दार्चुलाको खलङ्गा–दल्लेख सडक खण्ड ठाउँठाउँमा अवरुद्ध हुँदा तरकारी किसानलाई ढुवानीको समस्या भएको छ । बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएको तरकारी सदरमुकाम ल्याउन समस्या भएको हो । गएको असार दोस्रो हप्तादेखि खलङ्गा–दल्लेख सडक बन्द छ । ठाउँठाउँमा पहिरोले बन्द भएको सडक अहिलेसम्म खुलेको छैन । सडक नखुल्दा मुख्य गरी तरकारी किसान मर्कामा परेका छन् । गाउँमा कोही बिरामी परे स्ट्रेचरमै बोकेर ल्याउनुपर्ने हुन्छ । काम विशेषले सदरमुकाम आवतजावत गर्नेलाई पनि समस्या छ । दैनिक उपभोग्य सामाग्रीको ढुवानीसँगै तरकारी ढुवानीमा असहज भएको स्थानीय धनसिंह सितोलीले बताउनुभयो । सडक नखुल्दा गाउँमा खाद्यान्नको अभाव हुने चिन्ता बढेको छ । अहिले नौगाड गाउँपालिका–२ दल्लेखका झण्डै ७० घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । त्यहाँका पाँच सय भन्दा धेरै किसानहरुको बारीमा तरकारी छ । तरकारी बारीमै कुहिने चिन्ता बढेको अर्का किसान माधवसिंह मन्यालले गुनासो गर्नुभयो । अहिले खलंगादेखि सेलासम्म सडक पूर्णरुपमा अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै महाकाली नगरपालिकाको काटै, सेला, मैखोली, मुल्ला र नौगाड गाउँपालिका–२ दल्लेखका स्थानीयबासिन्दालाई आवतजावतमा सास्ती भएको छ । दल्लेख क्षेत्रमा उत्पादन भएको तरकारी किसानले बोकेर सदरमुकामसम्म ल्याउनुपर्ने बाध्यता छ । उत्पादन गरिएको तरकारी जिल्ला सदरमुकाम खलंगामा बेचेर तरकारी किसानले घरमा नुन, दाल र चामल जोहो गर्दै आएका छन् । महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद घिमिरेका अनुसार नगरपालिकाले बाटो खुलाउन प्रयास गरेको भए पनि सकेको छैन ।
काठमाडौं: आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । कर्णाली प्रदेशमा साउने संक्रान्तिको दिन आज सार्वजनिक बिदा दिइएको छ । आजको दिनलाई कर्णालीमा देउडा पर्वको रुपमा समेत मनाउने गरिन्छ ।
तनहुँ: भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा कुमाल र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारूनी बनेर तालमा ताल मिलाएर घन्टौं नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन्। ‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन् ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौं।’ शुक्रबार विभिन्न क्षेत्रबाट आएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्। ‘पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्’, उनले भनिन्, ‘पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौं।’ आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ। पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो। विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ। यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ। छेउमा नाच्ने दुई पुरुषलाई ‘मारूनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ। नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ। गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ। गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला–बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ। पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ। देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ। पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए। बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ। ‘हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्,’ भीमबहादुरले भने, ‘अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ।’ मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आएका ९बिजबारे० ५८ वर्षीय लालबहादुर कुमालले बताए। महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उहाँले जानकारी दिए। नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए। यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन्। कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए। ‘गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्’, उनले भने, ‘पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ। गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन्।’ महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताए।
काठमाण्डौ: पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा शीतल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो । घाइतेमध्ये चार वर्षका प्रिन्स क्षेत्री र ५० वर्षकी चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । उकालो बाटोमा गुड्दै गरेको जीप अनियन्त्रित भइ सडकबाट झण्डै ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दार्चुला: भारतले धार्चुलाको नयाँबस्तीमा विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले लाग्दा नेपालतर्फ घर र गोठमा क्षति पुगेको छ । भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको हो । बिहीवार र शुक्रवार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । ुब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले विनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छु, स्थानीय नरभान बडूले भन्नुभयो ।
चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताए।
जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए। चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए। सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो। पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ। भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च लगाउनमा समस्या भएको उनीहरुले बताए। ‘यहीँ पेशाबाट आम्दानीको माध्यम बनेको थियो । घर खर्चदेखि बच्चाको पढाइ खर्च सहजरुपले धानेको थियो,’ उनले भने। स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए। ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ,’ उनले भने। स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।
काठमाण्डौ: देशभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिनै लाग्दा यसवर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गएको वर्ष भन्दा यसवर्ष १२ प्रतिशत कम रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म ६५ प्रतिशत रोपाइँ भएको थियो । देशभर १३ लाख ५७ हजार हेक्टरमध्ये अहिलेसम्म सात लाख १८ हजार हेक्टरमा रोपाइँ भएको छ । पोहोरको तुलनामा यसवर्ष कम रोपाइँ हुनुमा मनसुन र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको मुख्य प्रभाव रहेको कृषि मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । साउनको दोस्रो हप्तासम्ममा ९० प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको अनुमान छ । यसवर्ष मधेस प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको थियो । यस वर्ष मनसुनमा पानी कम पर्ने यसअघि नै पूर्वानुमान गरिएको थियो । सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । त्यस्तै जनशक्तिको अभाव र लागत महंगो हुँदा पनि किसान समस्यामा छन् । यहि बेला पशुचौपायमा लम्पी स्कीन रोग फैलिएको छ । यो रोगबाट मुख्य गरी गोरु सङ्क्रमित हुँदा रोपाइँमा असर परेको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजार भन्दा धेरै पशु चौपायामा लम्पी स्किन रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् ।
काठमाण्डौ: काठमाण्डौ महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेट सर्वसम्मतले पारित भएको छ । उपमेयर सुनिता डङ्गोलले गएको असार १० गते २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट नगरसभामा पेश गर्नुभएको थियो । हिजो बसेको नगरसभाको पाँचौँ बैठकमा मेयर बालेन्द्र शाहले बजेटलाई निर्णयार्थ पेश गरेपछि पारित भएको हो । महानगरले चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ । असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेका थिए । विरोधपछि बैठक २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल हिजो सकिएपछि नगरसभाबाट बजेट पारित भएको हो । महानगरले आउँदो आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १४ करोड धेरै बजेट ल्याएको छ ।

