काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक चार सय ५० भन्दा बढी आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका पाँच आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणमा ११ आरोही समूहका एकसय ३१ ले अनुमति पाएका छन् । हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । यस्तै, धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि चार आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् । अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका नौ सय एक आरोही यहाँ आएका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि केही हिमालमा आरोहण अनुमति पनि जारी भइरहेको बताउनुभयो । उहाँका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन । अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताउनुभयो । गोरखाको आरुखेतमा रहनुभएका उहाँले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा रहेका छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले प्रशिक्षण प्राप्त गरेपछि प्रशिक्षार्थीले मतदातामा व्यापक जागरण ल्याउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो, “यो भूमिकामा यहाँ सक्रिय हुनुहुन्छ भन्ने विश्वास मैले लिएकी छु ।” उहाँले मतदातालाई सुसूचीत बनाउने आयोगको जिम्मेवारी पूरा गर्दै जनस्तरसम्म मतदाता शिक्षालाई मिहीन ढङ्गले बुझाउनुपर्ने बताउनुभयो । आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढी सदर मत गराउन प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४६ पैँसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपैयाँ छ पैसा तय गरिएको छ । त्यस्तै युरोको खरिद मूल्य एक सय २७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य एक सय २८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिएको छ । विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । जसले शोधनान्तरस्थिति र विदेशि मुद्रा सञ्चितिमासमेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल भोलिदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए । उनका अनुसार डाउन हिल र क्रस कन्ट्री पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा प्रतिष्पर्धा गराईनेछ भने रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट पोखराको याम्दी–हेम्जा सडकमा प्रतिस्पर्धा गराइनेछ । साइक्लिङको तयारी पुरा भइसकेको हुँदा शुक्रबार (आज) खेलाडीलाई ट्रयाक चिनाउने कार्य गरिएको नेपाल साइकल संघका प्रथम उपाध्यक्ष सुदिप पौडेलले जानकारी दिए । साइक्लिङ जोखिमयुक्त खेल भएकाले सुरक्षालाई विशेष ध्यान दिइने नेपाल साइकल संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए । साइक्लिङ खेल अन्तरगत शनिबार पोखराको तितेपानी रानीवन क्षेत्रको ट्रयाकमा डाउन हिल विधाको प्रतिस्पर्धा हुनेछ । त्यस्तै आइतबारपनि सोहि क्षेत्रमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुने र त्यसपछिका खेल याम्दी–हेम्जा सडकखण्डमा हुने आयोजकले जनाएको छ । ४ विधाबाट साइक्लिङमा पुरुष महिला गरि ८ स्वर्ण, ८ रजत र ८ कास्यका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् ।
गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो । त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्व विजय घिमिरेलाई पराजित गर्नुभयो । त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रशान्तदासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहनुभएका सुरवीर लामाले पराजित गर्नुभएको छ भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल हुनुभएको छ । प्रतियोगिताअन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गर्नुभयो भने एनआरएनकी विनिता कपालीले मधेस प्रदेशकी सङ्गीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहेको छ ।
काठमाडौँ । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आउनुभएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ, शेर्पाले भन्नुभयो । सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन, कोदारीमा भेटिनुभएका पूर्णबहादुर श्रेष्ठले भन्नुभयो, “हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।” असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् । लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउनुहुन्छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउनुहुन्छ । लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिनुभएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक हुनुहुन्छ । तर अझै उहाँले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उहाँले बताउनुभयो । प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आव २०७६÷७७ मा रु एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो । “सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ”, उहाँले भन्नुभयो । तातोपानी नाकाले गत आवमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किमी र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिकरूपमा अव्यवस्थित बन्यो । भूकम्पको चार वर्षपछि मालवाहकरूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो । बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । “नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन् ।” मुलुककै राजश्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटेपनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।
पोखराः बागलुङका अर्णबहादुर खड्का पोखरा महानगरपालिका ७ घारीपाटनस्थित सितारामपुलबाट सेतीमा हाम फालेर बेपत्ता भएका छन् । आज (बिहिबार) बिहान मर्निङ वाकमा निस्केका ४५ वर्षिया खड्का छोरेपाटन जाँदै गर्दा सितारामपुलबाट एक्कासी हाम फालेर बेपत्ता भएका हुन् । मानसिक रोगी रहेका अर्णबहादुर खड्का ( केदार खड्का ) हाम फालेर बेपत्ता भएको खड्काका दाजु गोविन्द खड्काले सुनगाभा न्यूजलाई बताए । ‘हामी नयाँगाउँबाट छोरेपाटनतिर जाँदै थियौं । म अगाडी थिए । पछाडी भाई र उसको छोरा थिए, उनले भने, ‘एक्कासी छोरो कराएपछि हेर्दा भाइले हामफालिसेको थाहा भयो। त्यसपछि प्रहरीलाई खबर गर्यौं ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बेपत्ता खड्काको खोजीकार्य तिव्र पारेको बताए । तिवारीका अनुसार बेपक्ता भएका खड्का बागलुङ नगरपालिका ३ गुठी घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्दै आएका थिए ।
नवलपरासी : नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी हुनुहुन्छ । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बस्नुभएकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो । उहा भन्नुहुन्छ, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उहाँ मुटुको बिरामी हुुनुहुन्छ । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौँ लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भन्नुभयो, “२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै सहजभएको छ ।” जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्नुहुन्छ, “समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।” ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौँ पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।” वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोके्रफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् । सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् । भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौँको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौँ समय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भन्नुभयो, “वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।”
गलकोट : निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए । स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताउनुभयो । “असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौँ”, दर्जीले भन्नुभयो, “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।” घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।

