पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पोखरा:   तामाङ समुदायले आइतबार पोखरामा २८५९ औँ सोनाम ल्होछार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार पोखराको लेकसाईडस्थित खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा एक आपसमा शुभकामना आदान प्रदान गरी ल्होछार पर्ब मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रममा ताम्बा टोलीद्धारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिइएका थिए । त्यस्तै मिस तामाङको नृत्य, तामाङ सास्कृतिक नृत्य लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए । नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको र ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए  । कार्यक्रममा उपस्थित तामांङ समुदायले गुम्बामा पुजा गरेका थिए । गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए । यस्तै कार्यक्रममा मिस तामांङ पोखराका सहयोगी तथा उपसमिति संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन राम लामा र डोल्मा लामाले गरेका थिए । 

काठमाडौं:   आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताले पनि सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

पोखराः जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पुस २६ गते पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।    जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् ।   कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुन मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो । अधिकारी रिहा भएपनि उनको मुद्दा सकिएको छैन । हाललाई थुनामा राखेर कारवाही अगाडी बढाउन आवश्यक नदेखिएको भन्दै उनलाई मुक्त गरिएको हो ।    जाहेरवालाले अभियुक्त अधिकारीलाई थुनामा राखेर कारवाही अगाडी बढाउन माग गरेको थियो । सो मुद्धामा जाहेरवालाको तर्फबाट अधिवक्ताहरु शिव सुनार र कुञ्जनी परियार प्यासीले वहस गरेका थिए ।   सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । 

पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भइरहेको छ ।    निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु र नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) प्रतिष्पर्धामा छन् ।    अनेरास्ववियुबाट अध्यक्षमा विरेन्द्र जिसी, संघबाट विराट सिग्देल, क्रात्किारीबाट पवन लम्साल रहेका छन् ।    यसअघि परिषद्मा अनेरास्ववियुको नेतृत्व रहेको थियो । सबै विद्यार्थी संगठनले जीतको दाबी गरेका छन् ।    ६१४ विद्यार्थी रहेको कलेजमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य एवं कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ले करिब ६० मतान्तरले जित्ने बताएका छन् ।    हेर्नुहोस्, उम्मेदवारहरुको नामावलीः 

पोखराः   फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा आज हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ । खेल जारी रहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेपछि अवस्था असामान्य बन्न पुगेको थियो । स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औँ मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए । राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमति विना खेल मैदानमा विना सूचना, विना जानकारी हेलिकप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन् । हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताउनुभयो । “बिरामी लिएर आएको, बिरामी लिन आएको वा हेलिकप्टरमा कुनै समस्या आएमा अकस्मात अवतरण गर्नुपथ्र्यो त्यस्तो आपत्कालीन कुरा सबैले बुझ्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “खेल भइरहेको स्थानमा खै के उद्देश्यले हो हेलिकप्टर अवतरण गरियो, जुन कुनै आकस्मिक नभई नियोजितरूपमा भएकाले पनि दर्शकहरू आक्रोशित हुनुभएको हो ।” संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानबिन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको छ । पोखराबाट आएको प्रभु एयरको हेलिकप्टरमा पाइलट र स्थानीय तीन यात्रु थिए । पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सङघको माग तर वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै स्याङ्जाको वालिङमा हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको हो । प्रभु हेलिकप्टर्स प्रालिको हेलिकप्टर आज दिउँसो पोखराबाट उडेर स्याङ्जाको वालिङस्थित फुटबल मैदानमा २ः२४ मा अवतरण गरेको थियो । सङ्घका अनुसार यात्रुले दिएको जीपीएस कोर्डिनेटअनुसार हेलिकप्टर अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डङ्गोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको छ । उक्त घटनाको भत्सर्ना गर्दै सङ्घले जीउ ज्यानको पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको ठहर गरेको छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सङ्घले माग गरेको छ ।

