विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सुनिल थापा नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २ बजे ज्यान गएको हो । यस्तै तुलबहादुरकी आमा ५० वर्षकी डिली सार्की गम्भीर बिरामी हुनुहुन्छ । उहाँको नलगाड नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर नेपालीले बताउनुभयो ।
चितवन: नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। आज बिहान नारायणी नदीको पुलबाट हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धारपछि उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । नदीमा हाम फालेकी महिलाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।
काठमाडौं- एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्। प्रहरीले उनीविरुद्ध जातीय घृणा तथा द्वेष फैलाउने कसुरमा अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। अधिवक्ता पाण्डेले तामाङ र मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र यसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्। तामाङ तथा मगर समुदाय घृणा र द्वेष फैलाउने खालको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको हाे। तामाङ तथा मगर समुदायका व्यक्तिबारे गलत अभिव्यक्ति दिएको भन्दै उक्त समुदायका व्यक्तिहरुले बुधबार काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन गरेका थिए।
रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गौर नगरपालिका-३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्। उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यसरी सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजी गरी अन्सारीलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पोखरा: ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’ सोमबार दिउँसो पामे फाँटको प्यारा ल्याण्डिङ जोनमा झरेपछि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले पत्रकारहरुमाझ आफ्नो साहस पस्किइन् । ‘आज एउटा सपना पुरा भएको छ । मैले बादल छोए र हिमाल देखे, फेवाताल नियाले,’ उनले थपिन् । सृष्टीसँग आँखा छन् तर त्यो आँखाले संसार देख्न छाडेको करिब १३ वर्ष बितिसकेको छ । सृष्टिलाई १६ वर्षको उमेरसम्म सेतो छडीको आवश्यक थिएन । पछि उनले आँखाको ज्योति गुमाइन् र दृष्टिबिहीन बनिन् । उनै सृष्टि ब्लाइन्ड रक्स नेपालको संस्थापक अध्यक्ष बनिन् । संस्थाको नेतृत्वको जिम्मेवारी पाएसँगै उनको एउटै धेय छ, फरक क्षमता भएका (दृष्टिबिहीन) हरु पनि अन्य अन्य नागरिक सरहनै अब्बल हुन्छन् भन्ने सन्देश दिने । त्यसैले उनलाई चुनौती सामना गर्न औधी मन पर्छ । विशेषगरी शाहसिक गतिविधिमा रुचि राख्ने उनी आफुसँगै अन्य दृष्टिबिहीनहरुलाई पनि हातेमालो गर्दै रक क्लाइम्बिङ र र्याफ्टिङको अनुभव बटुले । त्यसपछि ब्लाइन्ड रक्सको टोलीलाई पोखराको आकाशमा उड्ने हुटहुटी बढ्यो र सोमबारको सेडुअल बन्यो । यो पनि पढ्नुहोस पोखराको आकाशमा ‘ब्लाइन्ड रक्स’ (फोटोफिचर) सृष्टिसँगै अन्य ११ जना (सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे, क्रिष्टोफर जे जोन्स र थोमस सिड्लिङ (विदेशी), अमीता खड्का, वासिम अन्सारी र सहबाज अन्सारी) पोखराको खुला आकाशमा उडे । प्याराग्लाइडिङ गरे । जोसँग आँखाको दृष्टी नभएपनि मन र आत्माको दृष्टिले खुलेका हिमाल देखे, फेवाताल हेरे । यो कुरा सृष्टिले अवतरण पश्चात अनुभवमार्फत सुनाइन् । ब्लाइन्ड रक्सको अन्य टोलीले पहिलोपटक प्याराग्लाइडिङ गरेपनि सृष्टीले भने दोस्रो पटक प्याराग्लाइडिङको अनुभव बटुलिन् । उनीहरुलाई यो अवसर नेपाल हवाई खेलकुद संस्था (ना), लायन्स क्लब, पोखरा महानगरपालिकाले जुटाइदिएको हो । ‘हामीलाई यो अवसर जुटाइदिनुहुने ‘ना’ टिम, लायन्स क्लब र पोखरा महानगरपालिकाको मेयर सरप्रति आभारी छौ, उनले भनिन्, ‘दृष्टिबिहीनहरु पनि शासहिक गतिविधिमा सहभागि हुन सक्छन् भन्ने सन्देश दिन पायौ । यो अवसरका लागि धन्यवाद पोखरा ।’ सृष्टिसँग प्याराग्लाइडिङको अनुभव भएपनि त्यो महसुस अन्य साथीहरुलाई पनि गराउनु थियो । त्यसैले आफ्नै जोडबलमा सेडुअल बनाएको बताइन् । ‘यो भन्दा अगाडि पनि मैले प्याराग्लाइडिङ गरेको थिए, मैले त्यो बेलाको उत्साह सुनाएको भए उनीहरु सुन्नी मात्र थिए तर उनीहरु आफैले पनि महसुस गर्नुपर्छ भनेर यो सेडुअल बनाएका हौं,’ उनले भनिन् । ब्लाइन्ड रक्सको प्याराग्लाडिङले समावेशी पर्यटन प्रर्वद्धन गर्न टेवा पुर्याउने बताइन् । ‘शारीरिक अपाङ्गता भएको नागरिकलाई हेर्ने दृष्टिकोण समाजमा फरक छ’, केसीले भनिन्, ‘समावेशी पर्यटनको विकास गर्नका निम्ति नै प्याराग्लाइडिङ गरेका हौं । यसले केही सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’ उनले जीवनमा सफलता प्राप्त गर्न दृष्टि मात्रै बाधक नहुने बताउदै भनिन्, ‘जीवनको उचाइमा पुग्न, सफलता हाँसिल गर्न दृष्टिबिहीनतामा सिमित हुनुहुदैन । त्यो भन्दामाथि उठ्न सक्छौ, उड्न सक्छौ त्यसैले जीवनमा सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’
