पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

सिरहा:  सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

धनगढी: मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरूको कोठामा मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा गोप्काका चन्ने भुल, उहाँकी श्रीमती कुमारी भुल र पाँच वर्षीया छोरी अञ्जली रहेको वडा अध्यक्ष डवलबहादुर दियाकोटी बोहराले जानकारी दिनुभयो।  पुस १७ गते मृत्यु भएका मृतक सबैको शव मङ्गलबार नेपाल ल्याइएको हो। रेलमा प्रयोग गरिने कोइला राति कोठामा बालेर सुतेको बेला निसास्सिएर मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद रहेको वडा अध्यक्ष बोहराले बताउनुभयो।  उहाँका अनुसार चन्नेको शरीर र हातमा घाउ देखिएको छ। यसैगरी, मुख पनि बाङ्गिएको छ। शरीरमा देखिएको घाउ र भारतीय प्रहरीले उपलब्ध गराएको फोटो हेर्दा हत्या भएको जस्तो देखिएको वडा बोहराले बताउनुभयो।  मृतक भुल परिवार गरिबीको कारण भारतमा काम गर्दै आएका थिए। भुल मेरठमा काम गरेको छ र सात वर्ष भएको वडा अध्यक्ष बोहराले बताउनुभयो। आमाबुबासहित बहिनीको मृत्यु भएपछि घरमा रहेको तीन बालबालिकाको बिचल्ली भएको छ। घरमा दुई छोरी र एक छोरा रहेका छन्। उनीहरूलाई हजुरबुबा आमाले स्याहारी रहेको जनाइएको छ। मृतक तीनै जनाको मङ्गलबार अन्त्येष्टि गरिएको छ।  यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले यदि परिवारलाई घटना शङ्कास्पद लागेको भए छानबिनको लागि भारतीय प्रहरीलाई त्यहीँ भन्नु पर्ने बताउनुभयो। ‘घटना भारतमा भएकाले छानबिन भारतीय प्रहरीले नै गर्ने हो’, उहाँले भन्नुभयो,‘यदि, त्यस्तो लागेको थियो भने परिवारले त्यहाँको प्रहरीलाई भन्न सक्नु पर्दथ्यो। त्यसो नगरी शव ल्याइसकेका रहेछन्।’

काठमाडौं:   काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई खोप लगाउने तथा बन्ध्याकरण गर्ने तयारी थालेको छ।  महानगरले आफ्नो कार्य क्षेत्रभित्रका कुकुरलाई खोप लगाउने र  बन्ध्याकरण गर्ने तयारी थालेको हो।  यो कामका लागि महानगरपालिकाले इच्छुक संघसंस्थालाई आह्वान गरेको छ। पुस १३ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९र०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क गर्न भनिएको छ। बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख छ। इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्या लगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनुपर्नेछ।  संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडाको भए सम्झौताको प्रतिलिपि, कुकुर बिरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेश गर्नुपर्ने छ। यस्तै संस्थाले बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिवद्धता प्रस्तावका साथमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।  यसअघि ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टिच्युटको सहकार्यमा ुमनुमित्रु कार्यक्रम सञ्चालन भइरहेको छ। अहिले सामुदायिक कुकुरहरु खाना नपाएर कुपोषित भएको, छालाजन्य रोगले ग्रस्त भएको, दुर्घटनाबाट अंगभंग भएका जस्ता समस्यामा छन्। उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिस दुर्घटनाको जोखिममा छन्। कुकुरको टोकाइपछि रेविजविरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढ्ने गरेको छ।  काठमाडौंमा मात्रै २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा कुकुर छन्। काठमाडौं महानगरपालिकाले २०७८र७९ मा बन्ध्याकरण गर्न र खोप लगाउन डेढ करोड बजेट विनियोजन गरेको थियो। नेपालमा कुकुरले टोकेर २०७६र७७ मा ५२ हजार ६१० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्।

