पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

तनहुँ:  तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि मतदान गर्न तयारी अवस्थामा हुनुहुन्छ । निर्वाचनमा मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा थापाजस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिलाई समस्या हुँदै आएको छ ।  “मतदान केन्द्र अपाङ्गमैत्री नहुँदा मतदान गर्न जान निकै अप्ठ्यारो हुँदै आएको छ, मतदान केन्द्र अपाङ्गतामैत्री भइदिए सहजरूपमा मतदान गर्न पाउँथ्यौँ”, उहाँले भन्नुभयो, “चौर भएको ठाउँमा ह्वीलचियर गुडाउन गाह्रो हुन्छ, मेरो ह्वीलचियर त बरु त्यस्तो ठाउँमा पनि गुड्न सक्ने भएकाले म आफैँ एक्लै मतदान केन्द्रसम्म पुग्न सकेँ ।” मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा मत खसाल्ने बेला अप्ठ्यारो हुने गरेको उहाँको अनुभव छ । “छाप लगाउने ठाउँमा टेबल अग्लो भइदिँदा हामीजस्ता ह्वीलचियर प्रयोगकर्तालाई छाप लगाउन गाह्रो हुने गरेको छ, मतपेटिका पनि अग्लो स्थानमा राखिदिँदा मत खसाल्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो । मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाउन पटक–पटक माग गर्दै आए पनि आफूहरूको मागको सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको सहृदयी मञ्च तनहुँका सचिव रहनुभएकी उहाँले भन्नुभयो, “हामीहरूले यस विषयमा आवाज उठाउँदै आएका छौँ, तर पनि सुनुवाइ हुँदैन ।” अधिकांश मतदान केन्द्रमा ह्वीलचियर लैजान नै नसकिने उहाँको अनुभव छ । मतदान केन्द्र विद्यालयमा हुने र त्यहाँ प्रवेशद्वार हुने भएकाले ह्वीलचियर लैजान समस्या हुँदै आएको छ । “प्रवेशद्वार अपाङ्गतामैत्री हुँदैन, सिँढी हुन्छ, कतिपय प्रवेशद्वार खोलिदैन”, आफ्नै अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “ह्वीलचियर लैजान नमिलेपछि मलाई उचालेर भित्र लगिएको थियो ।”  स्थानीय तह निर्वाचनमा आफूसँग गएको सहयोगीले तपाईँ गेटमै बस्नुस्, म भोट हाल्दिहाल्छु नि भनेको सम्झिँदै उहाँले आफूहरू त्यस्तो नचाहने बताउनुभयो । “हाम्रो भोट अरुले हालिदिओस् भन्ने हामी चाहँदैनौँ, म अपाङ्गता हो, मेरो आधा शरीरले काम नगर्ला, मेरो एउटा अङ्गले काम नगर्ला”, उहाँले भन्नुभयो, “मतदान गर्ने मेरो अधिकार म आफैँ प्रयोग गर्छु ।” मतदान केन्द्रमा जानका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिने गरिए तापनि केन्द्र नै अपाङ्गतामैत्री नहुँदा समस्या हुँदै आएको रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोलाले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म पुगेर मतदान गर्न अप्ठ्यारो हुने भएकाले सहजरूपमा वातावरण मिलाउन माग गरिए पनि मागको सुनुवाइ हुन नसकेको सहृदयी मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो ।  निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले मतदान केन्द्र व्यवस्थापन गर्दा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताउनुभयो । “मतदान केन्द्रलाई तत्कालै केही गर्न सक्ने अवस्था छैन, मौजुदा केन्द्रहरूमा अपाङ्गता भएका व्यक्तिलाई सहजरूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउँछौँ”, ढकालले भन्नुभयो ।  जिल्लामा तीन सय पाँच मतदान केन्द्र छन् । सबै मतदान केन्द्र विद्यालय र गाविस भवनमा निर्धारण गरिएको छ । विद्यालय र गाविस भवनका मतदान केन्द्र अपाङ्गतामैत्री छैनन् ।

  बर्दिया: बर्दियाको मधुवन नगरपालिका ८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो । बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

  नवलपरासी: नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्यापर समेत रहेका कावासोती–१ निवासी २० वर्षे मिलनजङ्ग कुँवर बिरामी भएर घर आउनुभएको थियो । उहाँको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते हुनुभएको हो ।  घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताउनुभयो ।

