पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

पोखरा:  सार्वजनिक ठाउँको किरियापुत्री भवन प्रयोग गर्न नदिएर किरियापुत्रीमाथि जातीय विभेद गरेको भन्दै अदालतले तीन जनालाई जेल सजाय तोकेको छ। पोखरा–१६ बाटुलेचौरमा किरियापुत्रीमाथि तीन जनाले विभेद गरेको ठहर गर्दै कास्की जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो। भट्टराईको ईजलासले देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए। न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव ९कसूर र सजाय ० ऐन २०६८ को दफा ७ को १ ९क० अनुसार फैसला गरेकी हुन्। ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि दुई लाख जरिवाना, पीडितलाई दुई लाखसम्म क्षतिपूर्तिको व्यवस्था छ। बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न दलितलाई नदिने भन्दै स्थानीय मोहन सुनारलाई उनीहरूले रोक लगाएको आरोप लागेको थियो। मोहनका भाइ सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा न्युमोनियाका कारण निधन भएको थियो। उनको किरिया बस्न मोहनले बाटुलेचौरको सरकारी जमीनमा बनेको किरियापुत्री भवनको चाबी मागेका थिए। जातीय विभेद गरेको भन्दै २०७७ वैशाख १८ गते मोहन सुनारले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत कसूरमा उजुरी दर्ता गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा आरोपित तीनै जनालाई पक्राउ गरेपछि बाटुलेचौरका स्थानीयले जिल्ला प्रहरी कार्यालय पुगेर प्रदर्शन समेत गरेका थिए। उक्त मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितको तर्फबाट शिव सुनारले बहस गरेका थिए। त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम भट्टराई र वेदबहादुर विष्टले बहस गरे।

लेखनाथ:  पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।   सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे ।  अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे ।  वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए ।  कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको उल्लेख गरे ।  सडकका लागि वडा नं. २६ ले महानगरस्तरिय योजना अन्र्तगत ६५ लाख रुपैया विनियोजन गरेको छ । भने उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया  रुपैया गरी कुल ९२ लाख ८६ हजार रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङ्गको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ ।  कार्यक्रममा निर्माण समितिका अध्यक्ष गुरुङ्गले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित हुनेछन् ।  पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।   

पोखरा:  पोखरामा जारी २२ औं संस्करणको ‘समृद्धि स्टिल्स्’ राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको रोटेपिङबाट खस्दा अस्मिता लिम्बु गम्भीर घाइते भएकी छिन् ।  पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित भई खस्दा २२ वर्षीय अस्मिता लिम्बु गम्भीर घाइते भएकी हुन् ।   आइतबार साँझ रोटेपिङबाट खस्दा २२ वर्षीय लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  ‘रोटेपिङ खेल्ने क्रममा ३ जना खसेको जानकारी पाएका छौं, उनले भने, ‘रोटेपिङबाट खसेका ३ जनामध्ये अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी २ जना भने सामान्य घाइते भएका थिए ।’ कास्की प्रहरीका अनुसार गम्भीर घाइते भएकी लिम्बुको टाउकोमा चोट लागेको छ । टिकटक बनाउने क्रममा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुँदा तीनैजना खसेको बताइएको छ ।

कुश्मा:  वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् । ‘गत वर्षसम्म १०–१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भने, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’ गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ ।’एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’

बाजुरा:   गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ । २०७८ र०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झण्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीयलाई समस्या परेको हो । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय पार्वती रावतले, गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि  अहिले आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताउनुभयो ।  गत बर्खाको बाढीपहिरोले गौमुल गाउँपालिका को घटमुना, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा रहेका झण्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलह रु टेक्निल अफिसर खडक जोशीले बताउनुभयो ।

पोखरा:   पोखरामा लागूऔषधसहित प्रकाउ परेका किसन अधिकारीलाई १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको छ ।  जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्वामा १० दिन को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।    वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा वडा नं.३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा वडा नं.१० अमरसिंह चोक बस्दैँ आएका किसन अधिकारीलाई लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।        प्रहरीका अनुसार अधिकारीको साथबाट डाईजापाम ५० एम्पुल, फेनेरागल ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागूऔषध र १ थान मोबाइल फेला परेको थियो ।

काठमाडौं:   रूपन्देही, सैनामैना नगरपालिका २ रिङरोडस्थित सडकमा लु २ त ६१८५ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर सोही नगरपालिका–४ झारबैरा बस्ने ६० वर्षीय ठगे थारुको आइतबार दिउँसो मृत्यु भएको छ । ट्रलीबाट लडेर ट्याक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   यसैगरी, रूपन्देही, सिद्धार्थनगर नगरपालिका –३ दरखसवा सिता नर्सरीस्थित सडकमा बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु ८९ प २९८६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, रामेछाप, खाँडादेवी गाउँपालिका ३ भिरपानी हुन्दुरखोलास्थित सडकमा पकरबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.१ ह ५०६९ नम्बरको अटो आफैँ अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सिन्धुली कमलामाई नगरपालिका (६ बस्ने ७०  वर्षीय पदम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यता, सिरहा, मिर्चैया नगरपालिका १ महादेवस्थित सडकमा प्र ३ ०२०१३ प ८३६४ नम्बरको मोटरसाइकललाई को १ ख ६९८२ नम्बरको ट्याङ्करले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी रुपनी गाउँपालिका ३ कटैया बस्ने १४ वर्षीय उज्ज्वल कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, जाजरकोट, बारेकोट गाउँपालिका १ काउलीस्थित सडकमा क.प्र.०२००१ त ०२४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका २ ध्यारगाउँ बस्ने १८ वर्षीय राजेश गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ:   सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ३.८ डिग्री सेल्सियस मापन भयो । यो देशकै सबैभन्दा बढी चिसो रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क हो । यता न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  काठमाडौँ उपत्यकामा समेत तापक्रम घट्ने क्रममा छ सोमबार मात्र उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । यो यस वर्षको सबैभन्दा चिसो हो । अधिकतम तापक्रम भने २०.६ डिग्री सेल्सियस पुगेको छ । विभागले आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सूचना प्रकाशन गरी आग्रह गरेको छ । हाल प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा जनाएको छ । 

