पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

नवलपरासी: नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ ।  “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भन्नुभयो, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ ।  “हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन”, गुरुङले गुनासो गर्नुभयो । स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्नुहुन्छ ।  त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका–६ जगदेउका ४५ वर्षीय झमबहादुर बयम्वुलाई  अहिलेसम्म पाँचवटा निर्वाचनमा मतदान गरेको सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै झमबहादुरले भन्नुभयो, “राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेसा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।”  यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै बयम्बुले भन्नुभयो, “२०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो न खानेपानीको समस्या नै समाधान भएको छ ।” जगदेउ गाउँमा ४० घरधुरी छन् । यहाँको मुख्य समस्या बाटो, खानेपानी र विद्युत् हो । बाह्रै महिना बाटो सञ्चालन भए त्यहाँ उत्पादनले बजार पाउने उनीहरुको आशा छ ।  भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया तिलकुमारी सारुको बुझाइ छ । “चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्”, सारुले भन्नुभयो, “गिरुवारी खोलामा पुल निर्माण भए वर्षाको समयमा सहज रुपमा यात्रा गर्न पाइने थियो ।”  दुई प्रतिनिधि र चार सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा यस जगदेउ गाउँ निर्वाचन क्षेत्र नं २ मा पर्दछ । नवलपुर २ अन्तर्गत नै पर्ने बौदीकाली गाउँपालिका–६ लाहापेका स्थानीयको समस्या पनि जगदेउका बासिन्दाको भन्दा फरक छैन । यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा आमनेसामने भएका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।       २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट महत विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा गठबन्धनको समीकरण भने फेरिएको छ ।  गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जित निकाल्ने कसरतमा महत हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न राजनैतिक दलका र स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् ।  जम्मा ४० वटा वडा रहेको नवलपुर २ मा गत स्थानीय तहको निर्वाचनमा एमालेले २२ वटा वडा जितेको थियो भने कांग्रेसले १६ वटा वडा, राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् । एक लाख २९ हजार दुई सय ८० जना मतदाता रहेको यस क्षेत्रमा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहको छ ।

  धनकुटा:  धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सनुभएको छैन । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “म करिब पाँच–सात वर्षको थिएँ  । माथि डाँडामा  हेलिकोप्टर आयो,  मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ । ”   तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ ।  सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा पनि विमानस्थल नबन्दा अब भने विमानस्थल बन्ने कुरामा ढकाललाई पटक्कै विश्वास छैन । “खै अब बन्दैन होला ? केटाकेटीदेखि सुनेको,  मर्नेबेला भइसक्यो”, उहाँले भन्नुभयो ।   विसं २०२२ मा पहिलोपटक  विमानस्थल निर्माण गर्न लागि सर्वेक्षण गरिएको जनाइएको छ ।  उक्त स्थानमा  विभिन्न कारण देखाएर विमानस्थल बन्न सकेको थिएन । पछिल्लो समयमा सो स्थानमा विमानस्थल निर्माण गर्नका लागि विसं २०५० देखि साविक जिल्ला विकास समितिले जिल्ला परिषद्बाट पहिलो नम्बरको आयोजनमा राखेर मन्त्रालयमा १८ वर्षसम्म निरन्तर माग गरेको थियो ।   नेपाल नागरिक उड्डयान प्रधिकरणले विसं २०६८ मा धनकुटाको विभिन्न तीन स्थानमा गरेको सर्वेक्षणपछि बेलहारा विमानस्थल निर्माणका लागि उत्कृष्ट देखाएको थियो ।  तर अहिलेसम्म काम अगाडि बढेको छैन ।  मन्त्रिपरिषदको बैठकले  समेत बेलहारामा विमानस्थल बनाउने निर्णय गरेको थियो ।    विसं २०७१ मा इञ्जीनियर मणिगोविन्द श्रेष्ठको नेतृत्वमा आएको टोलीले गरेको विस्तृत सर्वेक्षणअनुसार बेलहारामा एक हजार तीन सयदेखि एक हजार पाँच सय मिटरसम्मको धावनमार्ग निर्माणका लागि सर्वेक्षण गरिएको थियो । त्यसताका धनकुटाको बेलहारामा विमानस्थल बन्ने कुरा पक्का जस्तै भएको थियो ।   विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको जनाइएको छ । बेलहारा बाघखोरका ३० वर्षीया चन्द बस्नेत भन्नुहुन्छ, “अरु बेला सुनसान हुन्छ, चुनाव आएपछि मात्र हल्ला हुन्छ”, उहाँले भन्नुभयो ।पछिल्लो समयमा पहल गर्ने मान्छे नहुँदा विमानस्थलको विषय त्यसै सेलाएर गएको वडाध्यक्ष टङक राईले बताउनुभयो ।   यस स्थानमा बन्ने धावनमार्ग हिउँद र बर्खा दुवै मौसममा उडान भर्न सकिने र हावाको गतिको रोकावटबिना दुवै तर्फबाट उडान भर्न सकिने विशेषताको प्रतिवेदनमा उल्लेख छ ।बेलहरामा निर्माण हुने विमानस्थल  विराटनगरबाट २२, तुम्लिङटारबाट २४ र भोजपुर विमानस्थलबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ । तात्कालीन अवस्थामा गरिएको सर्वेक्षणअनुसार विमानस्थल निर्माण गर्दा विस्थापित ४७ घरपरिवारको मुआब्जाबाहेक रु १७ करोड लाग्ने प्रतिवेदनमा उल्लेख छ ।

