पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।    बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।      कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।  बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उहाँले जानकारी दिनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो । मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिनुभयो  । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ । 

  तनहुँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ  क्षेत्र नं १  का विकास सिग्देलले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताएका छन् । बन्दिपुर गाउँपालिका ६ मा उनले प्रचार प्रसारको क्रममा उनले आफ्नो जित पछी स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधारका काम गर्ने बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्र अनुसार प्रत्येक स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था गर्ने, एक्सले, ल्याप जस्ता समान्य काम स्वास्थ्य चौकिबाट नै लिने व्यवस्था लिने व्यवस्था सुनाए ।  ६० वर्ष पुगेको बृद्धलाई मोबाइल एम्बुलेन्स एपको मार्फत सेवा प्रदान गर्ने बताए । मुटुका र क्यानसरको बिरामीको लागि प्रदेश स्तरिय ठुला अस्पताल संचालन गर्ने बताए । युवालाई रोजगारीको योजना सुनाउदै उनले मत परिर्वतन गरे आफुले देश परिर्वतन गर्ने बताए ।  प्रचार प्रसारको लागि विभिन्न ठाउँमा पुग्दा ठुला पार्टीले काम नगरेको गुनासो गर्दै जनताले नयाँ पार्टीलाई मत दिने धारणा राखेका थिए । जनतासंग आफुले ढाट्न छल्न नभइ काम गर्नको लागि आएको बताएका छन् ।  यस अघि तनहुँ व्यास १ को भादगाउँ लगायतका विभिन्न ठाउँमा प्रचार प्रसार गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् । सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै  प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।  

  पोखरा । पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदाई हुने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतीका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्रि गर्दै आएको छ । 

  पोखरा । ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ । पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो । कार्यक्रममा स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्त्रण गरेकी हुन् । सो अवसरमा बोल्दै केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे । कार्यक्रममा पूर्व एसएसपी कृष्ण बहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । गत वर्ष स्व. केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु. १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो । यसैविच कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्ष्यकोषको स्थापना गरेको छ । बिहीबार सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा स्व.गुरुङकी श्रीमती तुलसी गुरुङले आफ्ना श्रीमान्को स्मृतिमा ५० हजार रुपैयाँको अध्यक्षकोष सञ्चालन गर्ने गरि रकम हस्तान्त्रण गरेकी हुन् । क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत र सञ्चालन महासचिव रामजी प्रसाद अधिकारीले गरेका थिए । एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले बताए । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा ’ गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजन समेत गर्दै आइरहेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।

