काठमाडौँ: पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउँदै आफ्नो कर्मथलोतर्फ उहाँ लाग्नु भएको हो । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरु पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए । श्रमिकका रुपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्मराउँदै थियो । उहाँको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उहाँ मलेसिया फर्कने समय आयो । गाउँमा चुनाव पनि आयो, आफन्त, छिमेकीहरु कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने छलफलमा जुट्दै गर्दा उहाँलाई भने खल्लो अनुभव भयो । कारण उहाँ मतदाता हुनुहुन्थेन । त्यसैले भोट हाल्न पाउनु भएन । लामो समय परदेश बसेकाले उहाँले मतदाताको सूचीमा नाम लेखाउन पाउनु भएन । विदेशबाटै नाम लेखाउने व्यवस्था थिएन । “चुनावका दिन मत हाल्न नपाउँदा मन खिन्न त भयो नि”, उहाँले भन्नुभयो, “मत हाल्न नपाए पनि केही छैन, तर राम्रो उम्मेदवारले जीत हासिल गर्न सकोस् भन्ने उहाँको चाहना थियो ।” बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँ जस्तै कैयन युवाले दिएको मत भने परेको थिएन । मतको तथ्याङ्कमा उहाँहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उहाँहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ । चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरुआती नतिजाले भने उहाँलाई खुसी बनाएको छ । “पुराना नेताले केही गरेनन्, यो चुनावबाट नयाँ नेता आइदिएहुन्थ्यो भन्ने लागेको थियो, त्यस्तै हुन्छ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।” कोइरालासँगै श्रम गर्न मलेसिया जाँदै गर्नुभएका जनकपुरका दिलचन मुखियालाई पनि चुनावमा मतदान गरेर खाडीमा श्रमदान गर्न जानपुर्दा निको लागेको छैन । “हामी त भोट न हाल्ने हो, नेतालाई भोट चाहिएको छ र हामीलाई नोट”, मुखियाले भन्नुभयो, “हामीसँग भएको भोट दियौँ, अब नोट कमाउन मलेसिया जाँदैछु ।” उहाँको भाइ स्वास्थ्य सहायक विषय पढ्दैछन् । मलेसियामा कमाएको केही पैसा उनको पढाइ खर्च र बाँकी परिवारलाई पठाइदिने उहाँले सुनाउनुभयो । पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरुको लाइनमा भेटिनुभयो । उहाँ श्रम भिसामा दोस्रो पटक दक्षिण कोरिया जाँदै हुनुहुन्थ्यो । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उहाँलाई । “कोरियामा त दुःख कति छ भनेर कुरा नगरौँ होला, त्यही तलब चार लाखसम्म हुन्छ भनेर मात्रै चित्त बुझाउने हो”, उहाँले भन्नुभयो । राई चुनावपछि बन्ने नयाँ सरकारले आफू जस्ता युवाका लागि स्वदेशमै जागिर खाने नीति ल्याइदिए हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ । “मुलुक रेमिट्यान्सले धानेको छ, रेमट्यिान्स आएन भने पेट्रोलदेखि खाद्यान्न किन्ने पैसा पनि हुन्न, यही रेमिट्यान्सले गाडीदेखि सबै किन्नु परेको छ,” राईले भन्नुभयो, “अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामी जस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।” राईजस्तै दोस्रो पटक कोरिया जान लाग्नुभएका बाग्लुङ भिमपोखराका विष्णुप्रसाद शर्मा (३१)ले आफू रहरले नभई बाध्यताले विदेश जानु परेको बताउनुभयो । “गाउँमा चुनावको माहोल बढ्दै थियो, तर मङ्सिर १ मा काठमाडौँ आउनु परेकाले मतदान गर्न पाइन”, उहाँले भन्नुभयो, “मतदान गर्न पाएको भए रमाइलो हुन्थ्यो तर केही छैन कोरियामा श्रमदान गरेर भए पनि देशका लागि सहयोग पुर्याउने छु ।” पाँचथरका राईको जस्तै सोच रामेछापका सूर्यबहादुर कार्कीको पनि छ । चार वर्ष मलेसियामा कमाएको १० लाख रुपैयाँ खर्चेर गोकर्णेश्वरमा सुरु गरेको गोलभेडा खेतीमा लगानी डुबेपछि उहाँ बुधबार फेरि मलेसिया जान लाग्नु भएको थियो । “अघिल्लो वर्ष कोरोना महामारीले केही गर्न सकिएन भने गत वर्ष समयमा बिउ पाइएन”, उहाँले भन्नुभयो, “समयमै काम हुन नसक्दा उत्पादन कम भयो, त्यही उत्पादनले पनि बजारमा राम्रो भाउ पाएन, अनि लगानी डुब्यो ।” बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताउनुहुन्छ । “अर्बौं रकमको डलर खर्चेर तरकारी खानु परेको छ, त्यही पैसा कमाउन हामी विदेश हिँडेका छौँ तर स्वदेशी उत्पादनलाई प्रोत्साहन नै गरेको देखिन्न”, उहाँले भन्नुभयो, “सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरुपमा गोडभेंडा खेती सुरु गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बीचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।” परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरु नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौँ आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।” बोहोरा चुनावलाई लिएर त्यति उत्साही पनि हुनुहुन्न । “चुनाव त आउँछ जान्छ, नेताहरु फेरिन्छन्, सरकार बनाउनेहरु फेरिन्छन्,” उहाँले भन्नुभयो, “तर हाम्रा दुःख फेरिन्नन्, विदेश जानुपर्ने अवस्था बदलिन्न ।” चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरुबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरु भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरुका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरु अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् ।
