त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डौ विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाको साथबाट लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक चन्दले बताउनुभयो ।
रूकुम पश्चिममा २२ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए। जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ। जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिनुभयो ।नोचामा रहेको छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो । महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते हुनुभएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: स्याङ्जाको चापाकोट नगरपालिका ७ साखर घर भएका प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् । धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा ढकाल मृत फेला परेका हुन् । प्रकाश गायन तथा कलाकारितकाे क्षेत्रमा सक्रिय थिए ।
सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् । गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ । गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिको रुपमा उदाएको थियो ।
दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएकाे छ । उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएकाे हाे । यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो। डुमे दमका दीर्घरोगी पनि थिए। त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको काण उनको ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।
४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्री एनपी साउदसँग आग्रह गरेका छन्। काठमाडौं: मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्। ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्यो।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापन पत्र पठाएका थिए। भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए। ‘कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ’, उनले भने। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए। गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन।
बैतडी : बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको हो। कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताए। जिप उकालोमा नचड्दा पछाडि टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्यु भएको हो। यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट,७ वर्षीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

