भोजपुर: भोजपुरको पौवा दुम्वानमा गाउँपालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको हाे । बम विस्फोट हुँदा भोजपुरको अरूण गाउपालिका वडा नं ४ का सुमन श्रेष्ठ घाईते भएकाे बताइएकाे छ । उनको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । साे सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी थियाे ।
काठमाडौँ: नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समातेर नयाँबानेश्वर चोकमा ट्राफिक व्यवस्थापन गर्न र नजिकै रहेको आकासे पुल चढ्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सघाउने गर्दा बित्ने गरेको छ । दोलखा स्थायी घरभएकी भुजेल श्रीमान्सँग काठमाडौँ बस्दै आउनुभएको छ । तीन सन्तानको शिक्षाका लागि आफू दोलखाबाट काठमाडौँ आएर बसेको उहाँ बताउनुहुन्छ । “श्रीमान्को आम्दानीले मात्र पुग्दैन । बेरोजगार बस्न मन लाग्दैन तर काम पाउन सीप छैन”, उहाँले भन्नुभयो, म्यादी प्रहरीको भर्ना खुल्यो, बालबच्चा हेरचाहको जिम्मा श्रीमान्लाई सुम्पेर म्यादीको काममा आउने गरेकी छु ।” अहिले छोटो समयका लागि भए पनि म्यादी प्रहरीको रोजगारीबाट पाउने पारिश्रमिकले सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । “घरमा यतिकै बस्नुभन्दा यहाँ काममा खटिँदा रमाइलो पनि हुने र आम्दानी पनि हुने यसैमा खुसी छु”, उहाँले भन्नुभयो । म्यादी प्रहरीका रुपमा सडकमा रहँदा कतिपयले आफूहरुको अनुरोधलाई बेवास्ता गर्दा असहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ । मङ्सिर ४ गते हुने निर्वाचन सकिएसँगै म्यादी प्रहरीको ४० दिनको जिम्मेवारी पनि सकिन्छ । सरितासँग रोजगारीको अन्य कुनै विकल्प नभएको सुनाउँदै भन्नुहुन्छ, “निर्वाचनपछि त्यही पुरानो दैनिकीमा फर्किन्छु ।” नयाँबानेश्वरको व्यस्त चोकमा सडक पार गर्न आकासे पुल छ । तर कतिपय पैदलयात्रु गुडिरहेका सवारीको भीडमै सडक वारपार गर्छन् । नीलो पोसाकमा लट्ठी हातमा लिएर डिउटीमा खटिएका म्यादी प्रहरीको समूहले सिठ्ठी फुक्छन् । तर पनि पैदल यात्रु उनीहरुले फुकेको सिठ्ठीको आवाजलाई कुनै वास्तै गर्दैनन् । “हामी म्यादी प्रहरीलाई पैदल यात्री र सवारी चालकले पनि अटेर गर्छन् । हामीले भन्दा उहाँहरु (पैदलयात्रु र सवारी चालक) हाँस्नु हुन्छ, मान्नु हुन्न”, २१ वर्षिय म्यादी प्रहरी शङ्कर बोहराले आफ्नो काम गर्दाको अनुभव सुनाउँदै भन्नु्भयो । नयाँबानेश्वर चोकमा खटिनुभएका अर्का म्यादी प्रहरी मनोज कुँवरले सँगैको साथी बोहराको भनाइमा सहमति जनाउँदै थप्नुभयो, “कतिले त म्यादी भनेर गिज्याउनु हुन्छ ।” उहाँहरु दुवैजना बैतडीका स्थानीय बासिन्दा हुनुहुन्छ । काठमान्डौँ बसेर अध्ययनरत दुवै विद्यार्थी हुनुहुन्छ । अध्ययनका र रोजगारीका सिलसिलामा काठमाडौँ छिरेका दुवैजना सँगै डेरामा बस्नुहुन्छ । मनोज शिक्षण पेसाभन्दा म्यादी प्रहरीमा धेरै पारिश्रमिक पाउने भएपछि भर्ना भएको बताउनुहुन्छ । शङ्कर भने यसअघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । मनोज र शङ्कर दुवैजना म्यादी प्रहरीको जिम्मेवारी सकिएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएको बताउनुहुन्छ । “नेपाल प्रहरीमा भर्ती हुने इच्छाले म्यादीसम्म डोर्यायो । तर अब प्रहरीमा भर्ती हुन उमेरले नमिल्ने भएकाले विदेश जाने सोचमा छु,” शङ्करले भन्नुभयो । काठमाडौँको सामान्य घर भाडा तिर्नसमेत धौ धौ हुने भएकाले निर्वाचनलगत्तै जुन देश जाँदा कम लगानी लाग्छ त्यहीँ जाने सोचमा रहेको मनोजले बताउनुभयो । काठमाडौँमा नियमित खटाइएका ट्राफिक प्रहरी निर्वाचनका कारण बाह्य जिल्लामा थप मद्दतका लागि पठाइएका अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापनको समेत सहयोगका लागि परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो । अहिले काठमाडौँमा करिब चार सय ट्राफिक प्रहरी खटिएका र बाँकी म्यादी प्रहरीहरुको सहयोगमा