इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक किशोरको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको हत्या भएको थियो। उनको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरीका १९ वर्षीय अर्विन्द ठकुरीलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सनीलाई उपचारको लागि ट्रमा सेन्टरमा रिफर गरिएको थियो। पछि मनमोहन अस्पतालमा पुर्याउँदा ११:५८ मृत्यु भएको थियो।
बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएकोले आज दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्युकाे आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिनुभयो । नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ । र्यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनुपरेको हो । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाउने तयारी भइरहेको छ। यसअघि प्रहरीले यही घटनामा ७ जनालाई पक्राउ गरेको थियो। यस घटनाबारे जिल्ला प्रहरी कार्यालय दोलखासँग ब्युरोले पनि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।
काठमाण्डौ: पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएका बताउनुभयो । अभियानको शुरुमा विभिन्न अवरोधका कारण खोप अभियान प्रभावकारी नभएपछि समय थप गरिएको थियो । सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा। गौतमले जानकारी दिनुभयो । नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।
मुस्ताङ: मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको झम्पा गुम्बाको पर्खाल भत्किएको छ । झन्डै ६ सय वर्ष पुरानो मानिएको उक्त गुम्बा गाउँले अन्र्तगतको स्वामित्वमा थियो । पर्खाल भत्किएसंगै गुम्बाको सौन्दर्यतामा समेत असर पुगेको छ । लोमान्थाङको विषेश धार्मिक चाडपर्वहरुमा उक्त गुम्बामा लामाहरुद्धारा पुजापाठ गरिन्थ्यो । गुम्बामा छोदे गुम्बाका लामाहरुले धार्मिक अनुष्ठान गर्ने गरिन्थ्यो । लोमान्थाङ गाउँको पुरानो गुम्बाको पर्खाल उत्तरतर्फको भागमा चर्किएर भत्किएको लोमान्थाङ गाउँपालिकी उपाध्क्ष छिमी बिष्टले जानकारी दिईन् । उनले गुम्बा बाहिरको करिव १० देखि १५ मिटर पर्खालय भत्किएको उल्लेख गरिन् । उक्त गुम्बा ऐतिहासिक लोमान्थाङ दरबार परिसरभित्रै रहेको जानकारी दिईन् । ज्यादै पुरानो धार्मिक गुम्बा पर्खाल भत्किएसंगै उपाध्यक्ष बिष्टले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुलाई गुम्बा पर्खाल पुनस्निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन् ।
म्याग्दी: गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो । “वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो”, उहाँले भन्नुभयो, “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।” दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन् । पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताउनुभयो । “पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्यूले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन । घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।” एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।
काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ। घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।
पर्सा: वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ। बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि हिजो छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो । फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो। बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा अहिले दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो ।
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो। नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए। दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका(४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए। सरोजको दाहिने खुट्टा भाँचिएको छ। सुशिल भने गम्भीर घाइते भएका थिए। उनीहरू दुबै जनालाई सिभिल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ५ बजे सुशिलको मृत्यु भएको एसपी ढुंगेलले बताए। एसपी ढुंगेलका अनुसार चालक सरोजले मापसे गरी मोटरसाइकल चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