  बागलुङ:  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो ।  निर्वाचनमा खटिएमा महिला सुरक्षाकर्मीलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मदतानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बागलुङमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टेड्रसको सहयोग तथा जिल्ला प्रहरी कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र दुई सय ६१ म्यादी महिला प्रहरीलाई एक÷एक थान स्यानीटरी प्याड वितरण गरिएको छ ।  यस्तै जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।  “हेर्दा सानो कुरा होला तर यो निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि निकै राम्रो काम हो, गाउँ–गाउँमा खटिएका महिला प्रहरीलाई सुरक्षामा खटिएकै समयमा महिनावारी भएको खण्डमा यो सहयोगले ठूलो राहत गर्नेछ”, ज्ञवालीले भन्नुभयो “महिलाको स्वास्थ्यमा सजकता अपनाउँदै सुरक्षालाई चुस्त बनाउन सबैको सहयोग आवश्यक हुन्छ, निर्वाचनमा खटिएका प्रहरीको मनोबल उच्च राख्न यस्ता कार्यक्रमले महत्व राखेको हुन्छ ।” जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि तीन सय थान स्यानीटरी प्याड वितरण गरिएको छ भने सबै मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत स्यानीटरी प्याड वितरणमा प्रहरी कार्यालयसँग मिलेर सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले बताउनुभयो ।

  काठमाडौं:  पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।  यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।  उहाँका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ । २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ । तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।

बागलुङः   ताराखोलाका रैथाने मगरले ‘भुस पोल्ने पर्व’ मनाएका छन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् ।   २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गरेका छन् । पूर्वजले खोरिया खनेर हिउँदे खेती लगाउन सुरु गरेको सम्झनामा मगरहरूले सो पर्व मनाउँदै आएका छन् । मुख्य गरी ताराखोला गाउँपालिका–२ अर्गलमा भुस पोल्ने पर्व प्रचलित छ । पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिन्छ ।    गाउँलेले ठूलो चाडका रुपमा सो पर्वलाई लिन्छन् । मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरका अनुसार हरेक वर्ष कात्तिक २४ गतेदेखि नै पर्व मनाउन सुरु हुन्छ । सो दिन शङ्खुबारी (मूल बारी) मा भुस पोल्ने गरिन्छ । मकै बाली भित्र्याएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । संस्कृतिकर्मी घर्तीमगरले पहिलेपहिले अर्गलमा भुस पोलेपछि मात्र छिमेकी गाउँमा खेती सुरु गर्ने चलन रहेको बताउनुभयो ।   शङ्खुघर ९गाउँको मूल घर० का मूल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा हुन्छ । त्यहाँ उब्जेको जौ बाली शुङ्खुघरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ ।    पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ, २४ गतेअघि जहिले मृत्यु भएको भए पनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ ।    २४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाई दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ ।   मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । “यो पर्वका धेरै आयाम छन्, पितृकार्यदेखि पुत्र बढाइँसम्मका परम्परा यसमा जोडिएका छन्”, समितिका सचिव घर्तीमगरले भन्नुभयो ।   पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पुज्ने चलन छ । त्यहाँ पूजाआजा गरे सहकाल भित्रने र खेतीबाले सप्रने जनविश्वास छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतीकस्वरुप मूल घर र बारीलाई समेत शङ्खु भनेर चिनिन्छ ।    सो दिन शङ्खुबारीमा बाली छर्नुपूर्व अविवाहित युवायुवती जम्मा भएर बारीमा मेलो खन्ने गर्छन् । पूजाको विधिपछि युवा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन् र युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् ।    मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । यसलाई नै ‘छापे खन्ने’ भन्ने गरिएको स्थानीय बताउँछन् । विवाहित युवायुवतीले छापे खन्न नहुने मान्यता छ । त्यसको भोलिपल्ट २७ गतेदेखि यो वर्ष पहिलो छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुन्छ ।    पुत्र बढाइँमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । “यो वर्ष जजस्को घरमा पहिलो छोरा जन्मेका छन्, त्यहाँ गोपिचन राजाको जीवन कहानीमा आधारित कथा भन्ने, झाँकी देखाउने चलन छ”, संस्कृतिकर्मी घर्तीमगरले भन्नुभयो, “पुत्र बढाइँ गरेपछि विवाहपूर्व गरिने सबै संस्कार पूरा हुने मानिन्छ ।”   पुत्र बढाइँलाई परिवारका सदस्य र आफन्तले उत्सवका रुपमा मनाउने गर्छन् ।  पन्ध्रौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल आएका मगरहरुले सो पर्वको चलन बसालेका हुन् । अर्गल खेलकुद विकास मञ्चले भुस पोल्ने पर्वका अवसरमा विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । यस वर्ष पनि पुरुष तथा महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषबाण, रस्साकस्सीलगायत प्रतियोगिता राखिएको मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले बताउनुभयो ।

