पोखरा: पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो । महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरि नै लागिरहेको भनाई उनको छ । “हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन । हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहज नीति निर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने । मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा उनको छ । प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणमा ध्यान दिन सकियो भने आर्थिक लाभ लिन सकिने उनले उल्लेख गरे । जसका लागि नीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्ति उनको छ । मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाब दिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसका लागि स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मदत पुग्ने बताए । व्यवसायिकमैत्री वातावरण बनाउन सरकारलाई आफुले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन् । सांसद सरस्वती गुरुङले तीजका बेला महिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् । ‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु ।’, उनले भनिन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि पहलकदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको उल्लेख गरे । बोलेर भन्दा पनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरे ।
पोखरा: पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका जिल्लागत उत्पादनलाई समेत प्रवद्र्धन गरिएको छ । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । कार्यक्रममा २० वटा स्टल राखिएको थियो । जसमा फरक स्थानका फरक वस्तुहरु प्रदर्शन गरिएको थियो । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता थियो । कोइकाका उपाध्यक्षको समेत उपस्थिति थिए । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।
काठमाण्डौ: उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको ज्यान गएको छ । हिजो दिउँसो ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएको हो । प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उहाँलाई ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगे पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।
डडेल्धुरा: डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन।
डोल्पामा मंगलबार भेटिएको शव गुल्मपति बिमल पण्डितकै भएको पुष्टि भएको छ। मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीयहरूले फेला पारेका थिए। लगत्तै उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए। डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। ‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं। धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिए। सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए। डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए। ‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ। वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ।’ सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ। उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन्। चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ। त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए। लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए। गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो। उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए। गाडीमा चढेका बेला उनको दुई–तीन पटक फोन आएको थियो। सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन्। उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो। सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पुर्याइदेउ’ भनेका थिए। तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ। ‘उहाँको मोबाइल ७ः१५ बजेसम्म एक्टिभ देखिएको थियो। त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने।
पोखरा: पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भाद्र २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेका हुन् । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराइएको छ । कोइकाका उपाध्यक्षको समेत उपस्थिति रहनेछ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।
पाेखरा: अष्ट्रेलियाले आफुलाई ‘कालो सूचीमा राखेको’ भन्ने भ्रामक खबर फैलाएको भन्दै कास्की निवासी गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरी साइबर ब्यूरो काठमाण्डौंमा पठाइएको छ । गायिका अधिकारीले भदौ १० गते जिप्रका कास्कीमा उक्त भ्रामक खबर फैलाउने ४ फेसबुक पेजविरुद्ध भ्रामक खबर फैलाएको र आफुलाई मानसिक यातना दिएकाले कानूनी कारवाही र पेज आइडी बन्द गरिपाउँ भनि निवेदन दिएकी थिइन् । नेपाल प्रहरीले साइबर ब्यूरोसम्बन्धित उजुरी जिल्लामै दर्ता गर्न सकिने व्यवस्था गरेपछि कास्कीको माछापुच्छ्रे निवासी अधिकारीले यहाँ निवेदन दिएकी थिइन् । निवेदन प्राप्त भएपछि प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जनाएका छन् । यसबाहेक कास्कीमा साइबर ब्यूरोसम्बन्धित अन्य निवेदन नआएको प्रवक्ता विकले जनाए ।
काठमाण्डौ: नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
बैतडी: अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतवार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । ढुङ्गा फुटाउन बझाङबाट मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ुठूलो ढुङ्गा फुटाउन नसक्दा गाडी बीच बाटौमै रोकिएका छन् । आइतवारदेखि यो राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडक खण्डको गुरुखोला नजिक रुख खस्दा सडक अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । राजमार्ग अवरुद्ध भएर गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिवारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ ।

