काठमाण्डौ: पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको गएराति काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । २०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उहाँ केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । त्यसपछि उहाँले चुनाव लड्नु भएन । उहाँ गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ । रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उहाँ त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष हुनुहुन्थ्यो । जनवादी मोर्चाबाट उहाँ नेपाली कांग्रेस प्रवेश गर्नु भएको थियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उहाँ पटक(पटक जेलसमेत पर्नु भएको थियो । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गर्नु भएको थियो । पछिल्लो समय उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
चितवन : चालु आर्थिक वर्षको दुई महिनामा चितवनमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको हो । माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परि ज्यान गएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट ज्यान गएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परि ज्यान गएको थियो । यस्तै, रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीको आक्रमणमा परि ज्यान गएको हो । त्यस्तै, अवधिमा चार वटा गैँडा मृत भेटिएका छन् । यसमध्ये एउटा सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणमा परेर मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उहाँले बताउनुभयो । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२र७३ देखि अहिलेसम्म निकुञ्जमा २ सय ४ वटा गैँडा मरेका छन् । तीमध्ये १ सय २ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ वटा रहेका छन् ।
बाँके: बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् । जहाजमा काठमाण्डौ जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाण्डौ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाण्डौमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।
काठमाण्डौ: काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन गर्दै गएका शिक्षकहरूले नयाँ बानेश्वरको प्रहरी घेरा तोड्ने प्रयास गरिरहेका हुन् । प्रहरी र शिक्षकबीच धकेलाधकेलसमेत भएको छ । आन्दोलनलाई मर्यादिन बनाउन भन्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । शिक्षकहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजो बुधवारदेखि नै देशभरको विद्यालय बन्द गरेर काठमाण्डौमा विरोध प्रदर्शन गरिरहेका छन् । देशभरबाट एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण झन्डै ५४ लाख जना बालबालिकाको पढाइ ठप्प भएको छ । यसैबीच शिक्षकहरूको विरोध प्रदर्शनले काठमाण्डौ ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरेकाले त्यस क्षेत्रमा गाडी आवागमन अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले नयाँ बानेश्वर चोक र माइतीघरबाट गाडी डाइभर्सनु गरेको छ ।
डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका(३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो ३ बजे घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ।
सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ। हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ।
काठमाण्डौ: सशस्त्र प्रहरी बल नेपालले बाग्मती नदीको पहरोमा फसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । गएराति काठमाण्डौको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहको सिम्पानी राई टोलका ४० वर्षीय रामबहादुर लामाको बाग्मती नदी किनारबाट उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी पहरोमा बस्नु भएको थियो ।उद्धार पछि लामालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ
रसुवा: रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ सामग्रीको नियमानुसार भन्सार शुल्कबापत राजश्व असुली गरिएको हो। साउन भदौको असुली लक्ष्य एक अर्ब चार करोड ४१ लाख २१ हजार रुपैयाँ भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ। गएको आव २०७९र८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो । व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् । यस्तै, नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाइ काठमाण्डौ लैजाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।
पाेखरा: ०७२ भदौ ७ गते टीकापुर घटनामा मुछिएका श्रवणकुमार चौधरी आज संविधान दिवसको अवसरमा पोखराबाट थुनामुक्त भएका छन् । घटनाका दौरान ९ कक्षामा अध्ययनरत चौधरी १५ वर्षमात्र भएकाले उनलाई पोखराको बालसुधार गृह ल्याइएको थियो । उनै चौधरी थुनामुक्त भई आजै काठमाण्डौं हुँदै कैलाली पुगिसकेका छन् । हाल २१ वर्षको उमेरमा रिहा भएका उनी स्नातकतह दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । रिहापछि कुराकानीकाक्रममा संवाददातासँग उनले प्रश्न र आक्रोश पोखिरहे । ‘राज्य निमुखा र निम्न वर्गकोे होइन रहेछ’ चौधरीले भने ‘सोझा, निमुखा थारुको बच्चालाई फँसाएर ८ वर्ष जेल कोच्यो ।’ चौधरीका अनुसार भदौ ७ का दिन उनी एक साथीसँग टीकापुर पुगेका थिए । त्यसपछिको भागदौडमा दुबै घर फकिए । तर केही दिनपछि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको आरोपमा उनको खोजी हुन थाल्यो । ‘तत्कालीन समयमा १५ वर्षको मैले सात प्रहरीलाई लखेटेर मारेको भन्ने अभियोजन अदालतले पत्यायो’ चौधरी भन्छन् ‘अहिले बुझ्दैछु त्यो समय थारुमाथि हदैसम्म ज्यादती गरिएको रहेछ ।’ उनका अनुसार थरुहट आन्दोलन र रेशम चौधरीबारे केही जानकारी थिएन । ‘मैले रेडियोमा रेशम चौधरी भन्ने नाम सुनेकोमात्रै थिए’ सकल भन्छन् ‘त्यहाँ हो–हल्ला हुन थालेपछि डराउँदै हामी फर्केर आयौं ।’ चाैधरी र साथी त फर्किए तर १५ गते ‘प्रहरी मारेको’ भन्दै सकललाई खोज्न गाउँमा प्रहरी पुगिसकेको थियो । प्रहरीले गाउँ घेरेर धरपकड गर्न थालेपछि सकल भागेर भाउजुको घर लुकेर बसे । परिवार र पुरै गाउँलेलाई प्रहरीले सताउन थालेपछि सकलले २५ गते सरेन्डर गरेका रहेछन् । त्यसपछि सुरुभयो उनीमाथि एकोहोरो यातना । ‘मैले प्रहरीको सक्कली अनुहार त्यसपछि थाहा पाए’ चाैधरीले प्रहरी कार्यालयमा बिताएको विगत सम्झँदै भन्छन् ‘डिएसपीको कमाण्डमा ४ प्रहरीले दिएको यातना झेल्न नसकेपछि उनीहरुले तयार पारेको बयानमा सही गर्न बाध्य भए ।’ प्रहरीले उनलाई पक्राउ गरेपछि यातना दिँदै आफुले तयार पारेको बयानमा सही नगरे बुवा आमालाई पक्रेर ठिक पार्ने चेतावनी बाराम्बार दिएपछि चाैधरी गलेछन् । त्यसपछि प्रहरीले भिडियो खिचेर त्यही बोल्न लगाएछन् जुन प्रहरीले पहिल्यै लेखेका थिए । ‘बयानमा के लेखेको थियो, याद छ ?’ चाैधरीकाे जवाफ छ ‘टीकापुर हत्याकाण्डको नाइके रेशम चौधरी हो । र, मैलेपनि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको हो ।’ पछि सरकारी वकिलको कार्यालय र अदालतमा पनि सोही बयान घोकेर भन्न बाध्य पारिएको उनले सुनाए । ‘म ९ कक्षामा पढ्दै गरेको १५ वर्षको ठिटोले ७ जना प्रहरीलाई लखेट्दै मारेको भनेर अदालत, राज्यले पत्यायो, तर वास्तविकता बुझ्नेतिर कोही लागेन’ उनी दुखी देखिए । उनले आफुलाई त्यसबेला खास के भइरहेको छ र किन टीकापुरमा मान्छेको सागर ओइरियो भन्ने कुनै जानकारी नभएको सुनाए । ‘मलाई फसाइयो’ सकल भन्छन् ‘रेशमलाई मैले पोलेको हो तर प्रहरीले किन जबर्जस्ती उसको नाम लिन लगायो जवाफ खोजिरहेको छु ।’ अब आगामी दिनको योजना के छ? चौधरी भन्छन्, ‘पढाइको निरन्तरता र समाजसेवा ।’ कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका दौरान नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो ।

