्जल निर्माण सेवा एक वर्ष, अनुष्ठान कन्स्ट्रक्सन डेढ वर्ष र युद्ध निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका छन्।
बाग्लुङ: बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो। साउन १८ गते बिहीवार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा खसेर बझारिएपछि घटनास्थलमै बालकको ज्यान गएको बताइएको छ। त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला अदालत बाग्लुङमा आइतवार ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।
पोखरा: गाँस, बास र कपासको जोहो गर्न समस्या भएको भन्दै दैलेखबाट राउटे समुदायका अगुवाहरु गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा आएका छन् । आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री ज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । मुख्यमन्त्री पाण्डेले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिदै आफ्नो तर्फबाट सहयोग गर्ने बताए । राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि विभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताए । उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गर्दै आएको राउटे अगुवा लालबहादुर शाहीले सुनाए । सो अवसरमा राउटे समुदायको तर्फबाट काठको चौका उपहार दिएका थिए ।
सल्यानमा एक जना महिलाको शव फेला परेको छ। आइतबार शारदा नगरपालिका- १४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार प्रमिलाको घाँटीमा चोट देखिएको छ। ‘केही बेर अगाडि सूचना आएपछि घटनास्थलमा आइपुगेका छौं, ’ उनले भने, ‘घटना आजै बिहान भएको हो वा रातिमा त्यो अनुसन्धान पछि थाहा हुन्छ।’ प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गरिरहेको छ।
पोखरा: पोखरा महानगरपालिका १५ रामबजार लक्ष्मीटोलमा नेपाल मगर महिला संघ रामबजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए । तालिमको समापन समारोहमा संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.वेन वहादुर आलेमगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जाका साथ अगाडी बढ्न सुझाव दिए । त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए । कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या. अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतले बोलेका थिए । श्रावण १५ गतेदेखि सुरु भएको द्घोषण , भाषण तथा नेतृत्व विकास तालिममा ४५ जना प्रतिक्षार्थीहरुको सहभागिता रहेको थियो, भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहमा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नम्वर ६ वडा कार्यालयले पोखरामा तीन दिन घुम्ती सेवा प्रवाह गरेको छ । मादी गाउँपालिका वडा नम्वर ६ का वडाका केही स्थानीयहरु पोखराको विभिन्न स्थानमा अस्थायी रुपमा बस्दै आएकाले वडाबाट उपलब्ध हुने सेवाहरु घुम्ती सेवा मार्फत प्रवाह गरेको वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । ‘मादी वडा नम्वर ६ घर भएका स्थानीयहरु विगत केही वर्षयता पोखरा लगायत विभिन्न स्थानमा बसोबास गर्दै आउनुभएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘अस्थायी रुपमा पोखरा लगायत अन्य क्षेत्रमा बसोबास गर्दै आएका मादी ६ का स्थानीयहरुलाई घुम्ती सेवा मार्फत सेवा प्रवाह गरेका हौं ।’ मादी गाउँपालिका वडा नम्वर ६ ले पोखरा महानगरपालिका १३ जुरे भुमे तप्रे समाजबाट साउन १८ गतेदेखि २० गतेसम्म घुम्ती सेवा प्रवाह गरेको थियो । घुम्ती सेवा प्रवाहमा २ सय ८४ जनाले सेवा लिएका छन् । जसमा सम्पत्ती कर भुक्तानी ४१, घटना दर्तातर्फ जन्मदर्ता ४ विवाह दर्ता २, सामाजिक सुरक्षा भत्ता नविकरण २ सय २६ र विविध सिफारिसतर्फ ११ जनाल सेवा लिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
पोखरा: २९ औं विश्व आदिवासी दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै २९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा मनाउन लागेको जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सहआयोजनामा २९ औं विश्व आदिवासी दिवस पोखरामा यही साउन २४ गते मनाउन लागेका हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मबहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए । ‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, उनले भने, ‘२९ औं विश्व आदिवासी दिवस साउन २४ गते पोखरामा पनि मनाउँदै छौं ।’ उनले विश्व आदिवासी दिवसको अवसरमा पोखरामा गण्डकी प्रदेशको विभिन्न जिल्लामा छरिएर रहेका आदिवासीहरुको कला संस्कृति सहितको झाँकी सहित दिवस मनाउने बताए । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजनकुमार लामाले जनजातिहरुलाई फुटाउने गरी अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिलाई छानविन गरी कारवाही गर्न माग गरे । ‘आदिवासी जनजातिहरुलाई नै तोक घृणा फैलाउने र होच्याउने गरी षडयन्त्र पूर्वक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई छानविन गरी कारवाही गर्न हाम्रो माग छ’, लामाले भने, ‘आदिवासी जनजातिहरुलाई फुटाउने षड्यन्त्र भए छ सरकारले छानबिन गर्नुपर्छ ।’ २९ औं विश्व आदिवासी दिवसको अवसरमा पोखराको मानवअधिकार चोकदेखि आदिवासीको आ–आफ्नो मौलिक पोशाकसहित पोखरा सभागृह झाँकी तथा ¥याली सहित औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिएको छ ।