ढोरपाटन:  जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन थालेको छ । अहिले गाउँपालिकाले प्राथमिक तहबाहेक सबै विद्यालयमा इन्टरनेट विस्तार गरेको छ । गाउँपालिकामा तीनवटा माध्यमिक विद्यालय छन् । तमानखोला गाउँपलिका–३ को धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नं ५ को शान्ति माध्यमिक विद्यालय र वडा नं १ को जनजागृति माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । धन गौ ज्योति र जनजागृति माविमा गत वर्ष र शान्ति माविमा दुई वर्ष अगाडि इन्टरनेट जडान भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । गाउँपालिकाले यसै वर्ष वडा नं २ को जनज्योति आधारभूत विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार पालिकाले विद्यालयमा इन्टरनेट विस्तार गरेको उनले बताए । उनले अहिले चार विद्यालयमा मात्रै इन्टरनेट विस्तार गरेको भन्दै अब विस्तारै अन्य विद्यालयमा विस्तार गर्ने योजना रहेको पनि सुनाए । अध्यक्ष बुढामगरले भने, ‘हाल पालिकाका तीन मावि र केही आधारभूत तहका विद्यालयमा इन्टरनेट विस्तार गरेका छौँ, अन्य विद्यालयमा पनि विस्तारै जडान गर्ने योजना छ, प्रविधिको विकाससँगै अब दुर्गमका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने हाम्रो प्रयास हो ।’ विद्यालयमा इन्टरनेट जडानपछि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्दै गए पनि केही समयदेखि अवरुद्ध हुँदा शिक्षण सिकाइमा समस्या भएको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भविन्द्र पुनले बताए । उनले अहिलेको युगमा इन्टरनेट अतिआवश्यक भएको जनाउँदै यसले पठनपाठनमा निकै सहजता प्रदान गरेको पनि बताए । ‘इन्टरनेट जोडेको केही महिना राम्रोसँग चल्यो अहिले अवरुद्ध भएको छ, अहिलेको जमानामा इन्टरनेटबिना शिक्षण सिकाइ अपूरो हुन्छ’, प्रअ पुनले भने, ‘शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि इन्टरनेटको विकल्प छैन, सबै विद्यालयमा यो विस्तार हुन जरुरी छ ।’ उनले इन्टरनेट जडानपछि विद्यार्थीलाई सिक्न रुचि राखेको विषय प्रत्यक्ष देखाएर सिकाउन सकिने भन्दै तत्काल देश–विदेशका घटनाका सूचना सजिलै प्राप्त गर्न सकिने उनको भनाइ छ । कोभिडको समयमा अनलाइन कक्षा सञ्चालनमा समेत ठूलो टेवा पुगेको उनले जानकारी दिए । तमानखोलाका उपाध्यक्ष हीराकुमारी छन्त्यालले सूचना प्रविधिको विकाससँगै शिक्षालाई पनि प्रविधिमैत्री बनाउनका लागि विद्यालयमा इन्टरनेट विस्तार गर्न थालेको बताइन् । सुरुमा वडा कार्यालयमा इन्टरनेट जडान गरेकामा अहिले विद्यालयमा समेत विस्तार गर्न थालेको उनले जानकारी दिइन् । ‘हामीले केटमाइन इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेर वडाहरूमा इन्टरनेट विस्तार गर्‍यौँ, विद्यालयहरूमा पनि यसको अतिआवश्यक हुँदा अहिले माध्यमिक तहका विद्यालयमा जडान गरेर सुरुआत गरेका छौँ”, उपाध्यक्ष छन्त्यालले भनिन्,’शिक्षा प्रविधिमैत्री बनाउने हिसाबले इनटरनेट जडानको कामलाई अगाडि सारिएको हो, यसले पक्कै पनि विद्यार्थीको सिकाइमा केही नयाँपन ल्याउने र प्रभावकारी बनाउने छ ।’ तमानखोलामा २४ विद्यालय छन् । ती मध्ये माध्यमिक विद्यालय तीन, आधारभूत विद्यालय नौ र प्राथमिक विद्यालय १२ छन् । विद्यालयमा इन्टरनेट जडानपछि विद्यार्थीसमेत हर्षित बनेका छन् । कक्षा १० मा पढ्ने रोहित बुढामगरले विद्यालयमा इन्टरनेट जडान भएपछि कम्प्युटर सिक्न र नयाँ ज्ञान, सीप सिक्न सहज भएको बताउनुभयो ।