बझाङ: खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने रु तीन सय ५० असुल गर्दै आएका छन् । “सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ”, उहाँले भन्नुभयो, “तमैल पुग्न बाटोमै झण्डै रु हजार सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?” खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउनुहुन्छ । “घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैनन् ।” उहाँका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । “कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो”, उहाँले भन्नुभयो, “जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि रु सयभन्दा तल लिँदैनन् ।” खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । “प्रतिकिलोमिटर रु १२ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो”, खप्तडछान्ना–५ का राजेश कार्कीले भन्नुभयो, “त्यो बेलामा कालुखेतीबाट रु एक सय २० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।” उहाँका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । “कालुखेतीबाट गडरायसम्म करिब पाँच किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले रु दुई सय असुल्दै आएका छन् ।” उहाँले भन्नुभयो । गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्नुहुन्छ, “घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।” उहाँ पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि रु सयभन्दा बढी असुल्छन् ।” यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्नु हुन्छ । उहाँ भन्नुहुन्छ, “जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ ।” सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उहाँ बताउनुहुन्छ । “गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई÷तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै रु आठ÷दश हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का छ ।” उहाँले भन्नुभयो । थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । “सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ ।” उहाँले भन्नुभयो । अब नयाँ भाडा निर्धारण हुन्छ:पालिका खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर रु २० लिने निर्णय गरेर प्रशासनलाई पठाएको बताउनुहुन्छ । “हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ ।” उहाँले भन्नुभयो । प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । “गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ ।” सडकलाई दिगोरूपमा टिकाउन तथा बाह्र्रै महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गरेको स्थानीयको बुझाइ छ ।

पोखराः   १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली टोपी प्रदान गर्दै मनाएको छ ।    “हाम्रो टोपी हाम्रो शान“ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपाली पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए।   नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्ने कुरामा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण समेत गराएको छ। उक्त अवसरमा प्रतिष्ठानले पुर्व पर्यटन मन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाएको थियो। त्यस्तै प्रतिष्ठानले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।  विगत ९ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट बताउछन्। ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।  त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

घोडाघोडी:  कैलालीको पहाडी गाउँपालिका चुरेको बाटेगढामा पहिलो पटक बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । चुरे गाउँपालिका –४ बाटेगढामा पहिलो पटक बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै  स्थानीयहरू खुसी भएका हुन् । यद्यपि सो गाउँपालिकाको ४० प्रतिशत क्षेत्रमा अझै बत्ती पुग्न सकेको छैन ।  चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वडा २ र ४ को एउटा गाउँमा मात्र बत्ती पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अन्य वडाका धेरै गाउँमा अझै बत्ती  पुगेको छैन, समग्रमा भन्नुपर्दा अझै ४० प्रतिशत क्षेत्र बिजुली बत्तीको पहुँचभन्दा बाहिर रहेका छन् ।’ अध्यक्ष बोगटीले आफ्नो कार्यकालभित्र सबै ठाउँमा बत्ती पुगाउन पहल गर्ने बताउनुभयो । नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बाटेगढामा एक करोड ६० लाखको लागतमा बिजुली बत्ती बालिएको बताउनुभयो । सो क्षेत्रका स्थानीयले बत्तीका लागि सोलारको प्रयोग गर्दैआएका थिए ।  केन्द्रका प्रमुख मण्डलले विस्तारित विद्युतीकरण अन्तर्गत चुरेमा १२ औँ ट्रान्सफर्मर बाटेगढा रहेको जनाउँदै चुरे गाउँपालिका अन्तर्गत पर्ने चुरेफेदीको गाउँ बालुवागडमा २०७६ मा विद्युतीकरण गरिएको बताउनुभयो ।  जागती, गर्भा दरबारलगायत चुरेका अन्य गाउँमा समेत विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणको रहेको छ ।

कावासोती:  मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानीका १८ घरपरिवार पहिरो प्रभावित अस्थायी टहरामा बस्दैआएका छन् ।  गत बर्खामा हुप्सेकोट –५ वाकखोरमा पहिरोले विस्थापित भएका उहाँहरूलाई टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता छ । ५५ वर्षका खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १६ महिनाभन्दा बढी भयो । जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ताको विषय छ । गत असारमा वाकखोरमा पहिरोमा घर परेपछि १८ परिवार विस्थापित भए । खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ स्थायी बसोबासको प्रबन्ध राज्यले मिलाई दिनुपर्ने बताउनुभयो । पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छाडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । खेती किसानी गर्नेलाई टहराको बसाइमा जीवन धान्न सजिलो नभएको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा बालबालिकालाई विशेषगरी श्वास प्रश्वासमा समस्या देखिने, वृद्ध वृद्धमा जाडोले कठ्याङ्ग्रिने, हाड जोर्नी दुख्ने समस्या देखापरेको छ” रानाले भन्नुभयो । चिसो बढेसँगै हामीलाई निकै समस्या परेको छ, न बस्ने ठाउँ छ न खेती किसान गर्ने ठाउँ छ । निर्वाचनका समय जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उम्मेदवारले मत मागे तर अहिले विजयी भएपछि कोही पनि फर्किएर त्यहाँ नपुगेको स्थानीयको गुनासो छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले अस्थायी टहरामा बस्दै आएका परिवारलाई व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।

