पोखरा: सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्धारा निर्माण गरिन लागेको विशाल शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना हुने भूमीमा विशेष पुजा गरीएको छ। श्री राणी सेवा संघ काठमाडौंद्वारा कूलदेवीको रुपमा दुर्गा अवतार त्रिशुल सहित विशेष पुजा गरीएको छ । संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै आएको नेपालको विभिन्न क्षेत्रमा रहेका माडवारी समूहको सामाजिक संस्था राणी सती सेवा संघका महासचिव रामकृष्ण तुलाश्यामले बताए । अन्तराष्ट्रिय रुपमा परिचित सराङ्गकोटमा विशाल शिव मन्दिर, भ्यू टावर, बहुउद्धेश्यीय भवनको निर्माण अन्तिम चरणमा रहेको समितिका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए । सराङ्गकोटमा जाने पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले पञ्चमुखी गणेशको मूर्ती निर्माण गर्न अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको योजकत्वमा विशाल पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागीएको छ । ६ करोडको लगानीमा ३० फिट अग्लो मूर्ति भारतमा निर्माण गरिनेछ । अन्नपूर्ण केवलकारको समन्वय तथा पूर्ण लगानीमा निर्माण हुने पञ्चमूखी गणेश मूर्ति निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गरीने योजना रहेको केवलकारका इन्जिनियर सुमेश बास्तोलाले बताए ।
गण्डकी: पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिनुभयो । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ । तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ)आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उहाँको भनाइ छ । पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।” यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् । मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो । शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ । पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो । पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राका र हुनुहुन्छ । नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो । मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न हुनुभएको छ । यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिनुभयो । नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ । नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रधानाङले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
काठमाडौं: यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । े यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गर्नुभयो । नाटकको चाँैथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्रिया गर्नुहुनेछ । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।
धनकुटा: धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
काठमाडौँ: काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ । आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो । यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
झापा: झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।
पोखरा: सूचनाको हकका लागि पोखरा महानगरको वडा सञ्जाल विस्तार अभियान अन्तर्गत ६ नं वडा सञ्जाल विस्तार एव प्रशिक्षण कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाभित्र भए गरेका सार्वजनिक काम कार्यको सूचना माग्न आउने जो कोहीलाई पनि सूचना दिन वडा सधैं तत्पर रहेको र यसले वडाका जनप्रतिनिधिहरूलाई जनताप्रति उत्तरदायी रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा खुशी व्यक्त गरे । वर्तमान राजनिति परिवर्तनको राजनिति भएकाले समाज र राष्ट्र भ्रष्टचार मूक्त अभियान तर्फ उन्मुख रहेको बताउदै अध्यक्ष भट्टराईले सूचनाको हकले समग्र नेतृत्व पंतिलाई नै खबरदारी गरिरहेकोमा अभियन्ताहरूको प्रशंसा समेत गरेका थिए । सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका उपाध्यक्ष शिवराज बस्ताकोटी शिव दाईले वडा नं ६ का टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा महिला वडा सदस्य पवित्रा थापा, टोल विकास संस्थाका प्रतिनिधिहरू जुना अधिकारी र सुशिला वाग्लेले सूचनाको हकको विषयमा बोलेका थिए । सञ्जालले दुर्गा प्रसाद तिमिल्सीनाको संयोजकत्वमा १६ सदस्यीय वडा सञ्जाल समेत गठन गरेको छ । नव गठित सञ्जालमा माधव पहारी, भिष्मा नेपाली, बुद्धिनाथ पाण्डे, रामेश्वर न्यौपाने, सुशिला वाग्ले, रेणु लामिछाने, जुना अधिकारी, नविन त्रिपाठी, आविस्कार तिमिल्सिना, कबिन नेपाली, शंकर तिवारी, मुक्तिराज रेग्मी, पशुपति तिमिल्सिना, दिलिप आचार्य, बिष्णु देवकोटा र धनेश थापा रहेका छन । सूचनाको हकका लागि पोखरा महानगरका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष टिका आचार्य सुवेदी र कार्यक्रम सञ्चालन संस्थाका सचिव सागर कार्कीले गरेका थिए ।