  पोखरा:  पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो । सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए । उनले पोखरा –१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए। साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा क्लब लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने उनले विश्वास व्यक्त गरे । अभियानमा सहभागी सबैलाई वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियाले मास्क तथा ग्लोब वितरण गरेकी थिइन्। सफाइ अभियानको छैटौँ शृङ्खला आगामी मङ्सिर २४ गते हुनेछ।  

  कैलालीः कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो ।    “हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ”, लक्ष्मणले भन्नुभयो, “निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउनुहुन्छ । आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छौँ । अहिले सिकेको सीप भोलि काम लाग्छ । पारसले भन्नुभयो, “घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमूना मतदानले दिएको छ ।” मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउनुहुन्छ । “अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ”, मेरिकाले भन्नुभयो, “सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ ।”  कक्षा १० का विनोद जोशी नमूना मतदानमा मतदान अधिकृतको भूमिकामा रहनुभयो । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्वका बारेमा सक्षम बनाएको उहाँको भनाइ छ । “पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ”, जोशीले भन्नुभयो, “हामीमा आमनिर्वाचनमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमूना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।”   सो विद्यालयमा  कक्षा १० को  सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमूना मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो ।   “हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई निर्वाचन गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा निर्वाचनको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ”, प्रधानाध्यापक शर्मा भन्नुहुन्छ, “विद्यार्थीले पनि नमूना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।”  उहाँले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताउनुभयो । “सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौँ”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “त्यसैको एक उदाहरण हो नमूना मतदान पनि ।”

  तनहुँ: तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा स्थित  रिमाल अटो केयरमा कार्यरत विरम आलेको हत्या भएको छ । सोहि अटो केयरमा कार्यरत पूर्व कर्मचारी सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षिय यन बहादुर चौधरीले शुक्रवार दिउँसो रड प्रहार गर्दा उनको मृत्यु भएको हो । रड प्रहारपछि घाइते भएका २४ वर्षिय आलेलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।  उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जानकारी दिए । आले देवघाट–२ घर भई हाल दुलेगौंडामा बस्दै आएका थिए । रड प्रहार गर्ने चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईको अर्यालले बताए 

  पोखरा:  यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए ।  सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए । ‘किताबी गृहकार्य मात्र दिएर बोझ बोकाउनु हुँदैन । विद्यार्थीमा भएका आन्तरिक क्षमता पनि बाहिर ल्याउनुपर्छ,’ सापकोटाले भने, ‘विद्यार्थीमा रहेको ज्ञान र आन्तरिक क्षमता बाहिर ल्याउन शैक्षिक संस्थाको पनि दायित्व हो ।’ प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उनले भने । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए । ‘यो एउटा खोज पनि हो । विद्यार्थीले आफुभित्र लुकेको कुरालाई बाहिर ल्याउनुपर्छ । नयाँ कुरा सिक्नमा सधैं चाँसो दिनुपर्छ,’ पौडेलले भने, ‘यो मेहनतलाई आगामि दिनमा निरन्तरता दिनपर्छ । परिश्रम गर्नबाट कहिल्यै पछाडि हट्नुहुँदैन ।’ प्रदर्शनीमा सहभागि भएका विद्यार्थीको समुहबाट उत्कृष्ट समुहलाई पुरस्कृत गरिने निर्देशक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हरेक समुहमा ३ जना विद्यार्थी सहभागि छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् । उत्कृष्टमध्ये प्रथम हुने समुहले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोश्रो समुहले १५ र तेश्रो तथा चौथो समुहले ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् ।  कार्यक्रममा सहभागि विश्वविद्यालय पदाधिकारी सहितका पाहुनाले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका थिए । विद्यालयले ११ र १२ कक्षाका व्यवस्थापन विषयका विद्यार्थीका लागि शनिबार ‘व्यवसायिक योजना’ बारेको प्रस्तुती राखेको छ । यसमा ११ र १२ कक्षाका विद्यार्थीले एकअर्काबीच आफुले बनाएको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् ।  पोखराको प्रतिभा माविमा शुक्रबार आयोजित विज्ञान प्रदर्शनीमा सहभागि विद्यार्थी ।   

  घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ ।      उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको  सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थाल्नुभएको हो । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउनुहुन्छ ।  “कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उहाँले भन्नुभयो, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउनुहुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनुहुन्छ ।  निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनुभयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो ।  “पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए”, अनिता भन्नुहुन्छ । उहाँले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गर्नुभयो ।  “ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उहाँले भन्नुभयो, “विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।  “अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्नुहुन्छ, “तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । “निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भन्नुभयो, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो  होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।”  अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुनुहुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गर्नुभएकी उहाँले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्नुभएको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाल्नुभयो । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनुहुन्छ । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भन्नुभयो ।  

