राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ। अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो। यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। ‘धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ। दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ।’ अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ। पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो। ‘सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको हो’, उनले भने। स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। उनले भने, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो। स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौं। सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौं।’ दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। उनले भने, ‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो।’ यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौं,’ उनले भने। चालक र यात्रुले भने सडकमै जाँच गर्नुको सट्टा काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने बताएका छन्। बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्कमै यस्ता जाँच गर्न चालक मनोज कुमालले आग्रह गरे। यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन्। दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने यात्रु लोक थापामगरले बताए।
वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गएको छ । हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।
बाजुरा: चट्याङ लागेर बाजुरामा दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् । गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान साढे ३ बजे दोलखाबाट काठमाडौं आउँदै गरेको बा १५ च ९३७० नम्बरको स्कारपिओ गाडी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ पाँचकिलोस्थित जिरी(लामोसाँघु सडक खण्डमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार गाडी अनियन्त्रित भई घुम्ती सडकबाट अन्दाजी तीन यस मिटर तल सडकमा खसेको थियो। दुर्घटनामा परी चालक काठमाडौंको नागार्जुन नगरपालिका(४ का ३६ वर्षीय उत्तम महर्जन र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि खाडीचौरको सिन्धु सदाबहार अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुरघटनामा अन्य ४ जना घाइते भएका छन्। रामेछापको उमाकुण्ड गाउँपालिका- २ का ३७ वर्षीया संगिता बराइली, उनकी ८ बर्षीया छोरी युशा बराइली, रामेछापकै गोकुलगंगा गाउँपालिका-१ का ५५ वर्षीया डोल्मा शेर्पा र काठमाडौंको नागार्जुन नगरपालिका-७ का १४ वर्षीय प्रमोद महर्जन घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इन्सपेक्टर यादवले जानकारी दिए। दुर्घटनाग्रस्त गाडी सडकमै रहेकाले सवारीसाधन एकतर्फी सञ्चालनमा छ। गाडी हटाएर सडकलाई दुइतर्फी सञ्चालनमा ल्याइने इन्सपेक्टर यादवले जानकारी दिए।
रसुवा: रसुवागढी नाकाबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजो मितेरी पुलबाट पक्राउ परेकी हुन् । केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ । बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने आज (बिहीबार) आयोजिन पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका सचिव सुनिल उलकले वि.स. २०५७ सालमा मोहरियाटोलले बाघजात्रा प्रदर्शन गरेपश्चात रोकिएको बताउदै यस वर्षदेखि निरन्तरता दिइने बताए । उलकले विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाइजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहेपनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको सुनाए । उनका अनुसार १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा छेमा समापन हुनेछ । यस्तै १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर जात्रा समापन हुनेछ । २० गते मुख्य समापन समारोहका लागि नेवा छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेर समापन गरिने सचिव उलकले बताए । यस्तै आयोजक संस्थाका सदस्य शान्ति श्रेष्ठ उदासले सो जात्रामा किंवदन्तीमा आधारित बाघको डमी प्रयोग गरेर जात्रा प्रदर्शन गरिने जानकारी दिइन् । उनले बाइसे चौबिसे राजाको प्रतिमा झल्कनेगरी भाँकाीसमेत देखाइने बताइन् । तीन दिन हुने बाघजात्रामा नेवार संगै मगर, गुरुङ, तामााङ लगायतका अन्य समुदायको पनि सहभागिता रहने उनले बताइन् । उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्नेछन् । २३ वर्षपछि पोखरामा प्रदर्शन हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा खल कास्कीले सहयोग गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
गोरखा: आरुघाट गाउँपालिका–९ का वडा सदस्य ३६ वर्षीय शंकर माझीको रुखबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबार राति करिब ९ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट खसेर मृत्यु भएको हो । रुखको हाँगा भाँचिएर खेसेका उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति नै मृत्यु भएको बताइएको छ । उनी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