सवारी व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो । देशभर निर्वाचन सुरक्षाका लागि एक लाख १५ हजार म्यादी प्रहरी खटिइएका छन् । ८४ हजार तीन सय ६८ पुरुष छन् भने ३० हजार ६ सय ३२ महिला रहेका छन् । काठमाडौँमा अहिले तीन हजार दुई सय ७८ म्यादी प्रहरी छन् । आवश्यतानुसार मतदानस्थल, मोबाइल र रिजर्भमा समेत परिचालन गरिनेछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्ररुपमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान संयुक्त रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरीअन्तर्गत म्यादी प्रहरीको परिचालन गरिएको हो । म्यादी प्रहरीहरु मतदानस्थलको सुरक्षा, मतदान बक्सको सुरक्षा र नेपाल प्रहरीले गर्ने दैनिक कार्य गस्ती, निगरानी, सूचना सङ्कलन, घटनास्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिरहेका छन । म्यादी प्रहरीलाई नेपाल प्रहरी जवानसरह आधारभूत तलब मासिक रु २२ हजार ६ सय ८० हुनेछ । बढीमा ४० दिनसम्मका लागि जम्मा रु ३० हजार दुई सय ४० हुनेछ । साथमा खाद्यान्नबापत सात हजार दुई सय र पोसाक तथा अन्य सामानका लागि रु ६ हजार सरकारले उपलब्ध गराएको छ । म्यादी प्रहरीका लागि बीमाको व्यवस्थासमेत गरिएको छ । प्रहरी प्रवक्ता राईले म्यादी प्रहरीलाई मतदानका दिन अधिकांश बुथमा खटाइने बताउनुभयो । प्रहरी जवानमा भर्ना खुल्दा नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना भएको अनुभवलाई प्राथमिकतामा राख्ने गरेको छ ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् । आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उहाँले जानकारी दिनुभयो । बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा: महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ । इन्स्योरेन्सले (बीमा लेख नम्बर ४०१००००५८८ का) शुक्लागण्डकी नगरपालिका ११ तनहुँका बीमित कमल बहादर चन्दको परिवारलाई बीमा रकम भुक्तानी गरेको हो । स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमितको आकस्मिक मृत्यु भएकाले चन्दले इन्छाएको व्यक्तिलाई १६ लाख ५० हजार रुपैयाँ बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा कम्पनीका क्षेत्रीय प्रबन्धक अखिल धमलाले हस्तातरण गरेका थिए । स्वर्गीय चन्दले इन्स्योरेन्समा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी कुण्डमा नुहाउन आउने गरेका छन् । अहिले कुण्डमा आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सकिएपछि यहाँ विगतको भन्दा उल्लेख्य मात्रामा भीड बढ्ने अनुमानसहित आवश्यक सुविधाहरू थप गरिएको समितिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरूपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । बिरे नुनको गन्ध मिश्रित तातोपानी पिउँदै कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास रहेको छ । बागलुङको ढिकीचौरबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी शर्मिला गौतमले लगातार सात दिनसम्म तातोपानीमा डुबेर उपचार गर्दा आफूलाई ढाड दुख्न कम भएको बताउनुभयो । यहाँ लगातार एक हप्तादेखि १५ दिनसम्म डुबेर उपचारका लागि तातोपानी कुण्डमा स्नान गर्नेको भीड लाग्छ । नेपाल र भारतका ठूला अस्पतालमा उपचार गर्दा पनि निको नभएका बिरामी उहाँ उपचारका लागि आउने गरेका छन् । परिवार र आफन्तको सहायतामा तातोपानी कुण्ड पुग्ने बिरामी लगातार हप्ता दिनसम्म स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्कने गरेको स्थानीय कृष्णबहादुर केसीले बताउनुभयो । “तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको केन्द्र बन्दै गएको छ, यसले म्याग्दी जिल्लाको गौरव बढाउनाका साथै स्थानीयको आम्दानीसमेत वृद्धि भएको छ, विदेश गएकाहरू पनि फर्केर यहाँ होटललगायत अन्य व्यवसाय गर्न थालेका छन्”, केसीले भन्नुभयो । वार्षिक करिव २० हजार जनाले तातोपानी कुण्डमा स्थान गर्न आउने गरेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । कोरानाकालका २ वर्षबाहेक त्यसअघिका वर्षहरूमा यहाँ कात्तिकदेखि फागुन महिनासम्म थेगीनसक्नुको भीड हुने गर्दथ्यो । कात्तिक दोस्रो सातासम्म सात सयजना भन्दा बढीले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । नेपालबाट मात्रै होनइ, भारत र तेस्रो मुलुकबाट पनि स्नान गर्न आउने बिरामीको सङ्ख्या बढ्दो छ । स्नान गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि पुरुष र महिलालाई पालैपालो स्नानका लागि व्यवस्था गरिएको छ ।
पोखरा: नेत्रहिन युवा संघ नेपाल कास्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै सरोकारवाला निकायलाई सहजिकरण गरिदिन आग्रह गरेको छ । संघले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई अपाङ्गता मैत्री बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तिहरुसँग सांकेतिक भाषमा सञ्चार गर्न सक्ने वाताबरण सिर्जना गरिदिन सम्वन्धित सरोकारवालासंग अनुरोध गरेको हो । अपाङ्गता भएका व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरूलाई सहजिकरण गरिदिन संघले आग्रह गरेको छ। ‘नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तराष्ट्रीय महासन्धीको धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनितिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ तर पनि अपाङ्गता भएका व्यक्तिहरु विभिन्न भौतिक सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो वालिग मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम नै छ। तसर्थ, कोहि पनि अपाङ्गता भएक व्यक्तिहरु आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपाङ्गताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु र सम्बन्धिर सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसर्ता लिइदिनहुन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बुधबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिनुभयो । त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
काठमाडौँ: आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उहाँले भन्नुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भन्नुभयो । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ । “अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताउनुभयो । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उहाँको भनाइ छ । तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उहाँले भन्नुभयो । मङ्सिर ४ गते उडान नहुने मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ । “चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भन्नुभयो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।
ललितपुर: ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनसन बसेका छन्। उनले मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्। उनले सात बुँदे मागसहित अनसन सुरू गरेका छन्। पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्। ‘निवर्तमान सासंद नवराज सिलवालले यस क्षेत्रमा कहाँ कति खर्च गरेरु त्यो सार्वजनिक हुनुपर्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले केही थाहा पाएनौं, त्यसैले सार्वजनिक गर्न माग गरेको छु।’ गाउँमा बाँदरले दुस्ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्। त्यस्तै गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्। उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। ‘मौन अवधिले केही गर्दैन। मौन अवधि सुरू भएपछि सत्याग्रह गर्न हुन्न भनेर कानुन पनि छैन,’ उनले भने, ‘सत्याग्रह गर्न पाउने मेरो नैसर्गिक अधिकार हो। माग पूरा नभएसम्म अनसन जारी रहन्छ।’

