काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
गोरखा: आरुघाट गाउँपालिका–९ का वडा सदस्य ३६ वर्षीय शंकर माझीको रुखबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबार राति करिब ९ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट खसेर मृत्यु भएको हो । रुखको हाँगा भाँचिएर खेसेका उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति नै मृत्यु भएको बताइएको छ । उनी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
पोखरा: पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिनुभयो । १८औँ शताब्दीको सुरूमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप) का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौँका नेवारहरू ल्याएर पोखरामा बजार सुरुआत गरेको इतिहास छ । त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् । तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र सुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ । विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो सङ्ख्यामा नेवार पोखरामा आएको र उक्त सङ्ख्या सात सय पुगेको छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरू पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ । पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुुभयो । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुष श्रेष्ठले तयार गर्नुभएका २० वटा फोटाकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उहाँले यसअघि काठमाडौँमा पनि प्रदर्शन गरिएको बताउनुभयो ।
बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो। बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए। यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ। बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए। यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ।
कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरी छन्। उनलाई मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटर चलाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेको थियो। बेहोस भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
पाल्पा: पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन्। अन्य ८ जना घाइते भएका छन् । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए। ‘त्यहाँ सडक चौडा गर्ने काम भइरहेको थियो। पहिरो गइहाल्ने ठाउँ होइन, गुडिरहेको जिपमाथि ठूलो ढुंगा खसेछ। घटनास्थलमै तीनजनाको मृत्यु भयो,’ पोखरेलले भने। उनका अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।
पोखरा: विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दिएको छ । यस उपाधिसँगै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो । सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । उनले नेपालको सद्भाव कायम राख्न ¥याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको धारणा राखेका थिए ।
सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ । संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता हुनु महत्वपूर्ण रहेको र सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमहरुले सकारात्मक सन्देश सहित देशको आर्थिक सहभागितामा सहयोग पुगेको बताइन् । सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताईन् । २०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ६४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार रोहितराज बास्तोला, शोभियत बहादुर अधिकारी, पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष इन्द्र पौडेल, राष्ट्रिय सहकारी बैँकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार इन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।
नवलपुर: नवलपुरको विभिन्न विकासका विषयमा जिल्लाको टोलीद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि ,जिल्लाका राजनीतिक दलका प्रतिनिधि लगायतको सँयुक्त उपस्थितिमा प्रधानमन्त्री समक्ष जिल्लाको विकासका विषयमा ध्यानाकर्षण गराएको हो । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा विभिन्न योजना तथा बजेट सुनिश्चितताको माग गरिएको बताए । उनले नमूना सदरमुकामको काम अघि बढ्न नसकेको र गत वर्षको बजेटसमेत फ्रिज भएको हुदाँ उक्त कार्यलाई तत्काल अगाडि बढाउनका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको प्रमुख विश्वकर्माले जानकारी दिए । उक्त टोलीले बुझाएको पत्रमा नवलपुर (ब.सु.पू.) जिल्लाको गण्डकी प्रदेश राजधानी जोड्ने पहाडी मार्गलाई छिटो सम्पन्न गर्न जोड दिनुपर्ने, जिल्लाको नमुना सदरमुकाम हुँदै बग्ने केरुङ्गे खहरे खोला लगायत जिल्लामा अवस्थित अन्य खोलाहरु मानवबस्ती भन्दामाथी भएकाले सोबाट निकट भविष्यमा कावासोती बजार र अन्य क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, नवलपुर (ब.सु.पू.) जिल्लामा पर्ने नेपालकै सबैभन्दा ठूलो धौबादी फलाम खानी संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको नाम परिवर्तन गरि नवलपुर जिल्ला नामाकरण गर्नु पर्ने, दुम्कीबासबाट त्रिवेणी जोडने सडकलाइ तत्काल संचालनमा ल्याउनु पर्ने, प्रदेश औद्योगिक क्षेत्र लोकाहाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख छ । जिल्ला समन्वयको संयोजनमा पुगेको टोलीमा संघीय सांसद डा. शशांक कोइराला, प्रदेश सांसद रोशन बहादुर गाहा, दमयन्ती रूचाल, देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोटका मेयर मदन भक्त अधिकारी , विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरी, माओवादी केन्द्रका नेता किसन शर्मा लगायत विभिन्न राजनीति दलका व्यक्तिको सहभागीता रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नवलपुरको भूगोलका विषयमा आफू जानकार रहेको र उठाएका विषय सम्बोधनका लागि पहल गर्ने धारणा राखेका थिए ।

