पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

 पाटन  प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा  ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।   प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्) पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।  घण्टी चिह्नमा चुनाव लड्नुभएका उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म  विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट  कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ ।   निर्वाचनमा विजयी भएपछि उहाँले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।” 

काठमाडौँमा:  काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् ।  काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।

सिन्धुली:  सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो ।       दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।

पोखराः    घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई छैठौं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ ।  घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद रु २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो ।  ७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकङ्कन गर्दै छैठौं औं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । उनका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ ।  सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं । विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’ सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । क्होइबों धिं निर्माणार्थ १० लाख ६० हजार सहयोग सो कार्यक्रमको अवसरमा घान्द्रकमा निर्माण हुन लागेको (कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले आज (मंगलबार) घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजारको हस्तारण गरेको हो ।  आर्थिक हस्तातरणपछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । ‘विभिन्न देशविदेशमा घान्द्रकका समुदायहरु बसोबास गर्दै आएका छन्, उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ । समाजमा आर्थिक, नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ ।’ घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर काम अगाडी बढाउने उद्घोष गरे ।  ‘चाँडै नै बनाउने तयारी हो तर नेपाल मात्र नभएर विश्व नै कोभिड महामारिले काम गर्न सकिएन अब फागुनबाट निर्माणको तयारी गछौं’ उनले भने ।  कार्यक्रममा घान्द्रुुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए ।   कार्यक्रम घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्मन्न कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।

धनकुटा:  धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । नेपाली सेना घटनास्थल पुगेपछि मात्र बम भए नभएको पुष्टि हुने उहाँले जानकारी दिनुभयो । 

बाजुरा:  निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ। 

रामेछाप:  रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हुम्ला:  हुम्लाको सर्केगाड गाउँपालिका ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुन:सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।

रौतहट: रौतहटको दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिकामा स्थित मावी कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिका स्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।  जिल्लामा शान्ति पूर्ण अवस्था नरहेको  प्रहरी प्रवक्ता मल्लले बताएका छन् । रौतहटको क्षेत्र नं–३ मा पर्ने कनकपुर मावीमा बुथ मित्र झडप हुन थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएका छन् ।  यता रौतहट क्षेत्र नं–४ मा पर्ने गरुडा नगरपालिका स्थित प्रावि भवन अमर पटी बुथमा मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले अवस्थगा नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।