झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमान्ले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासलेसमेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आज बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । “दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्–श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ”, उनले भने, “सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।” प्रनाउ रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, “शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछि पछि थप जानकारी आउँछ ।” सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले बताए । उनका अनुसार श्रीमान्–श्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरुका तीन छोराछोरी छन् । परीक्षणपछि मृतका दाजुले शव बुझ्ने प्रनाउ रिजालले जानकारी दिए ।
बसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नेृपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन सिफारिस गरिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन मंगलबार मेयर बालेन शाहसमक्ष सिफारिस गरेको हो । ११ फागुन २०७९मा बसेको महानगरपालिकाको १३ औं कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं। २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडानम्बर ५ हाँडीगाउँमा रहेको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो । सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको महानगरले जनाएको छ । व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्ने उपप्रमुख डंगोलले जानकारी दिएकी छिन् । यही प्रावधानलाई टेकेर डंगोलले १२ भदौ २०८० मा त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गरेर संयुक्त बैठकको माग गरेकी थिइन् । २७ भदौमा दुवै पक्षका अधिकारीबिच संयुक्त बैठक बसेर समितिले काम गर्ने अधिकार लिएको थियो । जनधनको क्षति रोक्न भत्काइने जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर १९ कात्तिक वडामा निवेदन बुझाएका थिए । निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुगेको थियो । सोही अनुसार विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो । यो समितिले ४ मंसिरमा प्रतिवेदन दिएको छ । प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ । पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ । प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ, भन्ने राय दिइएको छ । यो भवन वडा नंं २३ को सिट नं। १०२-११०४-१२, कित्ता नं। ३४८ मा ४ आना १ पैसा २ दाम -०-४-१-२ क्षेत्रफलमा रहेको विभागले जानकारी दिएको छ । जग्गा अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो । भवन कसले किन बनायो भन्ने संस्कृत विश्वविद्यालय र त्रिविलेसमेत जवाफ दिन नसकेको भन्दै महानगरले अभिलेख भवन भित्रै रहेको हुन सक्ने भन्दै भत्काउँदा संकलन गर्ने जनाएको छ । कहिले निर्माण भयो भन्न्ने अभिलेख नै नभएको भन्दै महानगरले संरचनामा नै सम्बन्धित कागजात हुनसक्ने भएपनि छिर्न सक्ने अवस्था नरहेको जनाएको छ ।
धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधवार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएका र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ । गङ्गाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना छन् । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शीवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेका भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले गङ्गाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो । गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ । मेला भर्न धादिङका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाण्डौलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्नुहुन्छ, एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो भेषभुषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् । यो जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको फूलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृष्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गितिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो ।
काठमाण्डौ: राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । युवा सङ्घले तीनकुनेमा र प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको लागि दुवै समूहको छुट्टाछुट्टै र्याली शुरु हुँदैछ । जुलुस र प्रदर्शन हुँदा पनि गाडीको आवतजावत र दैनिक कामधन्दामा असर नपर्नेगरी आवश्यक व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पनि जुलुस र प्रदर्शनलाई सडकको एकातिर केन्द्रित गरेर अर्कोतिरबाट गाडी आवागमनको व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो । दुवै समूहको प्रदर्शनलाई चक्रपथभित्र पस्न नदिने प्रशासनको योजना छ । यस्तै, दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । डिएसपी महर्जनका अनुसार उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् । प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आत्महत्याजस्तो देखिएको डिएसपी महर्जनले बताए । ‘घाउचोट देखिएको छैन, मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा होला,’ महर्जनले भने ।
सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजो दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । स २ प ४५३१ र प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठोक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको ज्यान गएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयो ।
काठमाडौं: चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको महत्व तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा श्यामबाबु यादव बताउनुहुन्छ । कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
पोखरा: युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले युनाइटेड क्लब आफैमा प्रतिष्ठित क्लब रहेको र युनाइटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको उजागर गर्ने गरी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गर्दै आएकोमा १२ औं संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेडले चालेको हरेक कदममा आफुहरुको साथ र सहयोग रहने गुरुङको भनाइ रहेको थियो । त्यस्तै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक काम संगै महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको माध्यामबाट विद्यार्थीहरुलाई लोक संस्कृतिको बारेमा समेत जानकारी गराउने कार्य गर्दै आइरहदा गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवदेखीनै गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्दै आइरहदा १२ औं संस्करणबाट महोत्सवमा आयोजना गरिने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी सहित गण्डकी प्रज्ञा प्रतिष्ठान संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । सम्झौता अनुसार १२ औं पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने, पोखरा महोत्सवमा सामुहिक लोक नृत्यलाई हरेक वर्ष सञ्चालन गर्ने, प्रतियोगितामा निर्णायकको निर्णय गर्दा दुवै पक्षको सहमतिमा गर्ने र सम्झौता २०८५ चैत्र मसान्त सम्म हुने उल्लेख छ ।
धनगढीमा कुहिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। बुधबार दिउँसो धनगढी उपमहानगरपालिका–६ मट्यारीमा अन्दाजी ३३ वर्षकी एक जना महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार महिलाको शव पहिचान भइसकेको छैन। उनको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ।

