पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

विराटनगर:  नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ ।   आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।    विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ ।   घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।     

मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।   शनिबार साँझ थाहा नगरपालिका-९ चित्लाङमा बा४ ख ८७७३ नम्बरको बसले बा.६५ प ४१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमाल गम्भीर घाइते भएका थिए।   उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मोटरसाइलकमा सवार अर्का एक जनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको छ। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाण्डौबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।   जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानको चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए ।   जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको र मर्मतपछि केही दिनमा काठमाण्डौ फर्किने तारा एअरले जनाएको छ ।

लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् ।  बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिनुभयो ।   प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खानुभएको थियो । त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।    अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीया छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन् ।  भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।    प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु र मूलाको अचार खाएका थिए । अस्पतालका  बिरामी आउने क्रम जारी छ ।

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।   बिहान ८ बजेर २३ मिनेट जाँदा मैदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको कात्तिक ५ गते धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो  ।   यस्तै, गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । यो भूकम्पले जनधनमा क्षति पुर्याएको छ ।    नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्ने भएकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस सरकारका प्रतिनिधिहरूबिच छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो।   मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टिमले संविधानमा व्यवस्था भए बमोजिमका सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।    भेटमा उहाँहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने बताउनुभएको थियो।जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो।   प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सङ्घीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो। सङ्घीयताका पक्षमा लगातार सङ्घर्ष गर्ने नेता म नै हुँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको सङ्घर्ष र पहल तपाईँहरूले देख्नुभएकै छ। अहिले पनि सङ्घीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु। तपाईँहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ। तपाईँहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाऊँ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको छ। तर, त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। त्यसका लागिसमेत तपाई–हाम्रो संयुक्त पहल जरुरी छ। त्यसैले अहिले सङ्घर्षका कार्यक्रमलाई थाँती राखेर थप पहलमा केन्द्रित होऔँ।’’    

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो।   मृत्यु हुनेमा  ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।   उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक  रिजालले बताए।

काठमाण्डौ – काठमाण्डौको नागढुङ्गामा गाडीमा लुकाएर ल्याएको दुई किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाण्डौ आउँदै गरेको गाडीमा सुन फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको जानकारी दिएको छ ।   पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, त्यसै ठाउँका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

 विराटनगरमा क्षुद्र ग्रह खोज तालिम शुरु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी ​(नासो), विराटनगर महानगरपालिका, खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा तालिम शुरु भएको हो ।   तालिममा विराटनगरका शिक्षक तथा विद्यार्थी सहभागी भएका छन् । पछिल्लो समय खगोल विज्ञानको अध्ययन र अनुसन्धानमा विद्यार्थीको रूचि बढ्दै गएको छ ।   हिजो बिहीवारदेखि शुरु भएको तालिम आज शुक्रवार सकिने छ ।