काठमाण्डौ: नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
बैतडी: अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतवार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । ढुङ्गा फुटाउन बझाङबाट मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ुठूलो ढुङ्गा फुटाउन नसक्दा गाडी बीच बाटौमै रोकिएका छन् । आइतवारदेखि यो राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडक खण्डको गुरुखोला नजिक रुख खस्दा सडक अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । राजमार्ग अवरुद्ध भएर गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिवारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताउनुभयो । “सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो, “यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिनुभयो । “सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुनसकेको छैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।” उहाँका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए। शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका(१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो। सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए। सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए। सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए। उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए। आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्।
पोखरा: पोखरामा छोरीसहित एक युवती सम्पर्कविहीन भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र उनकी ५ वर्षीया छोरी ऋषिका करिब २ महिनादेखि सम्पर्कबिहीन छिन् । उमा गत असार २८ गते छोरी ऋषिकालाई लिएर घरबाट निस्किएकी थिइन् । तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न कास्की प्रहरीकहाँ परिवार पुगेको थियो । अहिले कास्की प्रहरीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै देख्ने वा फेला पार्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । बेपत्ता उमा गोरो वर्णकी, पाँच फिट उचाइ, देब्रे भागमा काटेको खत रहेको र हराउँदाको बखत सेतो कुर्ता, कालो पाइन्ट तथा छोरी ऋषिकाले पहेँलो जामा लगाएको प्रहरीले जनाएको छ । उनको हुलिया मिलेको अवस्थामा निगरानी गर्न तथा लुगा फेरेको भए पनि अन्य हुलियाको आधारमा उनको पहिचान गरी फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।
गोरखा: जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको छ । २० औँ निजामती सेवा दिवसको अवसर पारेर आज शुक्रवारदेखि विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । गुनासो पेटिकाको शुरुवातले सूचना प्रविधिको विकाससँगै ई–गभर्नेन्सु को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । जिल्ला प्रशासन कार्यालयले वेबसाइट, इमेल, फेसबुक, ट्विटर जस्ता विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो । यसका साथै विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरूलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ । गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्धसरकारी निकायहरूबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो । कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । यो पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजसँगै विभिन्न कार्यक्रम जात्रा सञ्चालनका लागि ५० भन्दा बढीले प्रशासनको अनुमति लिएको जनाएको छ । कास्की प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ ५ गते प्रशासनको अनुमति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला महोत्सव आयोजना नगर्न सूचना प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा विभिन्न कार्यक्रमका लागि ५० भन्दा बढी समूहले प्रशासनको अनुमति लिएको जानकारी दिए । ‘हामीले तीज पर्वलाई मात्र होइन, दशै तिहार लगायतका चाडपर्वमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशित गछौं’, ढकालले भने, ‘प्रशासनले शान्ति सुरक्षालाई कायम गर्दै सूचना प्रकाशित भएपनि सूचनामा गलत बुझाइ रहेको पाइयो ।’ उनले हरितालिका तीज मनाउने नाममा खर्चिला कार्यक्रम गर्ने र विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन सूचना प्रकाशित गरेको दोहोर्याए । ‘शान्ति सुरक्षा दिनुको प्रशासनको कर्तव्य हो, कुनैपनि चाडपर्व मनाउने नाममा तडक भडकसहितका खर्चिला कार्यक्रम नगरी संस्कृतिको संरक्षण होस भन्ने हो’, उनले भने, ‘खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन प्रशासनको अनुमति लिएर कार्यक्रम गर्न सूचना प्रकाशित गरेका हौ ।’ कास्की प्रशासनले अनुमति नलिएका अन्य समूहलाई पनि जानकारी दिन र अनुमति लिन आग्रह गरेको छ ।
गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी, छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए। जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए। नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ। चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरूको मुख्य पर्व पनि हो। चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ। ‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ,’ झाँक्री राजकुमार चेपाङले भन्नुभयो, ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ।’ चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन्। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री ९पान्दे०हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ। छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ। चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन्। भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ। न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ सङ्घका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए। वारनामा कोही चेपाङ काममा निस्कँदैनन्। यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा गए राति ९बिहीबार० रातभर ढ्याङ्ग्रोमा फलाकेर आज ९शुक्रबार० बिहान न्वागी पूजा गर्ने चलन छ। चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कूलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरू गर्छन्। कूल र भूगोलअनुसार साना–साना समूहमा पनि झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ । प्रकृति पूजकका रूपमा पनि चेपाङ जातिलाई चिनिन्छन्। सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। जल, जङ्गल र जमिन चेपाङ जातिको जीविकोपार्जनको मुख्य स्रोत हो। जमिनमा खोरिया खन्ने, जङ्गलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जीविका धान्ने चेपाङको परम्परागत विशेषता हो । सार्वजनिक बिदा चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन्। अघिल्लो वर्ष चितवनमा सामूहिकरूपमा मनाएकामा यो वर्ष धादिङमा मनाइरहेका छन्। चितवन र मकवानपुर, गोरखालगायत जिल्लाका चेपाङ बिहीबारदेखि नै धादिङको गजुरी–५ च्याङ्लीमा जम्मा भएका छन्। न्वागी मनाउन सरकारले सार्वजनिक बिदा दिएको यो दोसो वर्ष हो। सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ। चेपाङ समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ। गोरखा, तनहुँ र लम्जुङमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ। इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। चेपाङ भाषाबाटै ‘धादिङ’ को नाम धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ। ‘चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो,’ चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले भने। न्वागीलाई माटो पूजाका रूपमा पनि लिएका छन्। चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो। चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृङ्खलामा बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ। चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ। जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ।
पोखरा: पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ । तिज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको सुर्य चन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले जानकारी दिइन् । तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् । उनका अनुसार कार्यक्रममा स्रस्टाहरुलाई सम्मान समेत गरिनेछ । २०५१ सालदेखि निरन्तर सक्रिय समाजले गर्ने उक्त तिज विशेष कार्यक्रम पोखरा ५ मा रहेको मालेपाटन खेल मैदानमा हुनेछ ।

