नवलपुर जिल्लाको बुलिङटार वडा नंं २ मेलौरीका टेक बहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न थाल्नु भएको छ। पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाँडा पालनमा भविष्य देख्नु भएको हो । दुई बर्ष साउदीको होटलमा वयटर र साढे तीन बर्ष मलेसियामा सुरक्षा गार्डमा काम गरेको बताउँदै उहाँले विदेश छोडेर परिवारसंगै वसेर उन्नत जातका भैसीका पाडा पाल्न शुरु गरेको जानकारी दिनुभयो । कालिगण्डकी करिडोरको आशपासमा र सो क्षेत्रमा बाँझिएको जग्गामा दशवटा पाडा चराउदै गरेको अवस्थामा भेटिनु भएका लुङदेलीले रासससंग भन्नुभयो, “एक बर्षअघि दुई लाख ४० हजारमा खरिद गरेका ११ वटा पाडा मध्ये एउटा मरेको र हुर्केका १० वटा विक्री गरेर छ लाख भन्दा बढी आम्दानी गर्ने लक्षय छ ।” “नलवपुरको डेढ गाउँ र आशपासमा सवै भन्दा बढी राँगाको मासु विक्री हुने गरेको छ” ३५ बर्षीय लिङदेलीले भन्नुभयो, “प्रजननका लागि राँगा बिक्री गर्ने पहिलो प्राथमिकतामा राखेको छु नभए आगामी दशै पर्वमा काटेर मासु विक्री गर्ने सोचमा छु ।” मलेसियामा १२ घण्टा सुरक्षा गार्ड गर्दाको दुख सम्मेर स्वदेशमा नै केहीगर्ने सोच बनाएर फर्केको बताउँदै उहाँले परिवारले समेत विदेशमा जान नदिएपछि श्रीमती मनुमायाको सल्लाह अनुसार पाडा पालन शुरु गरेको बताउनुभयो । हुर्केका राँगाको मासु विक्रीबाट मात्र हैन मलले खेत वारीमा उत्पादन समेत बृद्धि भई दोहोरो फाईदा हुने गरेको छ । विदेशमा कमाएको ६५ हजार खर्च गरेर जग्गालाई चक्लावन्दि गरेको खेतमा यतिखेर दोव्वर धान उत्पादन भएको उहाँले बताउनुभयो । साना गरा हुँदा खर्च बढि हुने र मल बगाउने र पानी समेत नपुग्ने दुखेसो सुनाउँदै उहाँले थप्नुभयो, “ठुरा गरा र प्रसस्त पशुको मल राखेपछि एक हप्तासम्म पनि पानी अडिने गरेको छ ।” खेतमा धान निक्कै राम्रो भएको छ गोड्ने समयमा मात्र युरिया मलको प्रयोग गरेको उहाँको भनाई छ । उहाँले राँगासंगै दुई हल गोरु पनि चराउँदै आउनु भएको छ । गोठमा चारवटा बाख्रा र दुईवटा खशी रहेका छन् । सो क्षेत्रमा अहिले पनि खेत वारी जोत्नका लागि ट्रयाक्टर भन्दा गोरुको प्रयोग बढी हुँने गरेको छ । उहाँको सो क्षेत्रमा १२ हलको खेत र दुई हलको वारी रहेको छ । कालिगण्डकी करिडोले पूर्व पश्चिम राजमार्गको गैडाकोटस्थित कालिगण्डकीचोक र तनहुँको घिरिङ हुदै भिममादसम्मको बाटो खुलेपछि उक्त क्षेत्रको उर्वर फाँटमा उत्पादित कृषि उत्पादन बजारिकणमा सुविधा पुगेको छ, कोरला, पोखरा–त्रिवेणी सडक सञ्चालन हुन सके यस क्षेत्र सहित गण्डकी प्रदेशको समृद्धिको आधार बन्ने उहाँको विश्वास छ । दुधको लोभले पाडापाडी नहुर्काउने र भारतवाट लाखौ रुपैयामा तिरेर भैसी खरिद गर्ने हाम्रो समाजमा यस्ता विदेशबाट फर्केर व्यवसायिकरुपमा पाडापाडी पाल्ने युवालाई तीनै तहका सरकारवाट प्रोत्साहन गरिनु पर्नेमा स्थानीयको सामुहिक आवाज रहेको छ ।
सङ्खुवासभा: अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिनुभयो । बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडाँै पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोखे्रलको भनाइ छ । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दाबढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएका र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दे आएको छ । रासस
ओखलढुङ्गा: ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो । दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर उनी घाइते भएका थिए । गम्भीर घाइते अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो । प्रहरीले कटुवाललाई बुधबार साँझ पक्राउ गरेर घटनाबारे अनुसन्धान थालेको छ । रासस
काठमाण्डौ: काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो । डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीले खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएको छ ।
पोखरा: पोखरा १ कस्केरीका मनध्वज तामाङ भदौं ६ गते माछा मार्न सेती नदीमा बल्छी हानिरहेका थिए । माछामा नजर लगाइरहेका मनध्वजले अचानक दाई सन्तोष तामाङ सेती नदीमा बगिरहेको देखे । आफ्नो दाई नदीमा बगिरहेको देखेपछि उनले नजिकै रहेका सादा पोशाकका प्रहरीलाई उद्धार गर्न सहयोग मागे तर सहयोग पाएनन् । ति सिआइडीको टोलीले ३ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगरको भ्यानमा राखे । त्यसपछि लागुऔषधको कारोबार भएको कुरा मनध्वजले चाल पाए । त्यही समूहमा सन्तोष तामाङ पनि थिए । सिआइडीले लागुऔषध कारोबारीलाई खेदेपछि सन्तोष डराएर सेती नदीमा हाफ फालेको स्थानीयको भनाइ छ । एसपी खनालको नेतृत्वमा छानबिन समिति सन्तोष तामाङको फोन साथीले प्रयोग गरेर अर्को साथीलाई सम्पर्क गरिरहेका थिए । साथीले कस्केरीतिर जाऔं भनेपछि त्यहाँ गएको र लागुऔषधको कारोबार बारे सन्तोष बेखबर रहेको स्थानीयहरुको तर्क छ । तर प्रहरीले त्यो कुरालाई स्वीकार गरेको छैन । गल्ती नभए सन्तोष सेती नदीमा हाम नफाल्ने प्रहरीको जिकिर छ । त्यसैले सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय गण्डकीले छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ । ‘बेपत्ता सन्तोषको अझैपनि अवस्था अज्ञात नै छ । खोजीकार्य भइरहेको छ र परिवारलाई पनि समन्वय गरिरहेकै छौ, जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले भने, ‘घटनाको सत्यतथ्य पत्ता लगाउने गरी प्रदेशबाट एसपी साबको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रहरी उपरीक्षक केदार खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । अझै भेटिएनन् सन्तोष सेतीमा पसेका सन्तोषको खोजीकार्य तिब्र पारिएपनि अझै पनि उनको अवस्था अज्ञात छ । उनी सेतीमा बगेको भाई मनध्वजले पुष्टि गरेपछि खोजी गर्न वडा प्रहरी बगरमा सन्तोषका परिवारले निवेदन दिएका थिए । त्यतीमात्र नभइ आफ्नो दाई सिआइडीले लखेटेकै कारण सेतीमा हाम फाल्न बाध्य भएको आरोप लगाउदै दुई वटै सादा पोशाकका प्रहरी (सिआइडी) लाई कारवाही गर्नुपर्ने तामाङ परिवारको माग छ । परिवारको माग अनुसारनै सशत्र प्रहरी बलको टोलीसँगको सहकार्यमा खोजी कार्य जारी रहेको डिएसपी श्रवण कुमारले बताए । ‘खोजी कार्यका लागि परिवारले प्रहरी कहाँ निवेदन दिएको छ, परिवारले निवदेन नदिएपनि यस्तो अवस्थामा प्रहरीले खोजी कार्य गर्नु कर्तव्य नै हो, उनले भने, ‘हामीले व्यापक खोजी गरिरहेका छौ ।' उनले सो घटनामा जोडिएका २ जना सादा पोशाकका प्रहरीलाई छानबिन समितिको प्रतिवेदन नआउन्जेल जिम्मेवारीबाट हटाइएको बताए । ‘अनुसन्धानका लागि छानबिन समिति नै गठन भएको छ । उहाँहरुको प्रतिवेदन नआएसम्म कारवाही स्वरुप अहिले जिम्मेवारीबाट हटाइएको छ,’ डिएसपी श्रवण कुमारले भने । तीनजनामाथि अनुसन्धान जारी गत ६ गते लागुऔषधसहित पक्राउ परेका तीनैजनामाथि अनुसन्धान जारी रहेको डिएसपी श्रवण कुमारले बताए । ‘छानबिन समितिले आफ्नो तरिकाले काम गरिरहेको छ । बेपत्ता सन्तोषको खोजी कार्य पनि जारी छ, उनले भने, ‘यता लागुऔषधसहित पक्राउ परेका तीन जनामाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरु हाम्रो नियन्त्रणमै छन् ।’ लागुऔषध कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी प्रावधान रहन्छ । वडा प्रहरी कार्यालय बगरको टोलीले गत भदौ ६ गते पोखरा १ जौबारी मुनी सेती नदीको तिरबाट लागुऔषधसहित पोखरा २५ का विरेन्द्र शर्मा, सोही स्थानकै सविन आलेमगर र एक जना नाबालगलाई पक्राउ गरेको थियो ।
प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका- १० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए। जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो।
गण्डकी: भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए। चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलवार बिदाइ गरे। झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो।’ प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले सुनाए। अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ। भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ। सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ। सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे। दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए। तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए। सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ। ‘सोमवार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ’, सचिव घर्तीले भने, सुँगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ।’ सोमवार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो ९कूल० घरमा हुन्छ। राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ। स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन्। घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो। पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ। बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ। उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ। पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु ९उखुरधुम० पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ। लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन्। लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन्। गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ। गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ। गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन्। खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ। पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ। वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ। बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ। जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताए। बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ। गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ। कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ। उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ। पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ। गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ। बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ। एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन्। पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन्। समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ। बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन्। हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन्। युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस। यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ। कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन्। ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ। युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ। अन्तिममा एक पक्षले जित्छ। जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन्। युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ। अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ। यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन्। पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ। समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ। गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ। छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए। ‘भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ’, उनले भने, ‘परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ।’ पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ। परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताए। विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ। सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ। सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ। घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन्। आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ। सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताए। ‘भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन’, उनले भने, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ।’ भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताए। उनका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ। हिलमा गत साता सो पर्व मनाइएको थियो। अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ। ‘भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ’, संस्कृतिकर्मी घर्तीले भने, ‘यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन्।’
पोखरा: नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका भागिदार र गल्ती गर्नेहरु एमालेका नेता कार्यकर्ता हुन नसक्ने वताउदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्ने स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । केही केही सहकारी र त्यसका सञ्चालकहरु नै सुदखोर जस्ता भएको वताउदै एमाले सचिव विष्टले त्यस्ता ब्यक्ति र संस्थाले सहकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गरे । ‘कमजोरी जहाँ छ, समस्या जहाँ छ, त्यहाँ समाधान पनि छ । हरेक ठाउँमा देखिएका समस्या समाधानको पहलकद्मी एमालेका नेता कार्यकर्ताले लिनुपर्दछ । गल्ती गर्नेलाई कारवाही गर्नै पर्दछ’ विष्टले भने । ‘मिश्रित अर्थव्यवस्था र तीन खम्बे अर्थनीति एमालेको कार्यक्रम हो तर यसको सही प्रयोग र प्रचार गर्न सकिएन ।’ नेता विष्टले भने, ‘समाजवादमा पुग्न श्रम सहकारी बनाएर त्यसमा आवद्ध श्रमिक सदस्यहरुलाई उत्पादनमा जोड्नै पर्दछ । उर्जा र हाईड्रोमा लगानी गर्न लगाएर इक्युटी मार्फत श्रमिकलाई मालिक बनाउन सकिन्छ ।’ कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सवै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिए । सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकास समबन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले काँग्रेस र माओवादी सहकारी विरोधी भएको आरोप लगाए । पार्टीका प्रदेश उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य मन कुमारी जिसी, सहकारी अभियान्ता मिनराज कँडेल, ओमदेवी मल्ल ठकुरी, परीतोस पौडेल,भेषराज बराल लगायतले सहकारी आन्दोलन, अहिले देखिएका समस्या र समाधानका उपाय, नेपालको अर्थतन्त्रमा सहकारीको योगदान लगायतका विषयमा वोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले प्रदेश सचिव धनन्जय दवाडीले गरेका थिए । भेलाको उदेश्य बारे एमाले गण्डकी प्रदेश सहकारी विभाग प्रमुख महेन्द्र लाल श्रेष्ठले प्रकाश पारेको एमाले गण्डकी प्रदेश प्रचार बिभाग उप प्रमुख पुण्य पौडेलले जानकारी दिए।

