पर्साको वीरगञ्जमा आज धार्मिक सद्भाव र्याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्याली निकाल्ने महानगरपालिकाले जनाएको छ । यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो । राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवम् सामुदायिक प्रकारको र्याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि आपसी सद्भाव कायम राख्न सबै पक्षले अनुरोध गर्दै आएका छन् । गएको बिहीवार मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा लगाइएको अनिश्चितकालीन कर्फ्यु कायमै छ ।
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ र एक जना घाइते भएका छन् । रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिमबाट कुल २ हजार ४ सय ११ जना प्रहरी जवान दीदक्षित भएका छन् । ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् । कुन केन्द्रबाट कति ? नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट १ सय १ जना, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजबाट १ सय ३ जना, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीबाट १ सय ८९ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट २ सय ८३ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट २ सय ८० जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रबाट २ सय ७७ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)बाट ३ सय जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट १ सय ९६ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ–आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।
धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए। परिवारका अनुसार नुहाउने जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए। धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए। धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए। खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। उक्त खोला खन्न तीन वर्षअघि बटेश्वर गाउँपालिकाले ठेक्का लगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेको नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिवार हिजो दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुब्नुभएको थियो । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उहाँको शव हिजो बेलुका भेटिएको पण्डितले जानकारी दिनुभयो ।
हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालले जानकारी दिए। उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्। हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो।
सङ्खुवासभा: सङ्खुवासभाको पाँचखपन नगरपालिकामा जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् । पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले बताउनुभयो । इन्स्पेक्टर लामिछानेका अनुसार बुधवार राति साढे ११ बजेको समयमा उनीहरूले जाँड–रक्सी खाएर बजारमा होहल्ला गरी बजार नै आतङ्कित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाइ छ । अहिले प्रहरी हवल्दारको उपचार भइरहेको छ । पक्राउ परेका तीन जनामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भइरहेको इन्स्पेक्टर लामिछानेले बताउनुभयो ।
पोखरा: फरक क्षमता भएका (अपाङ्गता) नागरिकले पोखरामा भएका सडक तथा सार्वजनिक यातायात आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । अपाङ्गता स्वालम्बन विकास संघ(डिडा), आइएनएफ नेपालले पोखरामा आयोजना गरेको सबैका लागि पहुँचयुक्त यातायात विकास सम्बन्धिकार्यक्रममा बोल्दै फरक क्षमता भएका नागरिकले सार्वजनिक यातायात अपाङ्गतामैत्री नभएको गुनासो गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जाली, प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख, यातायात व्यवसायीका प्रतिनिधिहरुलाई फरक क्षमता भएका नागरिकहरुले राज्यले संविधानमा नै उल्लेख गरेका हक अधिकारबाट बञ्चित रहेकोसमेत सुनाए । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमलाल सुवेदीले नेपाल सरकारले पहुँचयुक्त यातायात सम्बन्धी भएको ऐन, कानुन तथाय नियमावलीहरु कार्यान्वयन नभएको, सार्वजनिक यातायातमा अपाङ्ग, बालबालिका ज्येष्ठ नागरिकहरुको हितमा नभएको धारणा राखे । उनले पोखराका सडक शारीरिक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा नभएको बताए । ‘पोखरा सडकमा अहिले दृष्टिविहीनका लागि क्याटटक राखिएको छ, त्यो किन राखिएको हो भन्ने निर्माण गर्नेलाई नै थाहा छैन’, सुवेदीले भने, ‘पोखराका सडक अपाङ्गता भएका नागरिकसँगै बालबालिका र ज्येष्ठ नागरिकको हितमा छैन ।’ उनले पोखराका सडकमा ट्राफिक लाइट राख्न लागिएकाले त्यसमा दृष्टिविहीन नागरिकहरुले थाहा पाउने गरी साउण्डको व्यवस्था गर्नसमेत माग गरे । ‘पोखराका केही चोकहरुमा ट्राफिक लाइट राखिदैछ, सबैको पहुँचमा दिगो विकास हुन आवश्यक छ’, उनले भने, ‘ट्राफिक लाइटसँगै दृष्टिविहीन नागरिकहरुको लागि सडकमा रोकिदा र सडक क्रस गर्ने समयमा संकेत गर्ने साउण्ड बक्स पनि राखियोस् ।’ उनले शारीरिक अपाङ्गता भएका नागरिकहरुले सवारीमा यात्रा गर्दा ५० प्रतिशत छुट पाउने उल्लेख भएपनि कार्यान्वयन नभएको भन्दै दुःख व्यक्त गरे । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले बसमा यात्रा गर्दा म्युजिक बन्द गरेर विभिन्न स्थान वा चोक नामसहितको सूचना प्रवाह गर्दा यातायातमा सहज हुने सुझाव समेत दिएका थिए । अबका भौतिक संरचना अपाङ्गता मैत्री बन्छ: मन्त्री जुग्जाली गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गतामैत्री बन्ने कार्यक्रममा प्रतिवद्धता जनाए । ‘हिजोको व्यवस्थामा अपाङ्गता मात्र होइन, सपाङ्ग व्यक्तिकोसमेत हक अधिकार खोसिएको थियो । अहिले त्यो व्यवस्थालाई फालेर नयाँ व्यवस्था ल्याएका छौं, मन्त्री जुग्जालीले भने, ‘अब हिजोको व्यवस्थालाई परिवर्तनसँगै अबको व्यवस्थामा सबैको नागरिकको पहुँच पु¥याउनका लागि अब बन्ने संरचना अपाङ्ता मैत्री बनाउन जरुरी छ र बन्छ ।’ मन्त्री जुग्जालीले पोखराका सडक अपाङ्गता मैत्री मात्र नभएर पर्यटकमैत्री नभएकाले त्यसलाई पनि प्रदेश सरकारले विशेष ध्यान दिएको बताए । ‘पोखराका सडक अपाङ्गता मैत्री भएन भनेर गुनासो आएको छ । सँगै पर्यटक मैत्री भएन भन्ने पनि छ, उनले भने, ‘अबका सडक निर्माण गर्दा र निर्माण भएका सडकलाई व्यवस्थित गर्न प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।’ उनले अब बन्ने संरचनामा सबैको पहुँच पु¥याउने फरक क्षमता भएका (अपाङ्गता ) नागरिकले प्रत्येक जिल्लामा रहेका भौतिक पूर्वाधार कार्यालयमा गएर संरचना निर्माण गर्दा सबेको पहुँच पु¥याउन सुझाव दिन समेत आग्रह गरे । मन्त्री जुग्जालीले यातायात व्यवसायीहरुलाई ब्लुबुक नविकरण लगायतका विषयमा राजस्व छुट भएकाले फरक क्षमता भएका नागरिकलाई भाडामा छुट दिन आवश्यक रहेको बताए । उनले यातायात सम्बन्धीको बैठकमा राष्ट्रिय अपाङ्गता महासंघका प्रतिनिधिलाई अबको बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित गराउने प्रतिवद्धता समेत जनाए । उनले पछिल्लो सयम ट्याक्सी मिटरमा चलेको बताउँँदै आफु भौतिक पूर्वाधारको जिम्मेवारीमा रहँदासम्म ट्याक्सी मिटरमा नै सञ्चालन भैरहेको दावी गरे । जिफमका अध्यक्ष रुद्र खत्रीले सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माण नगर्दा शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन नसकेको बताए । ‘शारीरिक अपाङ्गता भएका नागरिकलाई सेवा दिन सरकारले पूर्वाधार निर्माण गरेको छैन, कसरी हामीले सेवा दिन सकिन्छ?’, उनले भने, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् कार्यान्वयन गर्न तयार छौं ।’
बागलुङ: बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ । नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ । नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताउनुभयो । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पुर्याउने आश्वासन दिएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गर्नुभएको थियो । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताउनुभयो । बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कनअनुसार घर बनाउन सहयोग गर्ने बताउनुभयो । अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । “सापकोटाको परिवारलाई घर बनाइदिन आवश्यक छ, टोल विकासको समन्वयमा नगरपालिका र जिल्ला प्रशासनमा निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो, “घर निर्माणमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।” सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताउनुभयो । रासस