पोखरा: इ.अ.स पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखरामा शनिबार पूर्वविद्यार्थीसँग पुर्नमिलन कार्यक्रम (२०७९) सम्पन्न भएको छ । पश्चिमाञ्चल क्याम्पसको ३५ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा क्याम्पस प्रशासनद्धारा स्थापनाकालदेखि अहिलेसम्म क्याम्पसमा अध्ययन गरेका सम्पूर्ण विद्यार्थीहरूसँग पुनर्मिलन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस तदर्थ समितिका सचिव उमेश रुपाखेतीले पूर्वविद्यार्थी मञ्चका लागि विधान तयार गरी जिल्ला प्रशासनमा ‘पूर्व विद्यार्थी मञ्च, पश्चिमाञ्चल क्याम्पस’ दर्ता प्रक्रियालाई अघि बढाएकोमा आफूहरू हर्षित रहेको जानकारी गराउनु भएको थियो । क्याम्पसका सहायक क्याम्पस प्रमुख ई. सुरेश तिमिल्सिनाले क्याम्पसका गतिविधिहरू र भावी कार्ययोजनाका बारेमा गहन प्रस्तुति दिनुका साथै देशका विभिन्न क्षेत्रका नीति निर्माता, सफल व्यवसायी तथा प्राविधिकका रूपमा रहेका पूर्वविद्यार्थीहरू क्याम्पसलाई गतिशील गराउने गौरवका आधार भएको वताउनु भयो । क्याम्पसका पूर्वविद्यार्थी उर्जा सचिव श्री रामकुमार श्रेष्ठ र ई. दामोदर तिवारीको पहलमा क्याम्पसको नवनिर्मित भवनमा २० किलोवाटको सोलार उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारको सहयोग प्राप्त भएको, त्यसैगरी पूर्वविद्यार्थी ई.राम पराजुली, ई. सोभियत खड्काको पहल तथा पूर्वविद्यार्थी निवर्तमान भौतिक योजना तथा सहरी विकास पुर्वाधारमन्त्री कुमार खड्काको सहयोगमा क्याम्पसको सिभिल एकेडेमिक ब्लकको मल्टिमिडिया हल निर्माण कार्य भइरहेको तथा पूर्वविद्यार्थीहरू ई.धुब्र भट्टराई र ई.नविन गौतमको पहलमा क्याम्पस परिसरभित्र ओपन जिम निर्माण कार्य पोखरा महानगरपालिकाको सहयोगमा सम्पन्न भएकाले सम्बद्ध सबैप्रति क्याम्पस परिवार आभारी रहेको वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान माननीय मन्त्री कुमार खड्काले यस क्याम्पसमा आफूले अध्ययन गर्दाको समयभन्दा अहिले क्याम्पस स्तरोन्नति भई नयाँ नयाँ कार्यक्रमहरू थपिएकाले आवश्यकताहरू पनि बढ्दै गईरहेको वताउनुभयो । त्यसैले गर्दा पनि क्याम्पसमा अध्ययन सम्पन्न गरेर कार्यक्षेत्रमा लागेका विद्यार्थीहरू आफैले मनन् गरी क्याम्पसलाई आवश्यक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बरालले क्याम्पसका लागि अत्यावश्यक भौतिक पूर्वाधारको विकासमा पूर्वविद्यार्थीहरूको अविस्मरणीय योगदान रहँदै आएको र आगामी दिनहरूमा पनि साथ सहयोग आवश्यक रहने वताउँदै उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलेक्ट्रोनिक्स तथा कम्प्युटर विभागका उपप्राध्यापक होमनाथ तिवारीले स्वागत् मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्याम्पसका पुर्वविद्यार्थी तथा सिभिल विभागमा कार्यरत उपपा्रध्यापक नारायणप्रसाद दवाडीले गर्नुभएको थियो ।
पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलहरूको यही मङ्सिर २२ गते हुने धान्यपूर्णिमाका दिन हुने कुलपूजाका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बर माझथरको सिलिङ्गेमा शनिबार सम्पन्न बरेली पौडेल वंश तथा कुल पूजा व्यवस्थापन समितिको बैठकले कुलपूजालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको समितिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूजा सञ्चालन तथा पूजा सामाग्री व्यवस्थापन समितिको संयोजकमा पिताम्बर पौडेल, सह संयोजकमा शंकरप्रसाद पौडेल, सदस्यहरूमा चर्तुभुज शर्मा पौडेल र पशुपति पौडेल रहनुभएको छ । अभिलेख तथा सचिवालय उपसमितिमा संयोजक कमलप्रसाद पौडेल र सदस्यहरूमा शान्ति पौडेल(पाध्या), दण्डपाणि पौडेल, प्रकाश पौडेल र विष्णुहरि पौडेल हुनुहुन्छ । पूजा मण्डप, आवाशस्थल र साउन्डसिष्टम व्यवस्थापन उपसमितिमा संयोजकमा दामोदर पाध्या, सहसंयोजक नरहरि पौडेल र सदस्यहरूमा सुनिल पौडेल, मदन पौडेल र कृष्ण पौडेल रहनुभएको छ । प्रसाद तथा भान्छा व्यवस्थापनमा संयोजकमा श्रीलाल पौडेल, सह संयोजकमा कमलप्रसाद पौडेल र सदस्यहरूमा किरण पौडेल, सुदन पौडेल हुनुहुन्छ । समान ढुवानी तथा यातायात व्यवस्थापन उपसमितिमा संयोजक हरिराम पौडेल र सदस्यहरूमा दीपक पौडेल र नरहरी पौडेल हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत उपसमितिमा टेकनाथ पौडेल पौडेलको संयोजकत्वमा रवि पौडेल, इन्दिरा पौडेल, शान्ति पौडेल र सविता पौडेल सदस्य हुनुहुन्छ । मन्दिर सरसफाई तथा मर्मत आगामी मङ्सिर १७ गते शनिबार विहान १०.०० बजे गरिने उक्त अवसरमा जानकारी गराइयो । कूलपूजाको प्रचारप्रसारका लागि यस अघिको बैठकले वासुदेव पौडेलको संयोजकत्वमा दण्डपाणि पौडेल र दामोदर पाध्या रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरेको थियो । कुलपूजामा बरेली पौडेल बन्धुबाटै महागरुड पुराण पारायण गर्ने निर्णय समेत गरिएको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवम् सचिव कमलप्रसाद पौडेलको सञ्चालनमा भएको बैठकमा सल्लाहकार एवम् सदस्यहरू तीलकराम पौडेल, सोमनाथ पौडेल, प्रा. चतुर्भुज शर्मा पौडेल, पिताम्बर पौडेल, शंकरप्रसाद पौडेल,रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, किरण पौडेल, पशुपति पौडेल, दामोदर पाध्या, श्रीलाल पौडेल लगायतले विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

