बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ । उहाँले सोमबार नै कबोल रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यसअघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु तीन लाखमा सरकारी मारको बढीबढाऊ भएको थियो । नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण आकाङ्क्षी धेरै हुने भएकाले खुला बडीबढाऊमार्फत छनोट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । भगवती कोत मन्दिरमा कालरात्रिको राति कोत मन्दिरमा सर्वसाधारणको बीचमा खुला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक वर्ष सरकारी मार हान्न आकाङ्क्षा राख्नेको सङ्ख्या र बोलकबोल रकमसमेत बढ्दै गएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । “यहाँ सरकारी मार हानेका व्यक्ति सबैको उन्नति प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो”, उहाँले भन्नुभयो । तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोत मन्दिरमा बडीबढाऊ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोत मन्दिरलाई पुरातत्व विभागले दुई वर्षअघि रु ६९ लाख खर्चेर पुनःनिर्माण गरेको छ ।
काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोको दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।
नवलपुर : दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । “दशैं तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्”, वडाध्यक्ष शिवकान्त तिवारीले भन्नुभयो, “फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।” गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उहाँले अनुरोध गर्नुभयो । “पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।” दशैंको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । “हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैंको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “पहिले दशैं आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।” गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताउनुभयो । पछिल्ला आठ÷दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैंको रमाइलो पनि हराएकोजस्तै भइरहेको उहाँको भनाइ छ । गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताउनुभयो । बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले विगतका वर्षहरुमा आफ्नो गाउँम पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताउनुभयो । “पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे”, उहाँले भन्नुभयो, “अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।” पिङ निर्माणमा युवाहरुको सहभागिता आवश्यक भए पनि युवा नभेटिँदा पिङ बनाउन कठिन भएको उहाँले बताउनुभयो । “कोरोना कालभन्दा अघिसम्म हामी युवाहरु गाउँमा भेला भएर प्रत्येक घरघरबाट बाबियो तथा सुनपाट सङ्कलन गरेर पिङको लठ्ठा बाट्ने गर्दथ्यौँ”, उहाँले भन्नुभयो, “घटस्थापनाको दिनसम्म सबै तयारी सकेर पिङ ठड्याएर खेल्न सुरु हुन्थ्यो ।” दशैंमा हालिएको पिङ हरिबोधनी एकादशीपछि मात्रै निकाल्ने गरिएको उहाँले स्मरण गर्नुभयो । विदेश गएका युवा दशैँँमा घर फर्किने क्रम न्यून हुने तथा अध्ययनका लागि जिल्ला बाहिर रहेका युवा ढिला गरी घर फर्किने गर्दा गाउँघरबाट पिङ हराउने अवस्थामा पुगेको उहाँले बताउनुभयो । “हामीले अझै पनि पिङ निर्माण गर्ने तयारी भने गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक स्रोत र साधन जुट्यो भने अष्टमीको साँझसम्म गाउँमा पिङ तयार हुन्छ ।” पिङ निर्माण भएपछि मात्रै दशैँँ आएको जस्तो लाग्ने स्थानीय बताउँछन् । पिङ निर्माणका लागि आवश्यक पर्ने बाँसको लिङ्गो पाउनै कठिन हुन थालेपछि पिङ बनाउने उत्साह हराएको मध्यविन्दु–३ का शिखाराम थनेतले बताउनुभयो । “पहिले पिङ हाल्ने भनेपछि हामीले अनुमति लिएर नारायणी पारी निकुञ्जको पहाडमा पुगेर बाबियो काटेर ल्याउने गरेका थियौँ”,उहाँले भन्नुभयो, “बाबियो काट्न नजाने गाउँमा बाँसको लिङ्गो खोज्न हिँड्ने गर्दथे ।” सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेका अहिलेका युवा पुस्ताले पिङ निर्माणमा चासो नदिँदा आफूहरुको संस्कृति नै हराउने पो हो कि भन्ने चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग र सुख सुविधाले हाम्रा पुराना संस्कृति नै हराउँदै जान थालेका छन् । अहिलेका युवापुस्ताले पिङप्रति त्यति चासो दिँदैनन् । कामको व्यस्तता, बाह्य संस्कृतिको प्रभाव, पिङप्रतिको मोह कम हुँदै जाँदा अहिले गाउँघरबाट परम्परागत हाम्रा चाडपर्व झल्किने संस्कृति लोप हुँदै गएका हुन् ।
