लुम्बिनी । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उहाँलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी हुनुहुन्छ । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो तर अहिले गएर बुझ्दा खातामा पैसा छैन”, उहाँले भन्नुभयो । सम्मरीमाई–७ का ५० वर्षीय रामदास लोधका दुई भाइ छोरा वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतारमा कमाएको पैसाले घर बनाउने योजनाअनुसार उहाँहरूले महिनैपिच्छे पठाउनुभएको पैसा बाबु रामदासले नजिकैको शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गर्दै भौचर लिँदै आउनुभयो । तर बैंक स्टेटमेण्टमा उहाँको खातामा पैसा छैन । गत साउन महिनामा नयाँ घर बनाउने भनेर जब उहाँ बैंकको भैरहवा शाखामा पैसा निकाल्न जानुभयो, उहाँको खातामा मात्र रु ९० हजार मात्र रहेको थाहा पाउनुभयो । यो अवधिमा उहाँले सो बैंकमा रु चार लाख जम्मा गरिसकेको बताउनुहुन्छ । अहिले उहाँ बैंकले नै पैसा गायब पारिदिएको दुःखेसो पोख्दै न्यायको खोजीमा भौँतारिरहनुभएको छ । सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि माछापुछ्रे बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी रु १५ लाख ८० हजार जम्मा गर्नुभयो । उहाँको खातामा पनि उक्त पैसा छैन । खातामा पैसा नदेखिएपछि उहाँले बैंकमा निवेदन दिन जानुभयो तर बैंकले उहाँको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिन तयार नरहेको उहाँको गुनासो छ । आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गर्नुभएको भौचर छ । तर, उहाँहरुको बैंक खातामा भने रकम छैन । खातामा जम्मा गरिएको रकम कहाँ गयो रु भन्ने प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको सेवाग्राहीको भनाइ छ । सेवाग्राहीले क्षमताअनुसार रु पाँच हजारदेखि १६ लाखसम्म जम्मा गरेको बताएका छन् । यसरी जम्मा गरेको करिब रु तीन करोड एजेन्ट र बैंककै कारण गायब भएको उहाँहरूको गुनासो छ । पैसा जम्मा गर्नेहरूले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैँसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका रहेछन् । बैंक र त्यसका एजेन्टलाई कडा कारबाही हुनुपर्ने उहाँहरूको माग छ । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ्रे बैंकले त्यहाँ स्थानीय एजेन्ट रोइनिहवाका निरञ्जन पाठकसँग सम्झौता गरेर शाखारहित बैंकिङ सेवा दिँदै आएको हो । पाठकले बैंकमा सेवा दिनका लागि बैंकका कर्मचारी स्थानीयवासी सिकन्दर ठाकुरलाई व्यवस्थापक राख्नुुभएको थियो । सेवाग्राहीले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएबापतको डिपोजिट भौचर ल्याउने गर्नुहुन्थ्यो । निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ्रे बैंकले भने अनुसन्धान भइरहेको भन्दै ढाँट छल गरिरहेको सेवाग्रहीको आरोप छ । वडा नं ५का वडाध्यक्ष श्रवण यादवले भन्नुभयो, “बैंकले स्थानीयवासीको रकम गायब हुँदा अहिलेसम्म पनि एजेन्टविरुद्ध कुनै कारवाही गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ ।” वडाध्यक्ष यादवले यसबाट स्थानीयवासी झनै सशंकित हुनुपरेको उल्लेख गर्दै सेवाग्रहीले जोड्नुभएका एक–एक पैसा ब्याजसहित बैंकले तिर्नैपर्ने बताउनुभयो । बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।” सेवाग्राहीको दाबी सबै सत्य नभएको र रु एक करोड ३२ लाख मात्र अनियमित भएको उहाँको भनाइ छ । त्यसैगरि बैंकका एजेन्ट निरञ्जन पाठकले भन्नुभयो, “यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।” एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले उहाँले सेवाग्राहीको पैसा तिर्नुपर्ने बताउनुभयो । सो सम्बन्धमा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयका प्रवक्ता सुनिल खतिवडाले भने अब अनुसन्धान गरेर स्थानीयवासीको मर्का बुझ्ने बताउनुभएको छ ।
बागलुङ । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउने गरेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन् । घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने हुँदा उनीहरुले ऊनको कपडा बढी प्रयोग गर्छन् । यहाँका अधिकांश स्थानीयवासीले सयौँको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरुले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन् । निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ । कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मासु स्थानीयस्तरमै बिक्री हुने गरे पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गर्दछ । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ । युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन् । तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षको हुनुहुन्छ । उहाँले अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौँबाट कपडा बनाउँदै आउनुभएको छ । ऊनबाट बन्ने कपडा सानैबाट बनाउन सिक्दै आउनुभएकी छलीमायाले यो सीप आमाबाट सिक्नुभएको हो तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उहाँको गुनासो छ । “मैले सानैदेखि बुन्दै आएको हुँ, सानोमा आमाले बुनेको देखेँ, गाउँमा छरछिमेकीले पनि बुन्ने गर्थे, त्यसपछि मैले पनि बुन्न थाले, अहिलेसम्म बुन्दै छु, हात चल्दासम्म बुन्छु नै”, छलीमाया भन्नुहुन्छ, “अहिलेका युवापुस्ताले यस्ता काम गर्नै जान्दैनन्, चासो पनि दिँदैनन्, भेडाबाख्रा पाल्नै छोडे, हाम्रो सासपछि यो सबै हराएर जान्छ होला, मैले नातिनातिनीलाई सिकाउन धेरै खोजेँ तर चासो दिएनन् ।” आफूहरु सानो हुने बेला सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौँबाटै डसना र सिरक बनाएर प्रयोग गरेको स्मरण छलीमाया गर्नुहुन्छ । “हामी सानोसानो हुँदा गाउँमा कपडा पाइँदैनथ्यो, अहिलेको जस्तो सिरक, डस्ना भन्ने बजारबाट आउँदैनथे, गाउँमै बाउआमाले भेडाको रौँबाटै बनेका घुम, काम्लो प्रयोग गर्नुपथ्र्यो, कपासको कपडा त धेरैपछि आएको हो हाम्रो ठाउँमा”, उहाँ भन्नुहुन्छ, “अहिले सबै कपासबाट बनेका सिरक डस्ना ओड्ने दोछ्याउने गर्छन्, त्यसले गर्दा पनि नयाँपुस्ताले ऊनबाट बन्ने कपडा बनाउन छोडे, यता तिर बिक्री पनि हुन छोडे, बरु विदेशतिर बढी जान्छ ।” ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए । हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे, मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे, अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडेँ ।” रौँबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको फूलकुमारीको भनाइ छ । “पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ” उहाँ बताउनुहुन्छ, “काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ ।” पहिले एक जनाले कम्तीमा दुई सयदेखि चार सयसम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले मात्रै भेडा पाल्ने गरेको फूलकुमारीकोे भनाइ छ । “उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्ने गर्थे, एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो, कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्”, उहाँ बताउनुहुन्छ, “पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किलपर्ने छ, भेडा पनि लोप हुन लागेका छन् ।” ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम रु सात हजारदेखि रु ५० हजारसम्म पर्ने गरेको स्थानीयवासीको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विक बताउनुहुन्छ । पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले मागसमेत घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातित कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उहाँको भनाइ छ । स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि राम्रो आम्दानी गर्न सक्ने उल्लेख गर्दै पुतली स्वदेशमा बढीमा रु ३० हजारसम्म पर्ने ऊनको कपडालाई विदेशमा रु ५०हजारदेखि रु एक लाखसम्मपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ऊनको कपडाको मूल्य निकै बढेको छ, स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएको हुँदा न्यून आय भएका नागरिकलाई गाउँपालिकाले यो सीप सिकाएर, आयआर्जनसँग जोड्नसके राम्रो हुने थियो, गरिबको जीवनशैली पनि बदलिने थियो ।”
काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एकसय ३१ ले अनुमति पाएका छन् । हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताउनुभयो । उहाँका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन । अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताउनुभयो । गोरखाको आरुखेतमा रहनुभएका उहाँले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ भन्ने विश्वास मैले लिएकी छु ।” उहाँले मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने बताउनुभयो । आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४६ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ छ पैसा तय गरिएको छ । त्यस्तै युरोको खरिद मूल्य एक सय २७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य एक सय २८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ । विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा गराईनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ । साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए । साइक्लिङ खेल अन्तरगत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ । ४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।
गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो । त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्व विजय घिमिरेलाई पराजित गर्नुभयो । त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रशान्तदासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहनुभएका सुरवीर लामाले पराजित गर्नुभएको छ भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल हुनुभएको छ । प्रतियोगिताअन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गर्नुभयो भने एनआरएनकी विनिता कपालीले मधेस प्रदेशकी सङ्गीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहेको छ ।
काठमाडौँ । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आउनुभएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ, शेर्पाले भन्नुभयो । सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन, कोदारीमा भेटिनुभएका पूर्णबहादुर श्रेष्ठले भन्नुभयो, “हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।” असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् । लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउनुहुन्छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउनुहुन्छ । लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिनुभएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक हुनुहुन्छ । तर अझै उहाँले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उहाँले बताउनुभयो । प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६÷७७ मा रु एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो । “सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ”, उहाँले भन्नुभयो । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किमी र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिकरूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहकरूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो । बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । “नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन् ।” मुलुककै राजश्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटेपनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।
पोखराः बागलुङका अर्णबहादुर खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका छन् । आज (बिहिबार) बिहान मर्निङ वाकमा निस्केका ४५ वर्षिया खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् । मानसिक रोगी रहेका अर्णबहादुर खड्का ( केदार खड्का ) हाम फालेर बेपत्ता भएको खड्काका दाजु गोविन्द खड्काले सुनगाभा न्यूजलाई बताए । ‘हामी नयाँगाउँबाट छोरेपाटनतिर जाँदै थियौं । म अगाडी थिए । पछाडी भाई र उसको छोरा थिए, उनले भने, ‘एक्कासी छोरो कराएपछि हेर्दा भाइले हामफालिसेको थाहा भयो। त्यसपछि प्रहरीलाई खबर गर्यौं ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारेको बताए । तिवारीका अनुसार बेपक्ता भएका खड्का बागलुङ नगरपालिका ३ गुठी घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्दै आएका थिए ।

