पोखरा: पोखरामा आयोजना हुने साँस्कृतिक कार्यक्रम तथा र्यालीमा चिलको भेषमा देखिने क्याप्टेन सोलाल गुरुङ बेपत्ता भएका छन् । पोखरामा ‘चिल बाजे’ भनेर चिनिने क्याप्टेन सोलाल गुरुङ पोखरा महानगरपालिका १३ को पत्रपछि परिवार र आफन्तको सम्पर्क बाहिर पुगेका हुन् । वडाध्यक्ष किरण बरालद्वारा हस्ताक्षरित पत्र अनुसार पोखरा महानगरपालिका १९ निवासी अन्जना भण्डारीको नाममा उक्त जग्गा श्रेष्ता पुर्जा देखिएपछि घर खाली गराउन मागसहित अन्जना भण्डारीले वडा कार्यालयमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा त्यसपछि वडा कार्यालयले सोलाल र उनको श्रीमती मनिषा घर्तीलाई पत्र पठाउदै ७ दिनभित्र घर खाली गराउन उर्दी जारी गरेको थियो । त्यसपछि चिल बाजे एकाएक परिवार र आफन्तको सम्पर्क बाहिर पुगेको तमु प्हे ल्हु संघ युवा केन्द्रीय समितिका अध्यक्ष शुक्रराज तमुले बताए । चिल बाजे निकटस्थ आफन्तका अनुसार सोलालको नाममा रहेको उक्त घर कान्छी श्रीमतीसमेत रहेकी मनिषा घर्तीले ललाई फकाई आफ्नो नाममा नामसारी गराएकी थिइन् । त्यसपछि उक्त घर अन्जनालाई बेचेको हुनसक्ने आफन्तको बुझाई छ । त्यसपछि मनिषा र सोलाल सम्पर्क बिहीन भएका हुन् । यद्यपी सोलाल मनिषाको पनि सम्पर्कमा नभएको आफन्तको बुझाई छ । सोलाले प्रयो गर्ने मोटरसाइकल र समाग्रीहरु घरै छाडिएका छन् । सोलाल एक महिनादेखि बेपत्ता भएपछि उनका आफन्तले चिल बाजेलाई खोजी गर्न प्रहरीलाईसमेत गुहारेका छन् । यस्तो छ वडाको पत्र
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । अस्ति मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका–९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको ज्यान गएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो । सर्पले डसेको थाहा पाएपछि दुवैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
पोखरा: असोज ९ गतेदेखि सोह्र श्राद्ध सुरुभएपछि पोखरामा बुवाको श्राद्ध गर्ने निर्णय भयो । यो निर्णय डम्मरबहादुर थापाको एक्लै थिएन । उनले विदेशमा रहेका दाई र भाईसँग सल्लाह गरेर घरबाट निस्किएका थिए । बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदीका ५० वर्षीय डम्मरबहादुर थापा गत १३ गते बागलुङबाट पोखरा हिडेका थिए तर डम्मरबहादुर बिच बाटैमा अस्ताए । पितृकार्यका लागि पोखरा निस्केका डम्मरबहादुर अब कहिल्यै आफ्नो स्वर्गीय बुवालाई सम्झन पाउनेछैनन् । उनी बेपत्ता भएपछि अहिले थापा परिवार शोकमा डुबेको छ । १५ वर्षे शिक्षण पेशाबाट अवकाश लिएका थापा गाउँमै अलैची खेतीमा गर्दै आएका थिए । उनी गाउँमै बस्दै आएपनि उनको दाजु भने पोखराको औद्योगिक बस्दै आएका छन् । ‘डम्मर गाउँमै अलैची खेती गरेपनि उनको दाजुको औद्योगिक क्षेत्रमा दाजुको घर छ, उनका एक आफन्तले सुनगाभा सहकर्मीसँग भने, ‘यसपटक उनको बुवा नरबहादुर थापाको श्राद्ध गर्न पूर्व योजना अनुसार नै उनी बागलुङको हिल घुस्मेलीबाट बागलुङ बजारसम्मका लागि गाडी चढेका थिए । तर बाटैमा अस्ताए ।’ बागलुङकै काफलठुट्टामा आएर विदेशमा रहेका दाजुलाई सम्पर्क गरेका थापाले साँझपख बागलुङ बजार आएर पुनः दाजुलाई फोनमा भनेका थिए, ‘दाई म पोखरा हिड्न बागलुङ बजारबाट गाडी चढे’, उनको भनाईलाई उद्धत गर्दै ती आफन्तले भने । त्यसपछि (असोज १३ गते शनिबार ) राति एकाएक तमादीखोलामा आएको बाढीले जीप बगाएको खबर आगोसरी फैलिदै गयो । गाडीसहित तीन जना बाढीमा बेपत्ता भएको खबर आएपनि को को बेपत्ता भए भन्ने पुष्टि भएको थिएन । तर उनको दाजुले आशंका गर्दै डम्मरका आफन्त र विदेशमा रहेका दाजु र भाईले डम्मरलाई फोन गरिरहे तर फोन लागेन । अन्तत: शनिबार बागलुङबाट