  मुगु: गत असोजको अन्तिम साता आएको भारी वर्षाका कारण साना जलविद्युत्गृहमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले मुगु र हुम्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।     पहिराले क्षति पुर्याएका विद्युत्गृह पुनःनिर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत् उपलब्ध नहुने अवस्था आएपछि प्राधिकरणले तत्कालका लागि डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी मुगु र हुम्लामा आपूर्ति गर्नेछ । यसका लागि प्राधिकरणले जेनेरेटरको व्यवस्था ती जिल्लामा पुर्याइसकेको छ ।     गत असोज १९ देखि २५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिराले  मुगुस्थित चार सय किलोवाट क्षमताको गमगाढ र हुम्लास्थित पाँच सय किलोवाटको हेल्दुङ साना जलविद्युतगृहको नहरमा ठूलो क्षति पुर्याएको थियो ।     नहरमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि मुगु र हुम्ला विद्युतविहीन भएका थिए । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा दुई जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छैन । क्षति पुगेका विद्युत्गृहका संरचनाको पुनःनिर्माण भइरहेको छ ।     प्राधिकरणले गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि कालीकोटमा रहेको तीन सय केभिए क्षमताको जेनेरेटर मुगु पुर्याएको छ । हुम्लाको सिमिकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिका लागि एक सय २५ र एक सय केभिए क्षमताका जेनेरेटरको व्यवस्था गरिएको छ । प्राधिकरणका मुगुमा तीन हजार एक सय र हुम्लामा दुई हजार तीन सय ग्राहक छन् ।     जेनेरेट कुलेखानी विद्युत् गृह र नयाँ बुटवल सबस्टेसनबाट सिमिकोट लगिएको हो । प्राधिकरणले ती जेनेरेट सडकबाट ढुवानी गरी मुगुको गमगढीसम्म लगेको थियो । राष्ट्रिय सडकले अहिलेसम्म नजोडिएको हुम्लामा गमगढीबाट जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने डिजेल हेलिकप्टरमार्फत ढुवानी गरी सिमिकोट पुर्याएको छ ।     प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादव सम्मिलित टोली बुधबार जेनेरेटर लिएर सिमिकोट पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरण र हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले पहिराले क्षति पुर्याएको हेल्दुङ विद्युत्गृहको संरचना र त्यहाँ भइरहेको पुनःनिर्माणको स्थलगत निरीक्षण गरेको थियो । टोलीले एक महिनाभित्रमा पुनःनिमाणको काम सम्पन्न गर्न निर्माण व्यवसायी लगायतलाई निर्देशन दिएको छ ।     कार्यकारी निर्देशक घिसिङले साना विद्युत्गृहको पुनःनिर्माण भइरहेको र यसका लागि अझै कम्तीमा एक महिना लाग्ने देखिएकाले यस अवधिमा त्यस क्षेत्रको विद्युत्विहीनताको अवस्थाप्रति संवेदनशील भई तत्कालका लागि हेलिकोप्टरमार्फत जेनेरेटर र डिजेल ढुवानी गरी वैकल्पिक रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो ।     “जेनेरेटरमार्फत विद्युत् उत्पादन गर्दा लागत प्रतियुनिट रु ८० भन्दा बढी पर्छ, तर यहाँका अधिकांश ग्राहकबाट न्यूनतम रु ३० मात्र उठ्छ, यहाँ खपत हुने विद्युत्को आम्दानीभन्दा लागत दोब्बर बढी महँगो छ, तर सबैको घरमा उज्यालो पुर्याउने राज्यको दायित्व भएकाले नाफा नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुका रुपमा लिएर हेलिकप्टरमार्फत सामान ढुवानी गरेरै भए पनि आपूर्तिको व्यवस्था गरेका छौँ”, घिसिङले भन्नुभयो ।     क्षति पुगेका विद्युत्गृहको जतिसक्दो छिट्टो पुनःनिर्माण तथा मर्मत गर्ने तयारी छ । त्यस स्थानको भौगोलिक अवस्थिति र बनावट हेर्दा त्यो पनि दीर्घकालीन हुने जस्तो देखिएको छैन । तसर्थ सौर्य ऊर्जा केन्द्रको स्थापना गर्ने र दुई वर्षभित्रमा कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरणले जनाएको छ ।     हुम्लाका प्रमुख जिल्ला अधिकारी परियारले स्थानीय सरकारी कार्यालय तथा प्राधिकरणबाट रकम जोहो गरिएको र जनश्रमदानमार्फतसमेत  पहिराले क्षति पुर्याएको विद्युत्गृहको नहरको पुनःनिर्माण भइरहेको बताउनुभयो ।     “पुनःनिर्माणमार्फत विद्युत्गृह तत्कालका लागि सञ्चालनमा ल्याए पनि त्यो क्षेत्र विपद् जोखिमयुक्त भएकाले दीर्घकालीन हुँदैन, त्यसैले विद्युत् आपूर्तिको स्थायी विकल्प खोजी गरी तत्काल काम सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।     मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगाढ विद्युत्गृहको पुनःनिर्माण जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले पुनःनिर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

  काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । आयोगले निर्वाचनका लागि  कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ ।

  स्याङ्जा । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताउनुभयो । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो । “विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ”, उहाँले भन्नुभयो, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।” डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाउनुभएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उहाँ चिन्तामा हुनुहुन्छ । “धान ठटाउनै पर्दैन, पराल हरियै छ, बल्ने भए आगो लगाइदिन्थे”, उहाँले भन्नुभयो, “विगत वर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो, यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।” यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताउनुभयो । कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उहाँले बताउनुभयो । “यो ठाउँमा अन्य कृषकले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन”, उहाँले भन्नुभयो, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।” ‘युएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उहाँको दाबी छ । केही दिनअघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा चार÷पाँच दिनको अविरल वर्षा मुख्य कारण भएको उहाँ बताउनुहुन्छ ।

  म्याग्दी:  वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।   मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।