पोखरा: भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बैदिक सनातन भागवत धर्म र संस्कृतिको संरक्षणार्थ भागवत जयन्तीको अवसर पारी ख्यातीप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत कथा वाचन गरिने प्रष्ठिानका उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले जानकारी दिनुुभयो । भावगत जयन्तीकै अवसरमा असोज ६ गते प्रतिष्ठानद्वारा गुरुकुल संस्कृत मा.वि. तह(कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायाले जानकारी दिनुुभयो । प्रतियोगितामा स्तुतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ । भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टतालाई आधार मानिएको जानकारी गराउँदै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको बताउनुुभयो । प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले बेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताउनुुभयो । हाम्रा मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताउँदै उहाँले ज्ञानमहायज्ञमा कथा श्रवण गरी लाभान्वित बन्न सबैलाई आग्रह गर्नुभयो । प्रतिष्ठानका सल्लाहकार एवम् राधाकृष्ण मन्दिरका सह अध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ (सप्ताह) कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पार्नुुभयो । महायज्ञका क्रममा भक्तजनबाट स्वतस्फुर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उहाँले जानकारी दिनुुभयो । प्रतिष्ठानका अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नुभएको थियो । ज्ञान महायज्ञका लागि गठित उपसमितिमा अतिथि तथा मञ्च व्यवस्थापनतर्फ विष्णुुप्रसाद पौडेल, प्रचारप्रसारतर्फ रामचन्द्र सिग्देल, आवाश तथा प्रसाद व्यवस्थापनतर्फ घनश्याम खनाल र अर्थ व्यवस्थापनतर्फ शिशुकला पौडेल संयोजक रहनुुभएको छ ।
पोखरा: तमु धिं नेपाल अन्र्तगत क्रियाशिल पोखरा–२ मिरुवास्थित मिरुवा तमु समाज पोखराको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था मिरुवा तमु समाजको साधारणसभाको प्रमुख अतिथि समाजसेवी पदमसुवा गुरुङले उद्घाटन गर्नुहुदै शुभकामनासहित आशिर्वाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सामुहिकता, एकता, अधिकारका लागि तमुहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मिरुवा तमु समाजको आन्तरिक एकता उदाहरणीय भएको भन्दै तमु समाज भवनहरुलाई ज्ञान, सिप, नैतिकता, अधिकार बुझ्ने सिक्ने केन्द्रका साथै युवा तथा बालबालिकालाई आकर्षित गर्नुपर्ने उहाँको भनाई थियो । यसरी नै शुभकामना व्यक्त गर्नुहुदै सफल व्यवसायी प्रेमबहादुर गुरुङले तमुहरुको एकता, दुःख, सुखको आधार, व्यवसायिकतामा अघि बढ्नुपर्नेमा जोड दिनुहुदै प्रतिष्ठित व्यपारी भाट भटेनीका संचालक मिनबहादुर गुरुङ अन्यायमा परेको बताउनुभयो । यसरी नै कार्यक्रममा आमा समितिकी अध्यक्ष हाइसुवा गुरुङ, निवर्तमान अध्यक्ष सुवेदार राजबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । साधारणसभामा मिरुवा तमु समाजमाको वार्षिक प्रतिवेदन खेमबहादुर गुरुङ, आर्थिक प्रतिवेदन सुशीला गुरुङले प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाले पारित गरेको थियो । समाजका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलबहादुर गुरुङले स्वागत, संचालन खेमबहादुर गुरुङ र सुशीला गुरुङले गर्नुभएको थियो । साधारणसभासँगै नजिकिदै गरेको तिजको आगमनको अवसरमा समाजले दिदिबहिनीहरुलाई दरखुवाउने, साँस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान दर खाने कार्यक्रम समेत गरिएको थियो ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफ प्रतियोगिता, तीज गीत प्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो । महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरि नै लागिरहेको भनाई उनको छ । “हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन । हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहज नीति निर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने । मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा उनको छ । प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणमा ध्यान दिन सकियो भने आर्थिक लाभ लिन सकिने उनले उल्लेख गरे । जसका लागि नीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्ति उनको छ । मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाब दिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसका लागि स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले बताए । गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मदत पुग्ने बताए । व्यवसायिकमैत्री वातावरण बनाउन सरकारलाई आफुले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन् । सांसद सरस्वती गुरुङले तीजका बेला महिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् । ‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु ।’, उनले भनिन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि पहलकदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको उल्लेख गरे । बोलेर भन्दा पनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मक कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरे ।
पोखरा: पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका जिल्लागत उत्पादनलाई समेत प्रवद्र्धन गरिएको छ । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । कार्यक्रममा २० वटा स्टल राखिएको थियो । जसमा फरक स्थानका फरक वस्तुहरु प्रदर्शन गरिएको थियो । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता थियो । कोइकाका उपाध्यक्षको समेत उपस्थिति थिए । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।
काठमाण्डौ: उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको ज्यान गएको छ । हिजो दिउँसो ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएको हो । प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उहाँलाई ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगे पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।
डडेल्धुरा: डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन।
डोल्पामा मंगलबार भेटिएको शव गुल्मपति बिमल पण्डितकै भएको पुष्टि भएको छ। मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ चिन्डेबगरमा उनको शव माछा मार्न गएका स्थानीयहरूले फेला पारेका थिए। लगत्तै उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए। डोल्पाका प्रहरी प्रमुख, डिएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। ‘मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव बगाएर ल्याएको छ भन्ने खबर आयो। नेपाली सेना र प्रहरीहरू त्यहाँ पुगेर शव निकालेर सदरमुकाम ल्यायौं। धेरै दिनदेखि शव पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन सकेन। सदरमुकाम ल्याएपछि उहाँको बुवाले शवको पहिचान गर्नुभयो,’ डिएसपी बुढाथोकीले जानकारी दिए। सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए। डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए। ‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ। वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ।’ सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ। उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन्। चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए। पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ। त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए। लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए। गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो। उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए। गाडीमा चढेका बेला उनको दुई–तीन पटक फोन आएको थियो। सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन्। उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो। सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पुर्याइदेउ’ भनेका थिए। तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ। ‘उहाँको मोबाइल ७ः१५ बजेसम्म एक्टिभ देखिएको थियो। त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने।
पोखरा: पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भाद्र २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेका हुन् । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराइएको छ । कोइकाका उपाध्यक्षको समेत उपस्थिति रहनेछ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।
पाेखरा: अष्ट्रेलियाले आफुलाई ‘कालो सूचीमा राखेको’ भन्ने भ्रामक खबर फैलाएको भन्दै कास्की निवासी गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरी साइबर ब्यूरो काठमाण्डौंमा पठाइएको छ । गायिका अधिकारीले भदौ १० गते जिप्रका कास्कीमा उक्त भ्रामक खबर फैलाउने ४ फेसबुक पेजविरुद्ध भ्रामक खबर फैलाएको र आफुलाई मानसिक यातना दिएकाले कानूनी कारवाही र पेज आइडी बन्द गरिपाउँ भनि निवेदन दिएकी थिइन् । नेपाल प्रहरीले साइबर ब्यूरोसम्बन्धित उजुरी जिल्लामै दर्ता गर्न सकिने व्यवस्था गरेपछि कास्कीको माछापुच्छ्रे निवासी अधिकारीले यहाँ निवेदन दिएकी थिइन् । निवेदन प्राप्त भएपछि प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जनाएका छन् । यसबाहेक कास्कीमा साइबर ब्यूरोसम्बन्धित अन्य निवेदन नआएको प्रवक्ता विकले जनाए ।