बागलुङ:  गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा  बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर–घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन् । मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका  चुनावमा नेता कार्यकर्ताहरु आएर सिकाउनेजस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताउनुभयो । उहाँले मतदाता शिक्षाका लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने र मतपत्र पट्याउने तरिका सिकाएका छन् भन्नुभयो । “मैले अहिलेसम्म धेरै चुनावमा भोट हाले तर पहिला यसरी कोही पनि भोट हाल्ने तरिका सिकाउन आउँदैनथे, आए पनि एमाले, कांग्रेस र मसालका मान्छे आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने, त्यही अनुसार भोट हालियो,” रोकाले भन्नुभयो–“तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए, पहिले यस्तो चलन थिएन ।” यतिबेला  जिल्लाका दुई निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५  महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन् । कात्तिक १८ गतेदेखि घरदैलो गरेका उनीहरुले मङ्सिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरी मतदान गर्न सिकाउँदै  छन् । जिल्ला निर्वाचन कार्यालयको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ–आफ्ना वडामा प्रतिवडा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्न खटाएको हो । स्थानीय तहको निर्वाचनमा जिल्लामा १० दशमलव ६३ प्रतिशत मत बदर भएको थियो । एक लाख ९३ हजार दुई सय २६ मतदातामध्ये एक लाख २१ हजार आठ सय ६९ प्रतिशत मत खसेको थियो । जसमा १३ हजार सात सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो ।  स्थानीय तहको निर्वाचनको तुलनामा सदरमत बढाउन  आयोगकोे निर्देशनअनुसार स्थानीय तहको सहयोगमा  महिला स्वास्थ्य स्वयंसेविकालाई घर–दैलोमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले बताउनुभयो । मतदाता शिक्षा दिन घर–घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन् । कुन राजनीतिक दलबाट आएको, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस्, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको स्वयंसेविकाको गुनासो छ ।  “हामीले लगाएको पोसाक देखेपछि कतिपयले त राम्रोसँग सुन्नुहुन्छ, कतिले वास्तै गर्नुहुन्न् धेरैजसो राजनीतिक दलप्रति असन्तुष्ट भएर होला सिक्न समेत मान्नुहुन्न” बागलुङ नगरपालिका–१ मा खटिनु भएकी स्वास्थ्य स्वयंसेविका दुर्गादेवी शर्माले भन्नुभयो । निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उहाँको भनाइ थियो । घर–घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पट्याउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माले जानकारी दिनुभयो । यसअघि छोराछोरी, बुहारी नातिनातिना र अन्य व्यक्तिको सहयोगमा  मत खसाल्नुपर्ने बाध्यता भएकामा यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरी मतदाता शिक्षा प्रदान गरिएको स्वयंसेविकाको भनाइ थियो । पन्ध्र दिनका लागि मतदाता शिक्षाको दिन खटिएका स्वयंसेविकलाई सम्बन्धित स्थानीय तहले रु १५ हजार भत्ता दिने व्यवस्था गरेको   नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।

बागलुङ:  दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ ।  कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।  कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्तरुपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत् सहयोग अभियान चलाइएको थियो । सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये रु एक लाख परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ ।  “साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले  सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ”, कुँवरले भन्नुभयो, “हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गर्नुभएको छ, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ ।” सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत् उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ । कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते हुनुभएको थियो ।

  काठमाडौं: आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।  पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ ।   भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गर्नुभयो । “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उहाँले गुनासो गर्नुभयो । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भन्नुभयो ।  उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएका थिए । “पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उहाँले भन्नुभयो, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउनुहुन्छ । “यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उहाँले भन्नुभयो । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो ।  “महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमान्ले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भन्नुभयो । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उहाँले भन्नुभयो, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउनुहुन्छ । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उहाँले भन्नुभयो । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्याउनुपर्ने बताउनुभयो । “फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्”, उहाँले भन्नुभयो, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।