पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

सिन्धुपाल्चोक:    विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् ।   भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो ।  तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो । उहाँका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् । तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताउनुभयो । उहाँका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई रु दुईदेखि १० लाखसम्म ऋण लागेको उहाँले बताउनुभयो ।   दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।

ढोरपाटन:    “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ । गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न जानु भएन । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउनुहुन्छ । “मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ”, पगरीले भन्नुभयो, “त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।” काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराख्नुभएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनुभएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ । “म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ”, मगरले भन्नुभयो, “विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र ?” मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उहाँ बताउनुहुन्छ । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गर्नुभयो ।   “म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई ?” उहाँले भन्नुभयो, “भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।” रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आउनुभएको छ । उहाँले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताउनुभयो । उहाँ गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ । खत्रीले भन्नुभयो, “हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।” गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।” लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि  निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।

काठमाडौं:  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।        निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।

गलेश्वरः   मौलिक कला र संस्कृतिले नेपालीको मनलाई कसरी आकर्षित गर्न सक्दोरहेछ भन्ने कुराको उदाहरण ‘थाली नाच’ बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला थाली नाँचको उद्गम थलो हो ।    हिरामाया पुन श्रीसले पाँच दशकअघि सो नाचको सुरुआत गर्नुभएको थियो । गीतको लय र शब्दसँगै हातमा थाल राखेर गरिने थाली नृत्य स्वदेशमा मात्र सीमित नभई सात समुन्द्रपारी प्रवाससम्म पुगेको छ । हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ ।     सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने भएकाले लोकप्रिय बनेको हो । पछिल्लो समय थाली नृत्यसम्बन्धी गीत पनि ‘रेकर्ड’ भएकाले यसको लोकप्रियता अझै बढेको लोक कलाकार धनकुमारी थापाले बताउनुभयो । देशका विभिन्न ठाउँमा हुने मेला महोत्सव, सम्मेलनमा मात्र नभएर विदेशमा समेत थाली नाच देखाउने गरिएको कलाकार थापाको भनाइ रहेको छ ।   विसं २०२८ मा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गर्नुभएको थियो । विसं २०४४ मा काठमाडौँमा भएको सार्क सम्मेलनमा प्रदर्शन गरेपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो । हातमा थाल राखेर नचाउने भएकाले यस नृत्यलाई ‘थाली नाँच’ नामकरण गरिएको म्याग्दीका पुराना लोक गाएक प्रकाश श्रेष्ठले बताउनुभयो ।        हिरामाया पुन र धनकुमारी थापासहितको चार जनाको टोलीले विसं २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेका थिए । विसं २०३५ मा शान्ति पुन र धनकुमारी थापाले थाली नाचसम्बन्धी गीत रेकर्ड गराउनुभएको थियो । उक्त गीतको विसं २०७३ मा म्युजिक भिडियो छायाँकन गरिएको छ ।   चिमखोलामा थालीनाचसँगै जुरेचल्ला, शर्माजाले, कलश जुधाउने, टोपा नाच, भूमे खुसी बनाउन कालोमोसो लगाउने जस्ता मौलिक संस्कृति रहेका छन् । यी चिमखोलाका मौलिक संस्कृति अहिले म्याग्दीमा मात्रै होइन संसारभरिका नेपालीका लागि आकर्षक बन्दै गएका चिमखोलाका धु्रवकुमार पाइजाले बताउनुभयो ।   पाइजाका अनुसार अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतका देशमा रहेका नेपालीहरूले विशेष अवसर वा फुर्सदको समयमा थाली नाचको आयोजना गर्ने गरेका छन् । मनोरञ्जनका लागि मात्रै नभएर लोकसंस्कृतिको संरक्षणका लागि पनि विदेशमा रहेका नेपालीले चासो देखाएका पाइजाले बताउनुभयो । 

नवलपरासी:  (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो ।   विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो ।   उहाँले पाठ्यक्रममा समग्र कावासोतीभित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वनवातावरण, आचरण, बानीव्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको नगरप्रमुख भुसालले बताउनुभयो ।   कावासोतीका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताउनुभयो । “हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”, शिक्षा अधिकारी भण्डारीले भन्नुभयो, “नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।” यहाँका विद्यालयले व्यवहारिक सिकाइअन्तर्गत नगरपालिका कार्यालय, यहाँका धार्मिक र पर्यटकीयस्थल, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामा अवलोकन भ्रमण गराइसकेका भण्डारीले बताउनुभयो ।   कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमअनुसार अहिले नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालयले नगरपालिका कार्यालय, केहीले पर्यटकीयस्थल, सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था, धार्मिकस्थल, स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिँदै छन् ।”   नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो । पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पाण्डेले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिहेको पाण्डेको भनाइ छ । यसै शैक्षिकसत्रभित्र कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक लेखनकार्य सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।

काठमाडौंः   प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय सुरु हुनुभन्दाअघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा÷व्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेहुँदा त्यस्तो कार्य नगर्न÷नगराउनहुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ”, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आचारसंहितामा मतदान हुनु अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा ‘टक सो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न नपाइने व्यवस्था छ ।  कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेको जनाएको छ । “स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ”, विज्ञप्तिमा भनिएको छ ।  निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन/वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिने काउन्सिलले जनाएको छ । काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा विशेष अपिल गरेको छ ।

बागलुङ:  सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ।  मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो ।  चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।  सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो ।  सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो ।  ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताउनुभयो ।  “उहाँको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सक्नुभयो” लेखा अधिकृत रामनाथ शर्माले भन्नुभयो, “उहाँलाई डिभिजनले सम्मान गर्नेछ । वर्षौँदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उहाँले गरेको काम उदाहरणीय भएको बताउनुभयो ।” डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराउनुभयो ।  पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।  “हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो”, रोकायाले भन्नुभयो ।

काठमाडौँ:  नेपालको पहिलो बैंक कुन होला? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन् नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।  सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ ।  नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् ।  विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ ।  बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दि कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो ।  स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु आठ लाख ४२ हजार चुक्तापूँजी र रु १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै रु एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।  छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पूँजी हाल रु १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा रु २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।” बालक, बृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत  रुपमा नै ढ्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कूल दुई सय २६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकको एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।  आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको छ ।  कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योदना दिएको छ ।  अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत् व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

काठमाडौं: भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।  क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने रहस्य क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्रमार्फत् खोतलेका छन् । ‘फ्याम्ली प्रोडक्शन’ को निर्माणमा तयार पारिएको यो वृत्तचित्र नेपाली भाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एक पटक हेर्नुपर्ने किसिमको छ ।  बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको प्रस्तुति रहेको छ । कमल राईको छायाङ्कन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । ‘असल टिभी नामक युट्युब’ च्यानलमार्फत् वृत्तचित्र सार्वजनिक गरिएको छ । वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको जनाइएको छ ।