जनकपुरधाम: सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए । आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।
पोखरा: गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौति’ विषयक प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाल सारथि फाउन्डेसन र इक्नोमिक्स हब नेपालको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जित प्रकाश आलेले महिला स्वयम् सशक्तिकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुष भन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नुभन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्यमात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उदेश्य प्राप्ती हुने बताए । यस्तै पोखराका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सद्यैँ काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए । सारथि फाउन्डेसनका सिइओ आयुष अधिकारीले प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए । शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफुहरुले लामो समयदेखी महिलाको आवाज वुलन्द पार्दै आएको सुनाइन् । दुरदराजका महिलाहरु अझैपनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पुर्ण सहभागिता हुन नसकेको उनको भनाई छ । कार्यक्रममा लक्ष्मी दाहाल, डा विनोद विन्दु शर्मा, मोतिलाल तिमिल्सिना, डा अञ्जली सुवेदी, डा सरस्वती, विना सिवाल, कोपिला नेपाल डाइरेक्टर शोभा भण्डारि लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा शुभारम्भ नेपाल, योंग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर, स्वास्थ्य र कानुनका विषयमा अन्तरक्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
पोखरा: रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए । कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् । विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए । विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत मन्तब्री राख्दै अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गरेका थिए। सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले मन्तव्य दिएका थिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ ९कम टु लर्न, गो टु सर्भ० को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ । विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
पोखरा : कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । नाटकलाई पहिलो दिन ‘प्रिमियर शो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक अब भने ‘बुकिङ शो’ मार्फत मञ्चन हुने भएको छ । जसका लागि पोखराका विद्यालयबाट ‘शो बुक’ हुने क्रम सुरु भैसकेको पोखरा थिएटरले जनाएको छ । नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । भीमनिधि तिवारीले लेखेको कथा र एकांकीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा नाटक तयार भएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताए । यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानिय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उनको भनाइ छ । ‘यो नाटकले विद्यार्थीको लागि व्यवहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ’ पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनले भने । नाटकलाई सुन्दर बनाउन रमेश बाबु तिमल्सिनाले प्रकाश परिकल्पना, रञ्जु दाहालले ध्वनि परिचालन, सुसन पौडेलले प्रकाश परिचालन, दिप्सना विश्वकर्माले कस्टुम म्यानेजर, सोनिया कार्की खत्रीले आर्टिष्ट म्यानेजरको रुपमा सघाएका छन् । यसैगरी पोष्टर तथा स्केचमा अमृत परियार र मनोज तामाङ्ग, डिजाइनमा दयाराज ढुंगाना, मञ्च व्यवस्थापकमा रोशनी रामदाम, बजार व्यवस्थापकमा प्रकाश पराजुली, मञ्च निर्माणमा धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठ तथा बक्स अफिसमा रहेर शुभेक्छा शर्माले साथ दिएका छन् ।

