पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । यो वर्ष अहिलेसम्म झण्डै ४४ हजार जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । डेङ्गीका कारण यसवर्ष अहिलेसम्म २० जनाको ज्यान गएको छ ।   चिसो शुरु हुन थाले पछि डेङ्गीको प्रकोप केही घट्न थाले पनि जोखिम कायमै रहेकाले सचेत हुन आवश्यक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम उच्च छ । यसपछि पनि सङ्क्रमण हुने सम्भावना भने रहन्छ । तर, अहिलेको तुलनामा जोखिम कम हुने उहाँले बताउनुभयो।    डाक्टर दाहालका अनुसार अहिले कास्की, गोरखा, बाग्लुङ र तनहुँमा डेङ्गीका बिरामी बढेको तथ्याङ्क छ । यी जिल्लाको तुलनामा काठमाण्डौ उपत्यकामा सङ्क्रमित कम छन्, तर जोखिम भने उच्च छ । दशैँअघिको वर्षाका कारण पनि लामखुट्टे सक्रिय भइरहेको उहाँले बताउनुभयो । विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्ष डेङ्गी सङ्क्रमण थप भयावह बन्न सक्ने चेतावनी दिएका छन् ।   यसपालि कोशी प्रदेशको सुनसरीमा डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण हो । यस्तै, डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा सङ्क्रमण हुन्छ । डेङ्गीको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छ ।

कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।   पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो । गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन । इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको बनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए ।   उनकाअनुसार रूपन्देहीको तिलोतमा नगरपालिका-११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो ।   भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ । पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ ।   डीएसपी बरालले राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धानमा सहयोगी बनेको बताए तर सीसीटीभी क्यामेराबाट सवारी साधनको नम्बर र मानिसको हुलिया स्पष्ट नदेखिंदा केही समस्या हुने गरेको छ ।

जंगली च्याउँ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्।   बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।   उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्।   उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए।

तुलसीपुरमा विद्यालय गएका एक बालक तीन दिनदेखि सम्पर्कविहीन छन्।   रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँ घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरस्थित मामाको घरमा बस्दै आएका १४ बर्षीय प्रदीप केसी तीन दिनदेखि हराएका हुन्।   स्थानीय जनप्रेमी सेकेन्डरी बोर्डिङ स्कूल बालापुरमा कक्षा ८ मा अध्यनरत केसी कात्तिक १२ गते साढे ९ बजेतिर मामा घरबाट विद्यालय जान भनेर हिडेको र हालसम्म सम्पर्कबिहीन रहेको उनका मामा शोभाराम डाँगीले बताएका छन् ।कात्तिक १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा मामा शोभारामले भान्जा प्रदीपको खोजी कार्यमा सहयोग गरि दिन आग्रहका साथ प्रहरीमा लिखित निवेदनसहित आग्रह गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ ।   पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको भन्दै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ ।   असल संस्कार कक्षाले नियमित असल दैनिकी बनाउन सहयोग गरेको अनुश्री पौडेलको भनाइ छ । हरेक हप्ताको शनिवार साथीहरू एकै ठाउँमा भेला भइ खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छु, उहाँले भन्नुभयो ।   असर संस्कार कक्षामा ४० जनाभन्दा बढी बालबालिका हरेक हप्ताको शनिवार उपस्थित भएर ज्ञानगुनका कुरा सिक्ने गरेका छन् । कक्षामा बालबालिकाको रुचिअनुसार प्रविधिको प्रयोगमार्फत् असल संस्कार योग, ध्यान, प्राणायाम, व्यवहार कुशल सिप, आचरण सिकाउने गरिएको छ । उनीहरुले आफ्नो रुचिअनुसारका बालकथाका पुस्तक पनि पढ्ने गर्दछन् ।   किताबी ज्ञानभन्दा पनि व्यावहारिक असल संस्कारका कुरा छोराछोरीलाई सिकाउन पाउँदा अभिभावक पनि खुसी छन् । गैँडाकोट–१ की सुशीला रेग्मी छ वर्षकी छोरीसँगै आफू पनि असल संस्कार कक्षामा आउनुहुन्छ । कक्षामा सिकेका कुरा घरमा छोरीलाई अभ्यास गराउन उहाँलाई सजिलो भएको छ । ममी भन्ने छोरीले अहिले आमा भनेर बोलाउँदा सुशीला दङ्ग पर्नुहुन्छ ।   उनीहरूले आफ्नो घरपरिवार, छरछिमेकमा कसरी बोल्ने, दैनिकी आचरणलगायतका कुरा हामीले सिकाउँदाभन्दा यहाँ धेरै सहज तरिकाले ग्रहण गरेको पाएका छौँ, उहाँले भन्नुभयो, किताब र विद्यालय नसमेटिएको व्यावहारिक संस्कार सिक्न पाउँदा खुसी छौँ ।   सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दै गएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले यसको शुरुआत गरिएको सहजकर्ता श्रीधर उपाध्यायले बताउनुभयो । यहाँ बालबालिकाले दैनिक जीवनलाई कसरी सहज र सभ्य तरिकाले सञ्चालन गर्ने भन्ने कुरा सिक्ने गरेका छन् ।   बालबालिकाले घरपरिवारदेखि अन्य मान्छेसँग कसरी मित्रवत् व्यवहार गर्ने, घरमा आएका पाहुनालाई कसरी सत्कार गर्ने योसँगै बालबालिका अरु कसैको घरमा जाँदा उनीहरूले खोल्ने चप्पलदेखि भित्र गएर बस्नेसम्मका संस्कारयुक्त सिप धेरै आवश्यकता पर्छ, जुन अहिलेको विद्यालय शिक्षामा छुटिरहेका छन्, यसलाई हामीले पढाउनेभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले सिकाइरहेका छौँ, उहाँले भन्नुभयो ।   श्रीमद्भागवत वाचिका यशोदा आमाजीले बालबालिकालाई असल संस्कार, नैतिक ज्ञान र सँगै भजनकीर्तन पनि सिकाउने गर्नुभएको छ । असल संस्कार सिकाउन सके उनीहरूको आनीबानीमा सकारात्मक परिवर्तन ल्याउन सकिने उद्देश्यले बालमैत्री असल संस्कार कक्षा सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।   बालबालिका मोबाइलमा नै व्यस्त भइराख्ने गर्दा उनीहरूको शारीरिक, मानसिक विकास हुन नसकेको अनि समाजमा घुलमिल हुन नसकेको धेरै अभिभावकबाट गुनासो आउने गरेको थियोु, उहाँले भन्नुभयो, हाम्रो संस्कार, सभ्यता, अनुशासन, मर्यादा के हो भन्ने कुरा नै नयाँ पुस्ताका बालबालिकामा हराउँदै गएको हुनाले यो एकदमै आवश्यक ठानेर यहाँ प्रारम्भ गरेका हौँ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।   हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।  उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।   प्रहरीका अनुसार आगो निभाउने क्रममा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते हुनुभएको र उहाँको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग गरी आगो बाल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

