काठमाण्डौ: काठमाण्डौ महानगरपालिका–३१ बानेश्वरमा रहेको तरकारी बजार अगाडिको बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानम्बर १० शङ्खमूलका २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
काठमाडौँ: गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको 'तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ । काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युटुब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्षी गीतको म्युजिक भिडियो बिमोचन कार्यक्रम गायक एंव संगीतकार कर्साङ लामाको सभापतित्व, नेपाल राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशका अध्यक्ष दावाफिन्जो तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पारीजात नेपालमा व्यवस्थापक लीलाराज बानिँयाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी शरण हुमागाइले शुभकामना मनतव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष दावाफिन्जो तामाङले आफु संगीत र यस संग सम्बन्धित क्ष्रेत्रको बिकासको निम्ती आफु लागी परेको बताए । उनले गायिका प्रेमा शेर्पालाई शुभकामना दिए । सभापती कर्साङ लामाले सहकार्यमा उत्कृष्ट गीत बनेको र दर्शकहरुले मन पराउनेमा विश्वस्त रहेको बताए । गायिका प्रेमा शेर्पाले आफुलाई साथ सहयोग र हौसला प्रदान गर्नुहुनेहरुप्रती आभार प्रकट गरिन । डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ । सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।
झापा: भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो । उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । रासस
काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ ।
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। उनी उक्त होटलको कोठा नम्बर ६०४मा बस्दै आएकी थिइन्। सोमबार बिहान साढे ८ बजे कोठा नखुलेपछि संचालकले प्रहरीलाई खबर गरेको थियो। प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा पनि ढोका बन्द नै थियो। पछाडि रहेको झ्यालबाट हेर्दा युवती सुतिरहेको अवस्थामा रहेको र बोलाउँदा पनि नबोलेपछि आफन्तलाई घटनास्थलमा बोलाइएको थियो।
इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-१७ की ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोपमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ हो। सामान्य विवादमा निमाले कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा सोमबार न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ। गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। उनका अनुसार पसल सञ्चालकहरू र गुठी समितिको सहमतिमा ती पसल मन्दिरमुनिबाट हटाइएका हुन्। स्थानीय र सम्पदा अभियानकर्ताहरूले मन्दिरको मुनि जुठो गर्न नहुने र फोहोर भएको बताउँदै आएका थिए, उनले भने, हनुमानढोका सम्पदा संरक्षण विभागले तीन महिनाअघि ती पसल हटाउन पत्राचार समेत गरेको थियो। यस्तै, सम्पदा संरक्षण गर्नुपर्ने र महानगरपालिकाबाट समेत ट्राफिक व्यवस्थापनमा सहयोग हुने बताइएपछि असोज १५ गतेदेखि पसलहरू हटाउने सम्झौता भएको उनी बताउँछन्। असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने। पसल सञ्चालकहरूले प्रतिपसल वार्षिक १८ हजार रुपैयाँ गुठीलाई बुझाउँदै आएका थिए। आकाश भैरवमुनि चार वटा लस्सी पसल, दुई वटा जुत्ता पसल र एउटा मोबाइल पसल थियो।
काठमाण्डौ: झापामा राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