पोखरा:  सिद्धार्थ राजमार्ग अन्तरगत विरौटा– छोरेपाटन सडकखण्डको निर्माण कार्यमा ढिलाई भएको भन्दै पोखरा महानगरपालिका १७ का स्थानीयले नाराबाजीसहित वडा कार्यालय घेराउ गरेका छन् ।      विरौटा –छोरेपाटन सडकखण्ड निर्माण गर्ने जिम्म पाएको राम बिल्डर्स कम्पनीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि आफुहरुले वडा कार्यालय घेराउ गर्न बाध्य भएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।   उनका अनुसार स्थानीय बासिन्दाका प्रतिनिधि, निर्माणको जिम्मा पाएको कम्पनीका ठेकेदार र प्रमुख जिल्ला अधिकारीको बैठकले तीन महिनामा काम सक्ने निर्णय गरेको थियो ।   सो निर्णयको कार्यान्वयन नगरेको भन्दै वडा कार्यालय घेराउ गरेको भण्डारीले बताए । ‘विरौटा –छोरेपाटन निर्माण शुरु गरेको ३ वर्ष बढी भयो । काम सम्पन्न भएको छैन, भण्डारीले सुनगाभा न्यूजसँग भने, ‘वडाध्यक्षलाई ठेकेदार झिकाउन माग गरेका छौं । स्थानीय सरकारले काममा खबरदारी गरेन, त्यसैले त्यसको विरोधमा वडा कार्यालय घेराउ गरेका हौं ।’   उनले सडक निर्माणमा ढिलाई हुदाँ स्थानीयहरुले हैरानी खेप्नु परेको सुनाए । ‘सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले हैरानी खेप्न बाध्य छन्, धुलोले गर्दा बिरामी हुने स्थिती बनेको छ ।’ उनले भने ।   भण्डारीले आफुहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । ‘स्थानीय सरकार, पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलाई ठेकेदारलाई भेट्न खोजेका छौं तर प्रहरी प्रशासनले हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न खोजेको छ ।’ भण्डारीले भने ।    भण्डारीका अनुसार विरौटा –छोरेपाटन सडकखण्ड निर्माण कार्य थालेको करिब ५ वर्ष भइसकेको छ  भने सडक निर्माण गर्न राम बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । 

कास्की:  नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मिस तामाङ पोखरा २०२३ को टोलीलाई सम्मान गरेको छ ।   पोखरामा मंगलबार आयोजित मञ्जुश्री संवत २८५९ औं हे ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमकाबीच नेपाल महिला तामाङ घेदुङले ४ जनालाई सम्मान अर्पण गरेको हो ।   कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले मिस तामाङ पोखरा रोश्मा तामाङ, फस्र्ट रनरअप जुना तामाङ, सेकेण्ड रनरअप प्रिती तामाङ र भ्युअर्स च्वाइस रेनुका तामाङलाई सम्मानस्वरुप खादा तथा मायाको चिनो अर्पण गरे ।   सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले तामाङ समुदायको आफ्नो मौलिक संस्कार तथा संस्कृति रहेको उल्लेख गर्दै संरक्षणको आवश्यकता रहेको बताए ।    उनले आदिवासी जनजातिमध्ये तामाङ समुदायको तेस्रो ठुलो जनसँख्या रहेको बताउदै राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउन आवश्यक रहेको औल्याए । ‘तामाङ जाति जनसँख्याको हिसाबले हर्दा आदिवासी जनाजातिमा तेस्रो ठुलो शक्तिा हो’, उनले भने, ‘आगामी दिनमा यो समुदायले राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउनका लागि पहल गर्न आवश्यक छ ।’   उनले महिला घेदुङको कार्यक्रमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै प्रदेश सांसदको हैसियतले आगामी दिनमा सधै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।   सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दिपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समिति कास्कीका अध्यक्ष भक्त तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, मिस तामाङ २०२३ पोखरा रोश्मा तामाङ, अञ्जना तामाङ, फुलकुमारी थापा, तिर्थ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   संस्थाकी अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव निमा तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।  

पोखराः   जहाज दुर्घटनामा परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । पोखरा महानगरपालिका ११ का स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखराका मेयर धनराज आचार्य लगायत सयौं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीपश्चात् पौडेलको  अन्त्योष्टी रामघाटमा गरिनेछ । पोखरा हटलाइन दैनिकका सम्पादकसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत थिए ।  गत आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना हुँदा चालकदलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

पोखराः  मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् ।  बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् ।  त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पारिन् । उनले २० हजार प्राप्त गरिन् ।  मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।  निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहेका थिए ।  पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रमको प्रायोजकमा बिजीबी क्याफे रहेको थियो ।