पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

पोखराः जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोपमा पुस २६ गते पक्राउ परेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।    जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा वडाध्यक्ष अधिकारीलाइ शुक्रबार रिहा गर्न आदेश दिएको हो । सोही अनुसार उनी शुक्रबारनै धरौटी बुझाएर रिहा भएका हुन् ।   कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले शुक्रबार वडाध्यक्ष अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जुन मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो । अधिकारी रिहा भएपनि उनको मुद्दा सकिएको छैन । हाललाई थुनामा राखेर कारवाही अगाडी बढाउन आवश्यक नदेखिएको भन्दै उनलाई मुक्त गरिएको हो ।    जाहेरवालाले अभियुक्त अधिकारीलाई थुनामा राखेर कारवाही अगाडी बढाउन माग गरेको थियो । सो मुद्धामा जाहेरवालाको तर्फबाट अधिवक्ताहरु शिव सुनार र कुञ्जनी परियार प्यासीले वहस गरेका थिए ।   सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । 

पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचन भइरहेको छ ।    निर्वाचनमा नेकपा एमाले समर्थित अनेरास्ववियु र नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियु (क्रान्तिकारी) प्रतिष्पर्धामा छन् ।    अनेरास्ववियुबाट अध्यक्षमा विरेन्द्र जिसी, संघबाट विराट सिग्देल, क्रात्किारीबाट पवन लम्साल रहेका छन् ।    यसअघि परिषद्मा अनेरास्ववियुको नेतृत्व रहेको थियो । सबै विद्यार्थी संगठनले जीतको दाबी गरेका छन् ।    ६१४ विद्यार्थी रहेको कलेजमा अनेरास्ववियुका केन्द्रिय कमिटी सदस्य एवं कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ले करिब ६० मतान्तरले जित्ने बताएका छन् ।    हेर्नुहोस्, उम्मेदवारहरुको नामावलीः 

पोखराः   फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा आज हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ । खेल जारी रहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेपछि अवस्था असामान्य बन्न पुगेको थियो । स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औँ मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए । राष्ट्रियस्तरको खेल भइरहेको स्थानमा प्रशासन तथा स्थानीय आयोजक क्लबको अनुमति विना खेल मैदानमा विना सूचना, विना जानकारी हेलिकप्टर अवतरण गर्दा दर्शक आक्रोशित भएका हुन् । हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताउनुभयो । “बिरामी लिएर आएको, बिरामी लिन आएको वा हेलिकप्टरमा कुनै समस्या आएमा अकस्मात अवतरण गर्नुपथ्र्यो त्यस्तो आपत्कालीन कुरा सबैले बुझ्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “खेल भइरहेको स्थानमा खै के उद्देश्यले हो हेलिकप्टर अवतरण गरियो, जुन कुनै आकस्मिक नभई नियोजितरूपमा भएकाले पनि दर्शकहरू आक्रोशित हुनुभएको हो ।” संवेदनशील विषयप्रति आयोजकले ध्यानाकर्षण गर्दै दोषी उपर छानबिन तथा कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको छ । पोखराबाट आएको प्रभु एयरको हेलिकप्टरमा पाइलट र स्थानीय तीन यात्रु थिए । पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सङघको माग तर वायुसेवा सञ्चालक सङ्घले हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै स्याङ्जाको वालिङमा हेलिकप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न माग गरेको हो । प्रभु हेलिकप्टर्स प्रालिको हेलिकप्टर आज दिउँसो पोखराबाट उडेर स्याङ्जाको वालिङस्थित फुटबल मैदानमा २ः२४ मा अवतरण गरेको थियो । सङ्घका अनुसार यात्रुले दिएको जीपीएस कोर्डिनेटअनुसार हेलिकप्टर अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डङ्गोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको छ । उक्त घटनाको भत्सर्ना गर्दै सङ्घले जीउ ज्यानको पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको ठहर गरेको छ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सङ्घले माग गरेको छ ।