काठमाडौं: बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत् लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत् लिन लागेको हो । यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् आपूर्ति दिने छ । थप विद्युत् आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६÷११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो । योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । “उद्योगले अहिले चार दशमल आठ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोडबमोजिम थप विद्युत् दिन सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिकरुपमा रु २० करोडभन्दा बढी महसुल तिर्ने छ ।”
पाटन प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ । उहाँले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय हुनुभएको हो । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्) पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्नमा चुनाव लड्नुभएका उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गर्नुभएको हो । काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ । निर्वाचनमा विजयी भएपछि उहाँले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।”
काठमाडौँमा: काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका– ४ गोदामस्थित सडकमा चित्लाङ्बाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।
सिन्धुली: सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो । दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।
पोखराः घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई छैठौं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ । घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद रु २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो । ७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकङ्कन गर्दै छैठौं औं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । उनका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं । विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’ सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । क्होइबों धिं निर्माणार्थ १० लाख ६० हजार सहयोग सो कार्यक्रमको अवसरमा घान्द्रकमा निर्माण हुन लागेको (कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले आज (मंगलबार) घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजारको हस्तारण गरेको हो । आर्थिक हस्तातरणपछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । ‘विभिन्न देशविदेशमा घान्द्रकका समुदायहरु बसोबास गर्दै आएका छन्, उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ । समाजमा आर्थिक, नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ ।’ घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर काम अगाडी बढाउने उद्घोष गरे । ‘चाँडै नै बनाउने तयारी हो तर नेपाल मात्र नभएर विश्व नै कोभिड महामारिले काम गर्न सकिएन अब फागुनबाट निर्माणको तयारी गछौं’ उनले भने । कार्यक्रममा घान्द्रुुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष मिलन गुरुङको सभापतित्वमा सम्मन्न कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए ।
धनकुटा: धनकुटामा शङ्कास्पद बस्तु फेला परेको छ । धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को बेलहारामा रहेको प्रहरी कार्यालयको डेढ किलो मिटरमाथि शङ्कास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । नेपाली सेना घटनास्थल पुगेपछि मात्र बम भए नभएको पुष्टि हुने उहाँले जानकारी दिनुभयो ।
बाजुरा: निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ।
रामेछाप: रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

