पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।   राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहनुुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर नौ लाख आम्दानी लिइसकेको छु ।’   परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाइ नहुने आठ रोपनीमा उहाँले व्यावसायिक सयपत्री खेती गर्नुभएको एक वर्ष बितिसकेको छ । उहाँलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत भएको दर्नाल बताउनुहुन्छ ।    किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोप्नुभएको थियो । बेर्ना रोप्दा, बिरुवाको मलजल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उहाँमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उहाँ सुनाउनुहुन्छ । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरी बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाण्डौको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।   सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती शुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिँदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा हुनुहुन्छ । अहिले एक कट्ठा फूलखेती शुरु गरे पनि बिस्तारै बढाउँदै जाने उहाँको योजना छ ।   यता गोलञ्जोर गाउँपालिका–२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् । आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उहाँका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । सयपत्री फूलखेती गर्नुभएका हमाल भन्नुहुन्छ, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’   हमालले एक प्याकेट बीउलाई पाँच हजारमा किनेर बेर्ना तयार गरी रोप्नुभएको थियो । उहाँका अनुसार हाइब्रिड जातको फूलको बीउ तथा बिरुवा महँगो छ । बिरुवा महँगो पर्ने भए पनि यसको फूल चाँडै ओइलाउँदैन । फूलका थुङ्गा एकैनासका आर्कषक हुन्छन् । सयपत्रीको प्रतिबेर्ना तीनदेखि पाँच रुपैयाँसम्म किन्न पाइने हमालले जानकारी दिनुभयो । पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीले थप विस्तार गर्न उहाँलाई पनि हौसला बढेको छ । तीन रोपनीमा फुलेको सयपत्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँको अनुमान छ ।    सयपत्री फूलको व्यावसायिक खेतीमा सामुदायिक विद्यालय पनि जोडिन थालेका छन् । पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत कमलामाई नगरपालिका–५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अध्ययनरत विद्यार्थीले एक कठ्ठामा गरेको फूलखेतीले आम्दानी दिन थालिसकेको छ । अघिल्लो वर्ष १० धुरमा लगाएको फूलखेतीबाट ४० हजार रुपैयाँ आम्दानी लिएका थिए । यस वर्ष एक कट्ठामा लगाएको फूलखेतीबाट १५ हजार कमाइ भइसकेको छ । अझै बोटभरि ढकमक्क फुलेका फूल ग्राहकको प्रतिक्षामा छन् । विद्यालयका प्राधानाध्यापक योगेन्द्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीले प्रतिकेजी चार सय रुपैयाँमा फूल बिक्री गर्ने गर्छन् ।   यतिबेला बारीका पाटा, आली, कान्ला, करेसा, घरआँगन सर्वत्र सयपत्रीमय बनेको छ ।  फूलबारीमा फुलेका आकर्षक सयपत्री फूलले वातावरणमा छुट्टै सुन्दरता थपेको छ । गाउँदेखि सहरसम्म सयपत्रीको बासना छाएको छ । चार वर्षअघि सयपत्रीको व्यावसायिक खेती शुरु गर्ने पहिलो किसान सुनकोशी–३ सुन्दरबस्तीका ज्ञानप्रसाद भट्टराईका अनुसार जिल्लामा फूल व्यवसाय फस्टाउँदै गएको छ ।  

सर्लाहीको गोडैता – ८ सिसौटियामा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।   म‌गलवार राति बाँस बोकेको ना ५ त ६१६२ नम्बरको ट्याक्टर सडक छेउमा अनियन्त्रित भएर पल्टिँदा ट्याक्टर चालक गोडैता नगरपालिका – ७ का ४० वर्षीय अखिलेश्वर पटेल र अर्का गोडैता नगरपालिका – ८ का २८ वर्षीय शंकर पटेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।   त्यसैगरी बाँस लोड गरेर त्यही ट्याक्टरमा चढेका मजदुर गोडैता नगरपालिका – ८ का २० वर्षीय  रुपेश महतो र रौतहट परोहा नगरपालिका – ८ का २४ वर्षीय  जयप्रकाश पटेल घाइते हुनुभएको छ ।   उहाँहरुको प्रादेशिक अस्पताल मलंगवा र वीरगञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको  शव पोष्टमाटमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए ।   यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो । तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ ।   भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्‍याउनु आवश्यक रहेको समेत ग्रुपको भनाइ छ । यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको बताएको छ ।   स्थानीय प्रशासन÷स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने समूहको विज्ञप्तिमा उल्लेख छ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछन् ।   यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

भूकम्पबाट घाइते भएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएकाका लागि मनोसामाजिक परामर्श तथा उपचार सेवा थालिएको छ । आफन्त गुमाएका कारण उनीहरू शोकमा छन् ।   भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।    डा लीला देवकोटा, डा प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाता कमलाकुमारी डाँगीलगायतले अस्पतालमा सेवा दिइरहनुभएको छ । अस्पताल परिसरमा भूकम्प उपचार कक्षसमेत स्थापना गरिएको छ । बाहिरबाट प्राप्त सहयोगको व्यवस्थापनका लागि कक्षको स्थापना गरिएको हो ।    भेरी अस्पताल नेपालगञ्जमा अहिले ४६ भूकम्पपीडितको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये दुई जना घर फर्किएका छन् । एक जनाको निधन भएको छ । अहिले अस्पतालमा २० पुरुष र २६ महिलाको उपचार भइरहेको छ ।   अस्पतालमा जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितको उपचार भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा अत्यधिक जनधनको क्षति भएको छ । 

जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ ।     सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने परकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको अनुभूति भएको बताउनुभयो ।    सशस्त्र प्रहरीको टोली राहत वितरण भइरहेको पालिकाका विभिन्न वडामा पुगेको छ । उनीहरु राहत सामग्री वितरणमा सहयोग गर्ने, भूकम्पबाट पीडितलाई सम्झाइबुझाई गर्नेदेखि टेन्ट निर्माणमा सघाइरहेका छन् । नलगाड नगरपालिका–२ रिजामा सशस्त्र प्रहरी बलको टोलीले त्यहाँ राहत वितरणमा  सहयोग गर्दैछ । मानसिकरूपमा तनावमा रहेका सर्वसाधारणलाई सम्झाइबुझाई गर्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ । सदरमुकामभन्दा बाहिरका पालिकामा सबै निकायको ध्यान कम पुगेको छ । पटक–पटक परकम्प गइरहेकाले भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयवासीलाई पर्याप्त जानकारी छैन । स्थानीय तहले ओढ्ने ओछ्याउने व्यवस्था पर्याप्तरुपमा गर्न नसक्दा त्रिपालभित्र बस्ने पीडितले हैरानी खेप्नुपरिरहेको बताइएको छ । भेरी नगरपालिका–३ का गणेश थापाले न्यानो कपडा नपाएको गुनासो गर्नुभयो ।    सदरमुकामभन्दा बाहिर अधिकांश ठाउँमा राहत सामग्री पुग्न सकेको छैन । राहत वितरणमा मापदण्ड निर्माण नगरी जथाभावी बाँड्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा पुगेका सङ्घसंस्थाका प्रतिनिधिले आफूअनूकुल राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा समस्या भएको छ । बारेकोट गाउँपालिकामा सोमबार दिउँसो राहत सामग्री पुगेको छ ।    परकम्पबाट १३ जना घाइते सोमबार गएको परकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १३ जना घाइते भएका छन् । सोमबार अपराह्न साढे ४ बजे रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट जाजरकोटमा दुई तथा  रुकुम पश्चिममा ११ जना घाइते भएका जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो  ।    भूकम्पबाट बालबालिकाले बढी ज्यान गुमाए जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्यामा बालबालिका छन् । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा एक सय ५७ मध्ये ७८ बालबालिका छन् ।  जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको भूकम्पमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।    यस्तै रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै छन् । रासस

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।   समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।   यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजारम्हः पूजा, २९ गते भाइटीका परेको छ ।

पोखरा:   नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युतको बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको लाईन काटिरहेको छ ।    पोखरा वितरण केन्द्रले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकहरुको लाईन काटिएको छ ।   कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पनि उक्त लाईन काटिनेको सूचीकृत पर्याे ।   तर संवेदनशीलताका आधारमा र भुक्तानको प्रक्रिया अघि बढाएको प्रतिवद्धता जनाएपछि लाइन जोडिदिएको मालेपाटन शाखाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए ।    ‘यस वितरण केन्द्रबाट सरकारी र व्यक्ति (ग्राहक) सबैले महसुल नतिरे लाइन काट्न सक्छौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘बक्यौता रकम नतिरेपछि हिजो कास्की कारागार र भौतिक मन्त्रालयको लाईन काटेका हौं, तर प्रमुख जिल्ला अधिकारीसँगै कारागार प्रतिनिधि आएर सुरक्षा संयन्त्रसँगको कुरा भएपछि संवेदनशीलतालाई मध्यनजर गरेर लाइन जोडिदिएका हौं ।’   उनले कास्की कारागारको २० लाख रुपैयाँ बक्यौता रकम रहेको जानकारी दिए ।   प्राधिकरणले हालसम्म लाइन काटेर बक्यौता रहेको रु १ करोड ३४ लाख ४३ हजार ८ सय असुल गरेको छ । कारागारको विषयमा टुंगो लागेपनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको भने लाइन जोडिएको छैन ।  अधिकारी भुवाजुले भौतिक पूर्वाधारको तर्फबाट प्राधिकरणसँग कुनै समन्वय र केही पनि छलफल नभएको बताए ।     उनका अनुसार भौतिक मन्त्रालयले २७ हजार ६४ रुपैयाँ महसुल तिर्न बाँकी छ । 

लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक(फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गङ्गालाल बि.क., काठमाडौँ गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुरज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् ।    उनीहरूलाई पक्राउ गरेको जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका सूचना अधिकारी तथा प्रवक्ता ९प्रहरी उपरीक्षक०चक्रराज जोशीले दिनुभयो । जोशीका अनुसार उनीहरूले लामो समयदेखि नेपाल(भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौँको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ ।    

गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।   गुल्मी दरबार गाउँपालिका-७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा मोटरसाइकलसहित पसलका सामान जलेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।   आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको हो। गएराति १२ बजेतिर लागेको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा चार घण्टापछि निभाइएको थियो ।