पोखरा:   मंसिर ४ गतेको चुनावी माहोल दिनप्रतिदिन बढीरहेको छ । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई कात्तिक १७ देखि १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुुस, आमसभा गर्न अनुमति दिएसँगै चुनावी सरगर्मी बढेको छ ।    २०७४ को प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा नेकपा एमाले, माओवादी र जनमोर्चा सयुक्त बामगठबन्धन गरी निर्वाचनमा होमिए, दुईतिहाईसहित केही वर्ष स्थिर सरकार चलाए तर बाम गठबन्धन ५ वर्षपनि टिक्न सकेन ।    बाम गठबन्धन फुटेर अहिले पाँचदलिय गठबन्धन र केही जिल्लामा एमालेसहितका गठबन्धनसँगै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । सबैले आफु चुनाव जितेर गए देशसँगै आफ्नो क्षेत्रको विकाससँगै समृद्धको सपना बाँड्दै चुनावी प्रचारप्रसारमा लागेका छन् ।    तर राजनीतिक दलको हबिगत हेर्दा अहिले युवापुस्ताहरु भने सन्तुष्ट देखिदैनन् । यसैबीच, निर्वाचन विशेष समाचार रिपोर्टिङकोक्रममा भेटिइन पर्वत कुश्मा नगरापालिका ११ का सुमित्रा रिमाल । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन उनको पहिलो मतदानको अनुभव हो । उनले स्थानीय निर्वाचनमा पार्टी र कसैको सिद्धान्त नहेरी योग्य जनप्रतिनिधिलाई मतदान (भोट) दिएको बताइन् ।    उमेरले २५ वर्ष पुगेका रिमाल पोखरामा बस्दै आएकी छिन् । आफु शारीरिक अपाङ्गता भएका कारण आफुसँगै अपाङ्गता भएका नागरिकको पक्षमा र देशलाई समृद्ध बनाउने उम्मेदवारलाई मतदान गर्ने उनको योजना रहेको छ ।    यस्तै म्याग्दीको मालिका गाउँपालिका ३ स्थायी घर भएका मिलन पर्तेलसँग मतदान गर्न पाउने परिचय पत्र नभएका कारण मतदान गर्न नपाउने भए पनि योग्य व्यक्तिलाई मतदान गर्न सुझाव दिए ।  ‘म्याग्दी हिमाली जिल्लामा कायम भएपनि त्यही अनुसारको राज्यबाट नीति निर्माण र बजेट बिनियोजन हुन सकेको छैन’, उनले भने,‘ समर्ग म्याग्दी बासीको समस्यालाई समाधान गर्न सक्ने र जिल्लाको विकासमा विशेष ध्यान पुर्‍याउन सक्ने उम्मेदवारलाई मतदान गर्नुहोला ।’   बजार देखि गाउँको आगनसम्म चुनावी माहोलले तातिरहेको छ । कस्तो उम्मेदवारलाई विजयी बनाउने जिम्मामा मतदाताको हातमा रहेको छ । यस्तै दृष्टिविहिन सञ्जु रानाले भने दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएको व्यक्तिको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्ने योजना सुनाइन् ।    २७ वर्षीय राना स्याङ्जाका मतदाता हुन् । उनले आफै मतदान गर्न भने सक्दैन् कारण हो उनी दृष्टि बिहिन जसले गर्दा गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मतदान गर्न बाबाको सहयोग लिनुपरेको थियो ।  पोखराको पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर चौथो सेमेष्टरमा अध्ययनरत उनी योग्य र सक्षम नेतृत्व चुन्न मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुदैछिन् ।    कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक यसै क्षेत्रका मतदाता सर्पन भुजेलले यस निर्वाचनमा फरक उम्मेदवारले जित्नुपर्ने तर्क राखे ।  ‘आफ्नो पक्षमा मतदान गर्न राजनीतिक पार्टीदेखि स्वतन्त्र उम्मेदवार घरदैलोमा आएका छन्’ उनले भने, अघिल्लो निर्वाचनमा जितेर गएका उम्मेदवारले सोजेजस्तो काम गर्न नसकेकाले फरक उम्मेदवारलाई मतदान गर्न पर्छ ।’