गुल्मीमा जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका छन् । बिहीवार मालिका गाउँपालिका–४ अर्खबाङ्गमा जाँड–रक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउँदा उनीहरूले प्रहरीलाई नै अभद्र व्यवहार गरेका गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।   पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–२ का केशव खड्का, मालिका ३–का सन्तबहादुर थापा, अनिल थापा, विशाल थापा, विकल्प थापा, नरेन्द्र थापा, भरत थापा, नारायण पाण्डेय, विपिन थापा, गुञ्जबहादुर थापा, मालिका–८ का साहिल जिसी र रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का अनिल ठकुरी रहेका छन् ।   पक्राउ परेकाहरूलाई शान्ति सुरक्षा खलबलाएको कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्।   उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका छन्। उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जनाएको छ। उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्।    अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। उच्च लयमा रहेको बेलामा घाइते भएसँगै दीपेन्द्र टी-२० छनोटमा नेपाली टिममा फर्कनेमा शंका बढेको छ।

आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ ।   नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित भएका छन् । महासचिव गुटेरेस दिउँसो आउनुहुने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिनुुभयो ।   महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै मेयर आचार्यले आफूहरू उहाँको भव्य स्वागतको प्रतिक्षामा रहेको बताउनुभयो ।कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनुहुनेछ । उहाँ सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उहाँलाई त्यही ठाउँमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नुुहुनेछ ।   यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्च पदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको आचार्यले जानकारी गराउनुुभयो ।   महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवर्द्धनका लागि विशेष महत्त्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । आफूहरू महासचिवको स्वागतको पर्खाइमा रहेको बताउँदै उहाँले पोखरासहित यस क्षेत्रको मौलिकता झल्कने किसिमका झाँकीहरू प्रस्तुत गर्न लागिएको बताउनुभयो ।    महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । महासचिव गुटेरेस मङ्गलवार बिहान ६ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जानुहुने बताइएको  छ । अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उहाँको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।   महासचिव गुटेरेसलाई परम्परागत पोसाकमा सजिएका महिलाले माला लगाएर स्वागत गर्ने तयारी गरिएको जनाउँदै उहाँले आफूहरू स्वागतका लागि आतुर भएको बताउनुभयो ।