बाजुरा: जिल्लामा मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले सार्वजनिक गर्नुभएको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो । यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो । बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिनुभयो । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए । महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ । प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन् । स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरु पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । रासस
कालीकोट: कालीकोटको सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा रास्कोट नगरपालिक -७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै ज्यान गएको हो । शान्तिघाटबाट जितेडाका लागि छुटेको जीप अनियन्त्रियत भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गलकोट: बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो । चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खे पिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भन्नुभयो, “दश वर्ष अघि मालिकाको पञ्चासेमा चर्खे पिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खे पिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उहाँका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत २० रुपियाँ हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने पाँच हजार रुपियाँमै तयार गर्न सकिने उहाँको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दसैँ तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसैँ र तिहारमा हालिएको चर्खे पिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्त्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो) को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसैँ सुरु हुनु महिना अघिदेखि चर्खे पिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खे पिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खे पिङ देख्न पाइँदैन”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तहले चर्खे पिङ संरक्षण नगरे भविष्यमा देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरू जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले लोप हुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खे पिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ ।
पाँचथर: पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको ज्यान गएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो । हिजो आइतवार दिउँसो ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो । मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो । प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर त्यही कम्पनीमा आबद्ध भइ काम गरिरहनुभएको थियो ।
प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर ५ लगनखेल बसपार्कबाट एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए। प्रहरीले मकवानपुरगढी गाउँपालिका घर भई ललितपुरको झरूवासी बस्ने ३२ वर्षीय कुमार वाइबालाई आइतबार बेलुकी पक्राउ गरेको हो। उनलाई प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। वाइबाको साथबाट एक हजारका नक्कली नोट ११ वटा बरामद भएको हो। वाइबा नक्कली नोट लिएर लगनखेलको खुद्रा व्यवसाय गर्ने एक पसल पुगेका थिए। उनले त्यहाँ चुरोट किन खोजेका थिए। तर पैसा नक्कली परेको थाहा पाएपछि पसलेले प्रहरीलाई खबर गरेका थिए।त्यसपछि प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट नक्कली नोट बरामद पनि बरामद भएको थियो। नक्कली नोट प्रयोग गर्दा विशेषगरी थोरै मूल्यको सामान खरिद गरी सक्कली नोट फिर्ता लिने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।
सोलुखुम्बु: सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणमा आएका जर्मनीका एक जना नागरिक बेपत्ता भएका छन् । ७६ वर्षका डा.साखर गम पाँच दिनदेखि हराइरहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। काठमाण्डौबाट लुक्ला ओर्लिएका जर्मन नागरिक त्यसपछि सम्पर्कमा नआएका भन्ने परिवारको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ । गम एक्लै सोलुखुम्बु भ्रमणमा गएका उहाँको परिवारले बताएको छ ।
काठमाण्डौ: सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा आइतवार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको बैतडीको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । नेपालबाट हिजो मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी क्षेत्रमा आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावकै कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतन भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो। भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल(मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११।१८ र रु ५।०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो । रासस

