काठमाण्डौ: सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । आज शुक्रवार बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ । ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।
दैलेख: दैलेखमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर ज्यान गएको नौमूले–८ का वडाध्यक्ष दीपक हमालले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम दैलेख बजारबाट घर जाँदै गरेका रिमाल हिजो बिहीवार बेलुका झिल्के नजिक भिरबाट चिप्लिएर लोहोरे खोलामा खस्नु भएको थियो । आज शुक्रवार बिहान आठ किलोमिटर पर रिमालको शव भेटिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो । रिमाल सातमुले सहकारी संस्था तथा अरनिको मावि गिरखानीको विद्यालय व्यवस्थापन सदस्यलगायत सामाजिक काममा क्रियाशील हुनुहुन्थ्यो ।
बर्दिया: पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको बबई पुल नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । प्र २–०३–००१ त ४८९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ पेरहनीका २६ वर्षीय मनबहादुर थारुको ज्यान गएको र वडा नम्बर–१ भुरिगाउँका योगेश थारु घाइते भएका इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । घाइते योगेश थारुलाई थप उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।
काठमाडौं: आज २१० औँ भानुजयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ । नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् । विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु(याउन सक्नुभएको छ । यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला (१९१०), वधु शिक्षा (१९१९), प्रश्नोत्तरमाला (१९१०) र रामगीता (१९२५) को महìव आज पनि उत्तिकै छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।
दाङ: दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ । अस्पताल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाण्डौ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताउनुभएको छ। बिहीवार आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताउनुभएको हो। उहाँले आउँदो आर्थिक वर्षमा यो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिलेसम्म ५ सय ३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिनुभयो। मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपाङ्गतामैत्री नमुना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताउनु भयो।
बैतडी: बैतडीको धारीगाडमा पहिरो जाँदा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडक खण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुटेका गाडी बीच बाटोमै रोकिएका छन् । यातायात पूर्णरुपमा अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।
काठमाण्डौ: अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् । काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, ९म्याकुरी ० भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् । उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
डोटी: डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् । बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