गाडी चढेका थापासहित कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका विजय पौडेल र रुपन्देही घर भएका गोपाल बस्याल बाढीमा परेको सुरक्षाकर्मीको टोलीले पुष्टि गर्याे । अहिलेसम्म तिनै डम्मरको अवस्था अज्ञात छ । गोपाल बस्यालको शवसोही दिन प्रहरीले भेट्टाएको थियो भने पौडेलको शव हिजो मात्र स्याङ्जाको मिर्मिस्थित कालाीगण्डकी ए जलविद्युतको ड्यामममा फेला परेको थियो । असोज १३ गते बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए । पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा गाडीमा ओट लागेपछि त्यसलाई निकाल्न सवारी चालक निस्किएको समयमा एक्कासी आएको बाढीले गाडी बगाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतले सो घटनाको बारेमा अनुसन्धान गर्न सवारी चालकलाई नियन्त्रणमा लिएको छ । मास्टर थिए डम्मरबहादुर बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदी घर भएका डम्मरबहादुर थापा, स्वर्गीय नरबहादुर थापाका माहिला छोरा हुन् । १५ वर्षसम्म हिल इदीस्थित हरी माध्यमिक विद्यालयमा नै अध्यापन गराएका थापा ०७४ को स्थानीय निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिका ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षका उम्मेदवारसमेत थिए । तर उनले जित हाँसिल गर्न भने सकेनन् । विद्यालयमा उनीसँगै अध्यापन गराएका शिक्षक गणेश कार्कीका अनुसार थापा शिक्षण पेशाबाट अवकाश लिएपछि सामाजिक क्षेत्रमासमेत आवद्ध थिए । ‘शिक्षक पेशासँगै उहाँ सामाजिक काममासमेत जोडिनुभएका व्यक्तित्व हुनुहुन्थ्यो । शिक्षक पेशाबाट विदा लिए लगत्तै संयोगवश ०७४ मा स्थानीय निर्वाचन भयो । त्यसमा प्रत्यासी समेत हुनुभएको थियो, कार्कीले भने, ‘निर्वाचनमा थोरै मतान्तरले पराजित भएपनि गाउँको विकासका लागि उहाँको योगदान सम्झन लायक छ । आज त्यस्तो राम्रो मान्छे हामीमाझ रहनुभएन । उहाँ अविस्मरणीय रहनुनहुनेछ ।’ उनका अनुसार अहिले थापाले गाउँमै अलैची खेती गर्दै आएका थिए ।
नवलपरासी: अविरल वर्षासँगै खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिरोको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर गाडी सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनु भयो । कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने गाडी सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत ठाउँका लागि गाडी सञ्चालन हुने गर्दछन् । निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न ठाउँमा क्षति पुर्याएकाले गाडी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।
काठमाण्डौ: केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो ।आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काठमाण्डाै: आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो । विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ । नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई/गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ ।
धादिङ: धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए। घटनापछि मृतक बालकका आफन्तहरूले सडक अवरूद्ध गरेका छन्।
काठमाण्डौ: हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् । दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
भक्तपुरमा नवजात शिशु मृत फेला परेका छन्। मंगलबार बिहान सवा ९ बजे भक्तपुर नगरपालिका-१ सृजनानगर यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार शिशु अन्दाजी २,३ दिनको थियो। खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ।

