पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

मकवानपुर:  चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।   प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 

काठमाडौं:    आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउनुहुन्छ ।  यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।  साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।  ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।  चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।   नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

कर्णाली नदीमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्।   शनिबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।    उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार बेपत्ता बालिकाको खोजी भइरहेको छ।  

काठमाण्डौ:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गएको असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।    यस अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ ।   यस अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ ।   सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ । 

पोखरा: गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् ।   “वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच वर्षको मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पालिकालाई समृद्ध बनाउने कार्य सुरु भएको उपाध्यक्ष घर्तीमगरले बताए । “बार्हौ गाउँसभाबाट मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पाँच वर्षको आवधिक योजना बनाएका छौ”,उनले भने,“यसै योजना मार्फत पालिकाको नारामा उल्लेख गरिएका मुख्य विषयहरुलाई प्राथमितामा राखेर पुरा गर्ने कसरत गरेका छौ ।”   स्थानिय सरकारले कृषि रणनीतिक योजना मार्फत पालिकालाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरि आलुखेतिलाई प्राथमिता दिएको छ । पालिकाभर परम्परागत शैलिमा हुदै आएको यसखेतिको तथ्याङ्क संकलन कार्य जारी रहेकोले त्यपछि यसको उत्पादकत्व बढाउने,बजारीकरण गर्ने लगाएतका योजना बनाउने उनले बताए । पालिकामा विशेषगरि बर्खे र हिउदे गरि दुई सिजनमा आलु उत्पादन हुदै आएको छ ।   उपाध्यक्ष घर्तीमगरका अनुसार पालिकालाई तेलमा पनि आत्मनिर्भर बनाउने उद्धेश्यले गत वर्ष परिक्षण स्वरुप पहिलो पटक प्रत्येक कृषकलाई सुर्यमुखिको विउ वितरण गरिएको छ ।   यो अभ्यासले राम्रै उत्पादन दिने आशा पलाएको र तेल पेल्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउने योजना रहेको छ । साथै निसीखोलाका निसेलढार लगाएत केहि उच्च स्थानमा स्याउ खेति हुदै आएकोले बाँकी स्थानमा यो खेतिको अभ्यास गरि पालिकालाई स्याउ पकेट क्षेत्र विस्तार गर्ने क्रम जारी रहेको र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ ।   “हाम्रो पालिकामा ४ हजार उचाई भन्दा माथि पर्ने भुगोल छन्,निसेलढोर लगाएत उच्च स्थानमा स्याउखेति हुदै आएको छ”,उपाध्यक्ष घर्तीमगरले भने, “हावापानी र सुहाउदो माटो अनुसार बाँकी ठाँउमा पनि स्याउ पकेट क्षेत्र विस्तार गर्ने यस वर्ष १० लाख बजेट विनियोजन गरेका छौ ।”   अवको ५ वर्षमा स्थानिय सरकारले भांगो खेति,तेलहन खेति,स्याउ,आलु,मकै,जौँ,गहुँ लगाएत रैथाने बालीको संरक्षणमा जोड दिदै आत्मनिर्भरताको कदम चालेको छ । “कृषि र पशुपालनमै आश्रित यहाँका स्थानियले उत्पादन गरेको वस्तुले राजधानी काठमाडौँसम्मको बजार धान्न सक्ने क्षमता छ,उनले भने, “अझै उत्पाकत्व बढाउने र बजारीकरण गरि स्थानियको आयआर्जनलाई सुनिश्चित गर्न स्थानिय सरकारले हरपर्यत्न कोसिस गरिरहेको छ ।”   समुन्द्रि सतहबाट ८ सय ८९ देखी ४ हजार मिटर सम्मको उचाईमा र २४४.३७ वर्ग कि.मी. क्षेत्रफल फैलिएको निसीखोला गाउँपालिका प्रशस्त हरियो घाँसे मैदान र चरिचरणको सुव्यवस्थित भुगोल समेत हो ।   प्रशस्त चरिचरणको भौगलिक सु–व्यवस्थाकै कारण हाल करिव २५ हजारको संख्यमा भेडाबाख्रासंग कृषकहरु आवद्ध रहको उनको दावी छ । किसानलाई प्रत्साहन गर्नका लागि अवको एकवर्षमा संघ सरकारबाट उपलब्ध भएका कृषि तथा पशुमा आधारित विभिन्न अनुदानका कार्यक्रमलाई लागु गर्ने स्थानिय सरकारले तयारी गरेको उनले बताए ।   “स्थानिय सरकाले यो वर्षदेखि कृषकलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा छ,यो सेवा प्राप्त गर्नका लागि कृषकहरु पालिकाको सम्पर्कमा आउनुपर्छ,” उनले भने,“हाम्रो पालिका जिल्लाको निकै विकट भुगोलमा पर्छ,पर्याप्त सुचनाको सुविधा छैन र वास्तविक कृषकलाई फुर्सद नभएकोले सेवाको पहुँच सम्म आउन समस्या छ,त्यसैले अव छिट्टै हामी नै स्थलगत रुपमा कृषक कहाँ पुगेर तथ्याँक संकलन गरि उनीहरुलाई सेवाको पहुँचमा ल्याउने योजना बनाएका छौ ।”   स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि यहाँका कृषकको आवश्यकता र भोगोलका दृष्टिले के–कस्तो कार्यक्रम ल्याउन सकिन्छ त्यसको विषयमा पालिकाले स्थानियसंग छलफल,अनुसन्धान र अभ्यास जारी राखेको उनले बताए ।  

खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् ।   इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ ।   दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।   जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:  एक टिभी शाेमार्फतजातिय सद्भाव भड्काउने खालकाे अभिव्यक्ति  दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।   पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।   उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ।  अहिले पक्राउ पुर्जी जारी भएकाे छ।’   पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।   यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै  अभिव्यक्ति  दिएकी थिइन् ।     सो विषमा मुस्लिम समुदायले बेवास्ता गरेपनि नेपालको तेस्रो ठुलो जनसँख्या रहेको मगर समुदाय र तामाङ समुदायमा आँच पुगेको भन्दै चौतफी विरोध भएको थियो । त्यसपछि सदनमा सांसद​ इश्वरी घर्तीमगर र शुशिला तामाङले पाण्डेलाई कारवाहीको माग गरिएको थियो ।

काठमाण्डौ:  राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रवार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यस अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो ।   राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले त्यस क्षेत्रको जानकारी गराउनुभएको थियो ।

डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्।   आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।   उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा हाम फालेको भन्ने अनुमान गरिएको छ। यद्यपी, प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली खटाएको डिएसपी भट्टले बताए।   मृतक साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।   मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्।