हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ । सिमकाेट गाउँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे । हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका छन्। उनी सिमकोट गाउँपालिका-११ मा रहेकाे कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।
काठमाडौं: नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो ।गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् । यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो । ‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उहाँले भन्नुभयो, ‘सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’ ‘पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो’, जोशीले भन्नुभयो, ‘अहिले सेमेस्टरअन्तर्गत ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्न गरिने हुँदा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।’ कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उहाँको भनाइ थियो । दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ । त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिस्ट्रार प्रा। डा। पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताउनुभयो । ‘पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो’, उहाँले भन्नुभयो, ‘स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।’ दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताउनुभयो । उहाँले बिस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताउनुभयो ।
बुटवलको दिपनगरमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी कुटपिट भएको छ। अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि उत्पन्न तनाव समाधान गर्न वार्ता भइरहेको अवस्थामा बस्यालमाथी कुटपिट भएको हो। मृतकका आफन्तको कुटपिटबाट गम्भीर घाइते भएका बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गएराती २ बजे उनलाई अस्पताल पुर्याइएको थियो। अहिले सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको अस्पतालले जनाएको छ। ती सुत्केरी भएको दुई दिनमै महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ। गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार अस्पतालमा मृत्यु भएको थियो। उनले सोही अस्पतालमा सोमबार ५ किलो तौलको बच्चा जन्माएकी थिइन्। सुत्केरी गराइसक्दा आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य थियो। तर, सोमबार बिहान शय्याबाट उठाउने क्रममा ढलेर भवानीको मृत्यु भएको थियो। उनका आफन्तले शव बुझिसकेर लैजान लाग्दा अचानक उत्तेजक समुहको भिड अस्पतालमा पसेर तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोड भएपछि मृतकका आफन्त, अस्पताल प्रशासन र प्रहरीसहित वार्ता भएको थियो। छलफल भइरहँदा बस्यालमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। उनीहरूले कुर्ची र टेबलका खुट्टा भाँचेर बस्यालको टाउको र छात्तिमा प्रहार गरेको घटनास्थलमा उपस्थित एक चिकित्सकले जानकारी दिए। मेसुमाथि कुटपिट भएपछि अस्पतालले इमरजेन्सीबाहेक सबै सेवा बन्द गरेको छ। बिहानैदेखि अस्पताल आएका बिरामीहरूलाई गेटबाटै फर्काइएको छ। अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरु हेर्ने बाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ। मृतक महिलाको शव भने शववाहनमै रहेको प्रहरीले जनाएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । अरु १९ जनाको रत्नहरी अस्पतालमा र पाँच जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट पोखराका लागि छुटेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से-२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो। अस्पताल पुर्याइएको केहीबेरमा उनको मृत्यु भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
दमौली: धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका छन् । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् । कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो छ । गएको वर्ष एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय ५३ उत्तीर्ण भएका थिए । त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या आठ सय थियो । एक हजार सात सय जनाले आवेदन दिएका थिए । उहाँले चार हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गरेकामा क्रमशः घट्दै गएको बताउनुभयो । विश्वविद्यालयको दैलेखको दुल्लुमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गएको वर्ष विद्यार्थी शून्य भएका थिए । विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेकका आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनुपरेको उहाँले जानकारी दिनुभयो । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातवटा निजी क्याम्पसमा गएको वर्ष विद्यार्थीको अभावमा पठनपाठन हुन सकेन । सातवटै क्याम्पसमा विद्यार्थीको अभावमा पढाइ हुन नसकेको हो । विश्वविद्यालयको रामपुरमा केन्द्रीय क्याम्पस, आठवटा आङ्गिक क्याम्पस र सातवटा सम्बन्धन प्राप्त निजी क्याम्पस छन् । केन्द्रीय क्याम्पस रामपुरमा एक सय ६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पार्खिबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ । रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ । त्यस्तै सम्बन्धन प्राप्त निजी क्याम्पसहरू पूर्वाञ्चल कृषि क्याम्पस, नितिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा भए पनि गएको वर्ष विद्यार्थी भर्ना भएनन् । विश्वविद्यालयमा आङ्गिक र सम्बन्धन प्राप्त कलेज गरी नौ सय ३४ जनाले अध्ययन गर्न पाउने भए पनि विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण सङ्ख्या नै कम भएपछि विद्यार्थीको अभाव भएको हो । परीक्षा उत्तीर्ण भएका सबै विद्यार्थीले कृषि नै पढ्ने नहुँदा पनि सङ्ख्या कम हुने गरेको छ । प्रवेश परीक्षामा विगतका वर्षहरूमा कम विद्यार्थी उत्तीर्ण हुने भए पनि कलेजहरूमा विद्यार्थीको सङ्ख्या कम भएपछि यस वर्ष उत्तीर्ण दर बढेको छ । विद्यार्थीको आकर्षण हुँदै गर्दा उत्तीर्ण भएर पनि कोटाको अभावमा धेरै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउँदैनथे । प्रा डा श्रेष्ठ सरकारले कृषि शिक्षासम्बन्धी नीतिमा नै सुधार नगरेसम्म विद्यार्थीको सङ्ख्या नबढ्ने बताउनुहुन्छ । सरकारलाई कति कृषि प्राविधिक आवश्यक पर्छ, त्यसैअनुसार कलेज सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । सरकारको निर्देशनानुसार कृषि विश्वविद्यालयले दूरदराजमा आङ्गिक क्याम्पस खोलेको भए पनि बजेट अभावमा क्याम्पसको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुन नसकेको उहाँको तर्क छ । विश्वविद्यालयका कृषि सङ्कायका भर्ना समितिका सदस्य सहप्राध्यापक रामहरि तिमिल्सेना कक्षा १२ मा विज्ञान पढेका विद्यार्थी विदेश जाने लहरसँगै कृषि पढ्नेको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । यससँगै सरकारले सबै विश्वविद्यालयलाई कृषि पढाउन अनुमति दिएपछि कृषि, भेटेरेनरी, मत्स्य र वनमात्रै पढाउनका लागि खुलेको विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा विद्यार्थी अभाव भएको बताउनुभयो । सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन् । तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरु विश्वविद्यालयको भएको उहाँले जानकारी दिनुभयो । कृषि सङ्कायले यस वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएमा नजिकको आङ्गिक क्याम्पसमा विद्यार्थी सारेर एकै ठाउँमा पढाउनुपर्ने नीतिगत निर्णय गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरूपमा विश्वविद्यालयले सुधारका काम गरेकाले आउँदा वर्षहरूमा विगतझै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो । बाहिर पढ्दा छात्रवृत्तिसँगै काम गर्दै पढ्दै गर्ने अवसर प्राप्त हुन्छ भन्ने उद्देश्यले धेरै विद्यार्थी विदेश गएको उहाँले बताउनुभयो । ती विद्यार्थीलाई राम्रो क्याम्पसमा पढ्न पाउँदै गर्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्व राख्छ भन्ने परेकै कारण बाहिर गएको उहाँले बताउनुभयो । सबै विषयको अध्ययन गरी विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने गरी काम अघि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, विद्यार्थीलाई यही गुणस्तरीय शिक्षा दिइन्छ भन्ने विश्वस्त नपारेसम्म विद्यार्थी रोकिँदैन ।ु पाठ्यक्रम पुरानो भएकाले संशोधन गरेर यसै शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ । अहिलेसम्म प्रयोगात्मक ३७ प्रतिशत र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्याउने गरी पाठ्यक्रम लागू गर्न लागिएको छ । यसले उद्यमशीलता बढाउने उपकुलपति रेग्मीले विश्वास व्यक्त गर्नुभयो ।
बालिका हत्या गरेको आरोपमा भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो। बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए। चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए। उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन्। शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ। चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए। अभियुक्त चौहानले घटनालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट १।५ किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेको थियो। पीडकविरूद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घटनास्थलमा पुगेको थियो। अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएपछि प्रहरी आफैले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए। बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनी गाडिएको अवस्थामा भेटिएको थियो।

