पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र नेपाल र बेलायतमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र हङकङमा अगष्ट ३० तारिखमा प्रदर्शन हुने भएको छ ।  ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज हङकङको सहयोगमा अगष्ट ३० तारिखमा जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा बेलुका ८ बजे प्रदर्शन हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।  ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्र घान्द्रुक, पोखरा, काठमाडौंसहित बेलायतको तीन शहरमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘घान्द्रुकको (कोँड नाश)वृतचित्रलाई नेपाल र बेलायतपछि अगष्ट ३० तारिखमा हङकङमा प्रदर्शन गर्दै छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुकको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । लामा अमृत फाउण्डेशनले घान्द्रुक लगायत देशको विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।   

पोखरा:   ‘समानताको लागि आवाज’ मुख्य नारा लिएर स्थापना भएको ‘आवाज’ पछिल्लो समय समाज परिवर्तनमा काम गर्दै आएको छ ।  २०७७ साउन २० गते स्थापना भएको ‘आवाज’ संस्थाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  आवाजका अध्यक्ष प्रकाश सुनारले संस्थाले पछिल्लो एक वर्षमा ३० वटा बैठक, २२ वटा सचेतात्मक तथा साक्षरता, स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस्तै आवाजले विभिन्न दुईवटा घटनामा पीडितको पक्षमा सशक्त आवाज उठाएको जनाएको छ ।  आवाजले पछिल्लो एक वर्षमा समयमा गरेको विभिन्न कार्यक्रममा सामाजिक विभेद, राजनीतिक विभेद, आर्थिक विभेद, कानुनी विभेद र शैक्षिक विभेद गरेको पाइएको जनाएको छ । 

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।   वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए।   उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए।   वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए। 

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ६ वटा घर पहिरोको जोखिममा परेका छन् ।    कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार, दीपक परियार र रमेश बस्नेतको घर पहिरोको जोखिममा परेको हो ।    यस्तै, झरीका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रवार  आज बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा गाडी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो ।   सडक अवरुद्ध हुँदा खोटाङबाट काठमाण्डौ तथा पूर्वी सहर आवतजावत गर्ने गाडी बीच बाटोमा रोकिएका छन् । एक्स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको छ । सडक खुलाउनका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ ।    असार १५ गतेदेखि जिल्लाको सबै कच्ची सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बाग्मती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरूप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताउनुभयो ।   प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआईसीयू र आईसीयूबाहेक शय्या निःशुल्करूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईंले बताउनुभयो । यसअघि अस्पतालले प्रतिबेड प्रतिदिन दुई सय रुपैयाँ शुल्क लिँदै आएको थियो ।   यो निर्णयसँगै बाग्मती प्रदेशका १३ वटा जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ शय्याबाट निःशुल्क सेवा पाउन थालेका हुन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनःस्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्करूपमा उपलब्ध गराउन शुरु गरिएको छ ।   प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धि गर्न प्रदेश सरकारले अस्पतालका शय्या निःशुल्क गर्ने निर्णय गरेको र कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।   उहाँले सरकारले निःशुल्क गरेको सेवा लिनलाई नागरिकलाई आग्रहसमेत गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले बाग्मती प्रदेशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्गता भएका, विपन्न बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न निर्देशनसमेत दिएको छ ।

म्याग्दी:  धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।    मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार परियोजना बगाउँदा चार बस्तीका तीन सय ७० परिवारको जनजीवन प्रभावित भएको छ ।    “नहरको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको छ”, उहाँले भन्नुभयो, “पेनस्टक पाइप, विद्युत्गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।”   विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना  २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।   केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताउनुभयो । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चाँर्ज गर्न, ल्याबटप, कम्प्युटर चलाउन समस्या भएको छ ।    विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ । पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्याक्रममार्फत रु दश लाख खर्च भएको थियो । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।    “नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि रु २० करोड बजेटको ठेक्का सम्झौताको तयारी छ”, उहाँले भन्नुभयो, “लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौ ।”  रासस

गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले संस्थाकै संस्थापक सहसचिव चन्द्रबहादुर गुरुङ (सिबी)लाई गाली, बेइज्जतीमा फिरादपत्र दायर गरेका छन् ।    अध्यक्ष गुरुङले सहसचिव सिबी र राम गुरुङलाई विपक्षी बनाई उनीहरुमाथि कारवाही र क्षतिपुर्ति दाबी गर्दै आइतबार स्याङजा जिल्ला अदालतमा फिरादपत्र चढाएका हुन् । फिरादपत्रमा गुरुङले आफ्नो स्वास्थ्यवस्था एवं पेशागत जीवनमाथि गम्भीर आघात पु¥याएको उल्लेख गरेका छन् ।      फिरादपत्रमा सिबी र रामले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ अन्तर्गत गाली, बेइज्जतीको कसुर गरेको उल्लेख छ । सिबीले ट्रष्ट परिसरमा साउन २६ गते अध्यक्ष गुरुङले प्रोष्टेस्ट क्यान्सरको बिरामी र ट्रष्ट निर्माणकानाममा विदेशबाट ८० लाख रुपैयाँ उठाएको र हिसाबकिताब नदेखाएको आरोप लगाएका थिए ।    त्यस्तै, आफु र कानूनी सल्लाहकारमाथि भौतिक आक्रमणको धम्की दिइएको पनि गुरुङले उल्लेख गरेका छन् । सिबीले ट्रष्ट परिसरमा सहभागीलाई गरेको सम्बोधनमा गुरुङ गेसो र ट्रष्टको अध्यक्षमा एकलौटी र जबर्जस्ती हावी हुन खोजेको भन्दै पैसा उठाएर अपचलन गरेको उल्लेख गरेका थिए ।    अदालतमा चढाइएको फिरादपत्रमा गुरुङले सिबीविरुद्ध ३ वर्ष कैद, ३० हजार रुपैयाँ जरिवाना र ५ करोड रुपैयाँ क्षतिपुर्ति माग गरेका छन् । साथै, अर्का प्रतिवादी रामविरुद्ध १ वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र १ करोड रुपैयाँ क्षतिपुर्तिस्वरुप भराइपाउँ भनि उल्लेख गरेका छन् ।      फिरादपत्र दर्तापश्चात अदालतले दुबै प्रतिवादीलाई असोज २५ गते बिहान १० बजे हाजिर हुन तारिख पर्चा काटेको छ ।    गोरखा स्मारक निर्माणाधीन अवस्थामै करिब ४ वर्ष अघिदेखि अध्यक्ष गुरुङ र सिबीबीच द्वन्द्व सुरु भएको हो । त्यसबेला गुरुङले राजधानीमै पत्रकार सम्मेलन गरी आफुलाई बिना जानकारी सिबीले पर्यटन विभागबाट रकम लिएको बताएका थिए । ट्रष्टका पदाधिकारीले आफुखुशी पैसा उठाउन थालेपछि अध्यक्ष गुरुङले छानबीन अघि बढाइने बताएका थिए ।      विवादकैबीच सिबी समूहले गुरुङलाई हटाई उपाध्यक्ष जंगबहादुर गुरुङलाई अध्यक्षमा चयन गरेपछि गुरुङ त्यसबेला पनि अदालत पुगेका थिए ।      यसैबीच गुरुङले भूपू सैनिकको लगानीमा बनाउन सुरु गरिएको ट्रष्टमा सरकारले डाँका शैलीमा अतिक्रमण गरेको आरोप लगाएका थिए । त्यसबेला गुरुङले सांसद कोषबाट १० लाख, पर्यटन विभागबाट ५० लाख र सहरी तथा भवन निर्माण मन्त्रालयमार्फत ५ करोड रुपैयाँ विनियोज भएको जनाएका थिए ।    यही आरोप–प्रत्यारोपबीच सिबीले गाली, बेइज्जती र मानहानी गरेको भन्दै अध्यक्ष गुरुङ गत आइतबार फिरादपत्र बोकेर वकिलसहित अदालत पुगेका हुन् । 

पूर्व- पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो।   विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ । 

दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।   हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।   सुन चीनबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो ।   सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।