दमौल: डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । शाखा प्रमुख सोतीले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।” नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।” स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस
दाङ: काठमाण्डौबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्गको लमही नगरपालिका(९ शिवखोलामा दुर्घटनामा परेको हो । घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।
पोखरा: पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना ताेकेकाे छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले सोमबार गरेको अनुगमनमा म्याद गुज्रेको सामान विक्री गरी उपभोक्तालाई ठगी गरेको पाइएपछि १ लाख जरिवाना गराएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए । उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ । यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्समा पनि म्याद गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री भेटिएपछि नष्ट गरिएको छ । सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ । यस्तै सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । सो पसललाई रु ५ हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।
गुल्मी: पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० नविनकिशोर प्रधानले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो । पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् । गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
तुलसीपुर: सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ । रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
काठमाण्डौ: नागरिकता र लिखतसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउपर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण वडा नं १० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाल रहेका छन् । उनले रौतहटको साविक सरमुजवा गाविस वडा नं ९ बाट नागरिकता लिएको पाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । नागरिकता तथा लिखतसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा चौधरीले विसं २०६३ मा नागरिकता बनाउने टोली स्थलगतरुपमा खटिएको समयमा झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ । यसैगरी उनले नागरिकता प्राप्त गरी नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसायसमेत गरी बसेको र जागा चौधरी नामको भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएको सवारी चालक अनुमति पत्रसमेतका नेपाली कागजात फेला परेको प्रहरीले जनाएको छ । जैसवाललाई नागरिकता तथा लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइ अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।
बझाङमा २८ वर्षीया अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो। शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। उनकी आमाले खबर गरेको दुईर तीन घन्टाभित्र बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी भरतबहादुर शाहलले जानकारी दिए।
पोखरा: पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका कुमारी शाही योगीले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने वताइन । सहकारीका अध्यक्ष खेमराज वराल ध्रुबले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ६२ जनाले प्रतिशेयर सदस्य ५ हजारका दरले स्थापना गरेको सहकारीमा हाल ८ सय ९७ जना शेयर सदस्यको शेयर पुजीं ७ करोड १४ लाख ८५ हजार पुगेको जानकारी गराए । साथै उनले सहकारीको कारोबार दिनप्रतिदिन वढ्दै जानुले भविष्य कति उज्जवल छ भन्ने देखाउने पनि वताए । कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, निवर्तमान अध्यक्ष बद्रीनाथ पहारी, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, शेयर सदस्य विष्णुप्रसाद शर्मा, निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लेखनाथ बराल, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लंीराम शर्मा, सावित्रा पौडेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए । सभाले अध्यक्ष खेमराज वराल ध्रुबको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक माधव भट्टराईको प्रतिवेदन पारित गरेको छ । सो अवसरमा निवर्तमान अध्यक्ष बद्रिनाथ पहारी, जेष्ठ सदस्यहरु डिल्लीराम शर्मा र विष्णु प्रसाद पहारी, उत्कृष्ट वचत कर्ता लिलबहादुर कामी र यमुना पहारी, उत्कृष्ट कारोबार कर्तामा मदन कुमार मैनाली र अञ्जु अधिकारी भण्डारी क्षेत्री,सहकारीका व्यवस्थापक खेमराज सुवेदी, विभिन्न तह उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु सागर सुवेदी, अजय कुमार थापा, ममता ढकाल, नम्रता रेग्मी, सृष्टी थापा, सविन थापा, समिर पहारी, संगम लम्साललाई सम्मान गरिएको सचिव एकनारायण भण्डारीले वताए । संस्थाका अध्यक्ष खेमराज वराल ध्रुबको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिकाराम बरालले र संचालन सचिव एकनारायण मण्डारीले गरेका थिए ।
बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्। छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको बझाङका डिएसपी भरतबहादुर शाहले जानकारी दिए। हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीलाई कार्यालय ल्याइरहेको डिएसपी शाहले बताए।

