महिनादेखि बेपत्ता रहेका एक जना पुरूष मृत फेला परेका छन्। काभ्रे पनौती नगरपालिका वडा नम्बर ५ चौकोट जंगलमा बिहीबार दिउँसो एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार स्थानीयहरू घाँस दाउरा काट्न जानेक्रममा पहिचान नखुलेका पुरूषको शव फेला परेको हो। अस्थिपञ्जरसहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेको थियो। यसक्रममा प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिहरूको परिवारलाई बोलाएको थियो। मोबाइल, लुगा र घडीमार्फत मृतक पनौती नगरपालिका-६ बस्ने ५२ वर्षीय रामशरण हुमागाईं भएको भन्ने आफन्तले पहिचान गरेका थिए। डिएसपी श्रेष्ठका अनुसार उनी विगत ६ महिनादेखि बेपत्ता थिए। उनको मृत्यु कसरी भएको भन्नेबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान गरिरहेको छ।
चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो। बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उनका पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी बृत्तको हिरासतमा छन्। मृतक शाक्यका बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ। गत आइतबार राति खाना खाएरसँंगै सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत्यु फेला परेकी थिइन्। सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ। सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन्। सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन, यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउँछन्। मृतकका बहिनीज्वाइँ कृष्ण गोसाईंले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजेभित्रै हत्या भएको आशङ्का भएकोे बताउँछन्। ‘हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्यौं, रिपोर्ट पनि हेर्यौं, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौं प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउदैनौं,’ उनले भने। िमृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उनी बताउँछन्। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताए। ‘घटना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने मृतकको माइतीपक्षले भने घट्नाको वास्तबिकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन्।
भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् । उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ। आफू दुई दिनदेखि पखालाले थला परेको र छ वर्षको छोरालाई पनि पखाला लागेको स्थानीय धर्मशीला विकले बताउनुभयो । नजिकमा स्वास्थ्य संस्था नहुँदा बिरामीको उपचारमा समस्या परेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार हिजो दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको जानकारी आएको र अलि विकट ठाउँ हुनाले तत्काल जान नसकेको बताउनुभएको छ । आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुग्ने पनि डा. भारतीले बताउनुभयो ।
तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ । इप्रकाका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन भन्दै निवेदन दिएको बताए।
पोखरा: गण्डकी प्रदेश मनाङ १ (ख)बाट निर्वाचित राजिव गुरुङ (मनाङ्गे)ले मनाङको विकाशको विकासका लागि बजेट दिन माग गरेका छन् । प्रदेश सांसद मनाङ्गेले गण्डकी प्रदेशमा मन्त्री पद नदिएपनि मनाङको विकासको लागि आवश्यक बजेट दिन माग गरेका हुन् । उनको प्रदेशको मन्त्री बन्ने मोह नरहेको स्पष्ट पारे । मनाङ १ (ख) बाट निर्विरोध निर्वाचित सांसद मनाङ्गेले मन्त्री बन्नकै लागि एकिकृत समाजवादी पार्टी प्रवेश गरेको हो भन्ने प्रश्नमा समाजवादीका अध्यक्ष नेपालको अनुहार हेरेर पार्टी प्रवेश गरेको तर्क गरे । ‘म हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको अनुहार हेरेरै समाजवादी पार्टी प्रवेश गरेको हो’, सांसद मनाङ्गेले भने, ‘प्रदेशमा कसलाई मन्त्री बनाउने भनेर केन्द्रमा तीन जनाले टुङ्गाउँछ, मलाई मन्त्री पद होइन, मनाङको विकासको लागि बजेट दिए हुन्छ ।’ उनले आफु मन्त्री नभएकोमा अनावश्यक टेन्सन नलिनसमेत आग्रह गरे । ‘कसलाई कहाँ मन्त्री बनाउने टुङ्गो केन्द्रले टुङ्गाउछ, मलाई किन गण्डकीमा मन्त्री बनाएनन् भनेर केन्द्रमा सोध्नुहोला’, उनले भने ‘हामीले समर्थन गरेर प्रदेशमा मुख्यमन्त्री बनाएका छौं, मलाई किन मन्त्री बनाएर भनेर अनावश्यक टेन्सन नलिनु होला, केन्द्रमा सोध्नुहोला ।’ उनले मन्त्री भएर झण्डा हल्लाउने काम मात्र भएको टिप्पणी दिएका थिए ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरका अनुसार गएको असोज १९ देखि अहिलेसम्म ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । नक्कली कागजपत्र बनाई भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्स० का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू रहेका छन् । अहिले ९ जनाको सङ्गठित अपराधमा अनुसन्धान भइरहेको, त्यस्तै लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको र ८ जना धरौटीमा छुटिसकेका कार्यालयका एसएसपी राठौरले जानकारी दिनुभयो । आजमात्रै थप ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीका अनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका उहाँले जानकारी दिनुभयो । कागजात मिलाएबापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानोको ९एक पटक विदेश पुगेर फर्किएका० हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
पोखरा: कलाकारितामा सक्रिय रहदैं आएको सारेगम कला केन्द्रको आयोजना र सुर्योदय कला केन्द्रको सह आयोजनामा न्यायो साँझ सम्पन्न भएको छ । असहाय व्यक्तिहरुका लागि न्यानो कपडा वितरण गर्ने उद्देश्यसहित स्पेस डान्स स्टुडियो एण्ड फिट्नेस सेन्टरको व्यवस्थापनमा न्यानो साँझ सम्पन्न गरेको हो । सो कार्यक्रममा २० जना बढीलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सुशिल नेपालीले जानकारी दिए । उनका अनुसार सो वडा नम्बर ५ को विशेष सहयोगमा राष्ट्रिय कलाकार राजु परियारले आफ्नो प्रस्तुति दिएका थिए । त्यस्तै जय कुमार, तुल्सा जिसि, दिपक थापा, रोहन नेपाली, सुशील नेपाली तथा सुर्योदय कला केन्द्रको साँस्कृतिक प्रस्तुति रहेको थियो भने मालेपाटन ताय मचा नाच समितीले लाखे नृत्य प्रदर्शन गरेको थियो ।
पोखरा: कास्की जिल्लाको उद्गम तथा धार्मिक पर्यटकीय स्थल कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित धामको गरामा रहेको महाङकालेश्वर मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो । सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि भक्तजनको भिड लागेको थियो । त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ ।

