पोखरा: बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।
बागलुङ: पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो । यस पटक एक वटा नाउरको सिकार हुन सकेन । एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल फारिसज प्रालिबाट सिकार गर्न जानुभएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से सिकार ब्लकमा नाउरको सिकार गर्न चुक्नुभयो । यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत् अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोस्ले घुस्तुङ ब्लकमा एक नाउरका सिकार गर्नुभएको छ । हिमालयन सफारीमार्फत शिकारमा जानुभएको मेक्सिकोका सिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर, मेक्सिकोका सिकारी माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी सिकारी टलाएर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलको सिकार गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । ग्लोबल सफारीमार्फत सिकारमा जानुभएका क्यानेडियाली सिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर, जर्मनीका सिकारी इरिक डिटररिजरिष्टले फागुने ब्लकमा एक झारलको सिकार गर्नुभयो । ट्याक एण्ड ट्राभल्समार्फत सिकारमा निस्कनुभएका अमेरिकी सिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी सिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष असोज–मरसङ र फागुन–वैशाख गरी दुई सिजनमा सिकार हुन्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा सिकारीले एउटा नाउरको २० लाख र झारलको छ लाख रुपियाँ राजश्व तिरेका थिए । सिकार पर्यटनबाट प्रतिवर्ष करोडौँ रुपियाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ । सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो । सिकार पर्यटनमा विश्वका प्रसिद्ध सिकारी लाखौँ खर्च गरेर ढोरपाटन पुग्छन् । उनीहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रदर्शक, भरिया र सहयोगीसहित सिकार ब्लकमा पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुईरतीन दिनसम्म लाग्न सक्छ ।
सिन्धुली: बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने । विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकै दिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् । किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्। खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।
गुल्मी: गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदमार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जिनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा रु एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जिनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । “राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो”, ६६ वर्षीय ओमबहादुर भन्छन्, “रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ”, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छिन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताइन् । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदा हुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछिन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । “सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो”, उनी भन्छन्, “बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले”, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषदमार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
चितवन: इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो । ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ । पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
पोखरा: पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले बिहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की नम्रता क्षेत्रीको ‘इन्डिकेटर डस्टविन’ प्रोजेक्ट दोस्रो बन्दै १५ हजार हात पारे । यसैगरी, कक्षा ११ की छात्राहरु स्नेहा गिरी, रश्मी तिमिल्सिना र सुस्मिता खत्रीको समूहले बनाएको ‘वाईफाई कार’ र कक्षा १२ का सबिन गुरुङ र सगुन गुरुङको ‘सोलार ट्रयाक्टर’ले तेस्रो स्थान प्राप्त गर्दै जनही नगद सात हजार पाँच सय, मेडल र प्रमाणपत्र हात पारे । विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १२ कक्षासम्मका ६२ टोलीले सहभागिता जनाएका थिए । व्यवस्थापन संकाय तर्फ सहभागी ‘व्यवसायिक योजना’ कार्यक्रममा ‘पिग फार्मिङ’ शीर्षकमा सहभागी कक्षा १२ का सम्पूर्ण पौडेल र सबिन थापा सर्वोत्कृष्ट बन्दै नगद १५ हजार जिते । उनीहरुले उक्त प्रोजेक्ट सञ्चालन गर्न चाहेमा बिऊ पुँजीका रुपमा विद्यालयले ५ लाख नगद सहयोग गर्नेछ । यस्तै, कक्षा ११ की छात्राहरु सुविक्षा मल्ल, रेनुमा खातुन र अञ्जली तामाङको ‘टेस्ट अफ नेपाल’ प्रस्तुति दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ । कक्षा १२ की छात्राहरु प्रतिमा भट्टराई र अस्मिता पोखरेलको ‘डिटर्जेन्ट कम्पनी’ शीर्षकको प्रस्तुति र कक्षा ११ की छात्राहरु पूर्णिमा पौडेल र सृष्टि शर्माको ‘विवाह योजना’ शीर्षकको प्रस्तुति तेस्रो बन्दै जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भयो । यी दुवै विधामा थप ५ टोलीलाई थर्ड रनरअप उपाधिसहित जनही २ हजारले पुरस्कृत पनि गरिएको थियो । यस्तै, सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशैंको लामो बिदाको समयमा विद्यार्थीहरुलाई कुनै गृहकार्यको बोझ नबोकाई सिर्जनशील बन्न विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन र व्यवस्थापन विषय पढेपछिको योजना बुन्न आह्वान गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न उपकरण तथा योजना उक्त प्रदर्शनीमा प्रस्तुत भएका थिए । विद्यार्थीले आफ्नै खर्चमा आवश्यक सामाग्री जुटाएका हुन् । सामान बनाएका हुन् । यसैबीच, विहीबारदेखि नै प्लस टुका विद्यार्थीहरुबीचको स्पोर्टस् मीट २०७९ शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइरालले खेलकुद प्रशिक्षकहरु हेमन्त गुरुङ, राजेन्द्र पुन र कुमार किसानलाई बल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख अतिथि डा। कोइरालाले प्रतिभा माविको विविध क्रियाकलापले यस विद्यालय गण्डकी क्षेत्रकै अग्रणी विद्यालयका रुपमा स्थापित भएको बताए । क्याम्पसमा उत्कृष्ट पठनपाठन हुने भएकाले कक्षा १२ को समाप्तिपछि पृथ्वीनारायण क्याम्पसमै पढ्न पनि सकिने भन्दै उनले प्रतिभाका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुमा उत्कृष्ट बन्दा खुशी लागेको उल्लेख गरे । बीबीएमा नाम निकाल्ने उत्कृष्ट २० मध्ये सर्वप्रथम हुनेदेखि सर्वाधिक १४ जना विद्यार्थी प्रतिभाकै रहेको निर्देशक किरण सापकोटाले जानकारी दिएका थिए । प्रतिभाका विद्यार्थी एमबीबीएस, ईञ्जिनियरिङ, वन विज्ञान, कृषि तथा काठमाण्डौ लगायतका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा निःशुल्क पढिरहेको पनि सापकोटाले बताए । कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय भलिबल महिला टीमकी कप्तान अरुणा शाहीले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेल लगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताइन् । शाहीलाई यसअघि विद्यालयले १ लाख नगदको वर्ष प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित स्पोर्टस् मीटमा छात्ररछात्रा बास्केटबल, छात्ररछात्रा भलिबल । छात्र फुटसल, सिंगलरडबल छात्ररछात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सहभागिता जनाउनेछन् । प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । अरुणा शाहीसँगै सन्दिप लामिछानेलाई प्रतिभाले नगद एक लाखले सम्मान गरिसकेको छ । विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरती पाण्डेलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।
महोत्तरी: विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सामान्य अवस्थामा औसतमा ४०र५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा साहले बताए । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ । यसैबीच ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भइरहेको छ ।
काठमाडौंः प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो । बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खारपितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली पर्व मनाउने तरिका फरक छ । उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गर्ने गरिएको छ। सरकारले उधौली पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौंः लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ । “यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । यःमरी माग्दा यसरी गीत गाउने गरिन्छ । त्य छिं त्य, बक छिं त्य थाबले यागु सामा वलः, यःमरी छगः ती यः व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो यःमरी एउटा देउ, यःमरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी । उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै यःमरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन् । यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ । त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ । यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी ९माटोको विशेष प्रकारको भाँडो० राखिन्छ । सो हाँसीमा यःमरी राखेर बाफले यःमरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ । पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउहुन्छ । नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ । विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भन्नुभयो । त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ । वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने पकवान यःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ । यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ । धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन् । कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ । यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।