पोखराः   गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार 'तमु ल्होसार' पर्व मनाउँदैछन् । 'ल्हो'को अर्थ वर्ष र 'सारु' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई 'तमु ल्होसार' भनिएको हो ।  तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवार भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व छ ।  आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।  राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत देश निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

पोखराः   राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले राजा विरेन्द्र शाहको ७७ औं जन्मजयन्ती मनाएको छ । राजा विरेन्द्रको जन्मजयन्तीका अवसरमा उनको तस्वीरमा माल्यार्पणसहित प्रवचन कार्यक्रम र साँझ दिपावली गरेको छ ।  पोखरा स्थित राप्रपा कास्कीको कार्यालयमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले राजा विरेन्द्रको तस्वीरमा माल्यार्पण गरेका थिए । सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले राजा विरेन्द्र देशभक्त र शान्तिप्रेमी रहेको भन्दै उनको योगदानको स्मरण गरेका थिए । उनको जन्म विक्रम संवत २००२ पुष १४ गते भएको थियो । राजा विरेन्द्रको अकालमा हत्या नभएको भए देशको स्थिति अहिलेको जस्तो नाजुक नहुने उनीहरुले तर्क गरेका थिए । उनीसहित सपरिवारको २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा हत्या भएको थियो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमै छ । राजा विरेन्द्रको स्मरणमा राप्रपाले बिहिबार साँझ वीरेन्द्रचोक रामबजारमा दीप प्रज्वलनसमेत गरेका थिए । सो अवसरमा राप्रपा कास्कीले वीरेन्द्रचोकमा राजा विरेन्द्रको शालिक पुननिर्माण गर्न सघाउने निर्णय पनि गरेको छ । शालिक निर्माण समितिसँग सहकार्य गरेर यथाशीघ्र राजा वीरेन्द्रको शालिक बनाउने निर्णय गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । राजा वीरेन्द्रको जन्मजयन्तीकै अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशमा राप्रपाबाट समानुपातिक सांसद निर्वाचित सांसदद्धय पञ्चराम गुरुङ र बिन्दु पहाडीलाई सम्मानसमेत गरेको छ । गुरुङ राप्रपाका गण्डकी अध्यक्ष हुन् भने पहाडी केन्द्रिय सदस्य हुन् । कार्यक्रममा  विवेकशील साझा पार्टीबाट राप्रपामा समाहित भएर केन्द्रिय सदस्य चुनिएका अर्जुन खनाल, सुशिला केसी अधिकारी र माधव भण्डारीलाई स्वागत गरिएको थियो ।  कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद गुरुङले देश र जनताका हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाए । राप्रपाका एजेण्डा स्थापित गर्न लागिपर्ने भन्दै उनले जनताका पीरमर्का संसदमा पु¥याउन भूमिका खेल्ने बताए ।  यस्तै, अर्का सांसद पहाडीले पार्टी नीतिमा रहेर जनताका पक्षमा खरो उत्रने बताइन् । विगतमा सर्वस्वहरण हुँदासमेत पार्टीका पक्षमा अडिग रहेको भन्दै उनले अब संसदमा देश र जनताका पक्षमा पार्टीले उठाएका मुद्धा उठाउने प्रतिवद्धता जनाइन् । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले अहिलेको दुषित राजनीतिमा राजा विरेन्द्रको अभाव खड्किएको बताए । नवनिर्वाचित सांसदलाई शुभकामना दिँदै उनले गण्डकीका सबै जिल्लासँग समन्वय गरेर अघि बढ्न सांसदलाई सुझाव दिए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, विष्णुप्रसाद पोखरेल, महेन्द्रबहादुर कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक भूपू सैनिक संगठन कास्की र राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन कास्कीको समन्वयमा सम्पन्न भएको थियो ।