पोखरा:  सिद्धार्थ राजमार्ग अन्तरगत विरौटा– छोरेपाटन सडकखण्डको निर्माण कार्यमा ढिलाई भएको भन्दै पोखरा महानगरपालिका १७ का स्थानीयले नाराबाजीसहित वडा कार्यालय घेराउ गरेका छन् ।      विरौटा –छोरेपाटन सडकखण्ड निर्माण गर्ने जिम्म पाएको राम बिल्डर्स कम्पनीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि आफुहरुले वडा कार्यालय घेराउ गर्न बाध्य भएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।   उनका अनुसार स्थानीय बासिन्दाका प्रतिनिधि, निर्माणको जिम्मा पाएको कम्पनीका ठेकेदार र प्रमुख जिल्ला अधिकारीको बैठकले तीन महिनामा काम सक्ने निर्णय गरेको थियो ।   सो निर्णयको कार्यान्वयन नगरेको भन्दै वडा कार्यालय घेराउ गरेको भण्डारीले बताए । ‘विरौटा –छोरेपाटन निर्माण शुरु गरेको ३ वर्ष बढी भयो । काम सम्पन्न भएको छैन, भण्डारीले सुनगाभा न्यूजसँग भने, ‘वडाध्यक्षलाई ठेकेदार झिकाउन माग गरेका छौं । स्थानीय सरकारले काममा खबरदारी गरेन, त्यसैले त्यसको विरोधमा वडा कार्यालय घेराउ गरेका हौं ।’   उनले सडक निर्माणमा ढिलाई हुदाँ स्थानीयहरुले हैरानी खेप्नु परेको सुनाए । ‘सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले हैरानी खेप्न बाध्य छन्, धुलोले गर्दा बिरामी हुने स्थिती बनेको छ ।’ उनले भने ।   भण्डारीले आफुहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । ‘स्थानीय सरकार, पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलाई ठेकेदारलाई भेट्न खोजेका छौं तर प्रहरी प्रशासनले हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न खोजेको छ ।’ भण्डारीले भने ।    भण्डारीका अनुसार विरौटा –छोरेपाटन सडकखण्ड निर्माण कार्य थालेको करिब ५ वर्ष भइसकेको छ  भने सडक निर्माण गर्न राम बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । 

कास्की:  नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर समितिले मिस तामाङ पोखरा २०२३ को टोलीलाई सम्मान गरेको छ ।   पोखरामा मंगलबार आयोजित मञ्जुश्री संवत २८५९ औं हे ल्हो सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमकाबीच नेपाल महिला तामाङ घेदुङले ४ जनालाई सम्मान अर्पण गरेको हो ।   कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम) ले मिस तामाङ पोखरा रोश्मा तामाङ, फस्र्ट रनरअप जुना तामाङ, सेकेण्ड रनरअप प्रिती तामाङ र भ्युअर्स च्वाइस रेनुका तामाङलाई सम्मानस्वरुप खादा तथा मायाको चिनो अर्पण गरे ।   सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले तामाङ समुदायको आफ्नो मौलिक संस्कार तथा संस्कृति रहेको उल्लेख गर्दै संरक्षणको आवश्यकता रहेको बताए ।    उनले आदिवासी जनजातिमध्ये तामाङ समुदायको तेस्रो ठुलो जनसँख्या रहेको बताउदै राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउन आवश्यक रहेको औल्याए । ‘तामाङ जाति जनसँख्याको हिसाबले हर्दा आदिवासी जनाजातिमा तेस्रो ठुलो शक्तिा हो’, उनले भने, ‘आगामी दिनमा यो समुदायले राजनीतिक र प्रशासनिक क्षेत्रमा पहुँच बढाउनका लागि पहल गर्न आवश्यक छ ।’   उनले महिला घेदुङको कार्यक्रमा सहभागि हुन पाएकोमा खुशी व्यक्त गर्दै प्रदेश सांसदको हैसियतले आगामी दिनमा सधै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।   सो सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दिपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समिति कास्कीका अध्यक्ष भक्त तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, मिस तामाङ २०२३ पोखरा रोश्मा तामाङ, अञ्जना तामाङ, फुलकुमारी थापा, तिर्थ तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   संस्थाकी अध्यक्ष पवित्रा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव निमा तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।  

पोखराः   जहाज दुर्घटनामा परि मृत्यु भएका पत्रकार त्रिभुवन पौडेललाई नेपाल पत्रकार महासंघ कास्कीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । पोखरा महानगरपालिका ११ का स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पोखराका मेयर धनराज आचार्य लगायत सयौं शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जलीपश्चात् पौडेलको  अन्त्योष्टी रामघाटमा गरिनेछ । पोखरा हटलाइन दैनिकका सम्पादकसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत थिए ।  गत आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना हुँदा चालकदलसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

पोखराः  मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् ।  बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् ।  त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पारिन् । उनले २० हजार प्राप्त गरिन् ।  मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।  निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहेका थिए ।  पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रमको प्रायोजकमा बिजीबी क्याफे रहेको थियो । 

ढोरपाटनः   अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताउनुभयो । पुनमगर भन्नुहुन्छ, “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।” लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउनुहुन्छ । उहाँले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताउनुभयो । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । “पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो”, पुनमगरले भन्नुभयो,  “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।” स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उहाँको भनाइ छ ।  “यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।” अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताउनुभयो ।  उहाँले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताउनुभयो । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ । उहाँले भन्नुभयो, “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।” बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउनुहुन्छ । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताउनुभयो । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउनुहुन्छ । “पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उहाँले भन्नुभयो, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”

पोखराः  पोखरामा आइतबार यती एयरको विमान दुर्घटना हुँदा निधन भएका पोखरा १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेका छन् ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो । पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय अलिमियाँको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन् ।