सिरहा: लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ । माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानका अध्यक्ष विकास शारदाले जानकारी दिनुभयो । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोलाको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का छन् । ती सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट सङ्कलन गरिएको आर्थिक सहयोगबाट निर्मित भएका हुन् । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेत चाँदीका गरगहनाले सजाइएका छन् । अन्य देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृङ्गार तथा हातहतियार पाँच केजी चाँदीका छन् । मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको छ । मेला समापनपछि ती गरगहना विकास समितिले स्थानीय बैङ्कको लकरमा राख्ने निर्णय भएको बताइएको छ ।
ढोरपाटन: निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खनन गर्न छाडेको सय वर्ष बढी भएछ”, स्थानीय ओमप्रसाद छन्त्यालले भन्नुभयो, “गाउँमा यति धेरै आयस्रोतको सम्भावना हुँदा पनि हामी गरिब छौँ, सरकारले यसको तत्काल उत्खनन गर्न जरुरी छ ।” यस्ता खाडल नर्जाखानी क्षेत्रमा अनगिन्ती रहेको स्थानीय उहाँले बताउनुभयो । गाउँ तथा जङ्गलभरि खानी नै खानी रहेको हुँदा यसको गणना नै गरेर नसकिने उहाँको भनाइ छ । घरछेउ र बारीमासमेत अहिले पनि तामाका टुक्रा भेटिने गरेको उहाँले बताउनुभयो । “यो यस्तो गाउँ हो, यहाँ बारी खनजोत गर्दा पनि तामा निक्लिन्छ, पहिरो जाँदा पसनि तामा भेटिन्छ, जहाँ हे¥यो त्यहाँ तामाको खानी नै खानी छन्,” उहाँले भन्नुभयो, “यहाँ भएका भिर–पहरा जहाँसुकै खानी छन्, यसको गणना अहिलेसम्म हामीले गर्न सकेका छैनौँ ।” उहाँले खानीहरूको पुनः उत्खनन गर्न सके गाउँका धेरैले रोजगार पाउने र जीवनस्तर उकासिने बताउनुभयो । छन्त्याल, थकाली र दलित जातिले यहाँ काम गरेर जीविकोपार्जन गरेको इतिहास रहेको उहाँको भनाइ छ । “अहिलेको जमानामा नयाँ–नयाँ प्रविधि छ, उतिबेलाको समयमा त बाउबाजेले एउटा निँगालो दियालोको भरमा त्यति ठूला–ठूला पहरा काटेर तामा निकाल्नुभयो, अहिले त केही समस्या छैन”, स्थानीय छन्त्यालले भन्नुभयो, “सरकारले तदारुकता देखाउने हो भने यहाँका जनताले यही नै रोजगार पाउन सक्थे, आत्मनिर्भर बन्ने थिए, रोजगारीका लागि भौतारिनुपर्ने थिएन ।” खुङ्खानी नर्जाखानी क्षेत्रमा धेरै खानी भएको हुँदा खुबै खानी भन्ने गरेको र पछि खुङ्खानी भन्ने गरिएको स्थानीय कुलबहादुर छन्त्यालले बताउनभुयो । खुङ्खानी जर्जाखानी नजिकै रहेको गाउँ हो । “गाउँभरि खानी हुँदा हाम्रा अग्रजहरूले खुङ्खानीलाई खुबै खानी भन्ने गर्थे, अहिले आएर खुङ्खानी भन्ने गरिन्छ, यति धेरै खानी त अरु कुनै पनि ठाउँमा छैनन् होला”, उहाँले भन्नुभयो । उहाँले तामा निकालेको बाहेक नर्जाखानी क्षेत्रमा तत्कालीन समयका नागरिकहरूले बसोबास गरेको ठाउँको भग्नावशेष भेटिने गरेको बताउनुभयो । तत्कालीन सरकारले अत्यधिक कर बढाएपछि स्थानीयले तिर्न नसकेपछि तामा निकाल्न छाडेको छन्त्यालको भनाइ छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशम्शेरको पालादेखि यस क्षेत्रमा तामाखानी बन्द भएको कुलबहादुरको भनाइ छ । “बाउबाजेले भने अनुसार तत्कालीन सरकारले स्थानीयले निकालेको तामाभन्दा बढी मूल्यको कर बुझाउन भनेपछि तामा निकाल्न छाडेका रहेछन्, अहिलेसम्म निकाल्न सकिएको छैन”, कुलबहादुरले भन्नुभयो, “अहिलेको जस्तो प्रविधि थिएन, धेरै समय लगाएर कम तामा निकाल्ने गर्थे रे, कर धेरै तिर्न सरकारले ह्वीप जारी गरेपछि छाडेको रहेछन्, अब सरकारले सञ्चालन गर्न सक्ने हो भने स्थानीय र राज्यलाई करोडाैँको आम्दानी हुने थियो ।” खासगरी खानीमा छन्त्यालहरूले काम गर्ने हुँदा उनीहरूलाई अनपढ वैज्ञानिक भन्ने गरिएको कुलबहादुरको भनाइ छ । छन्त्यालहरूले माटो सुँघेर तामाखानी पत्ता लगाउने गरेको बताउनुभयो ।
काठमाडौँ : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्”, उहाँले भन्नुभयो । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्र्याइने कार्यक्रम रहेको छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । गोरखाबाट फूलपाती लिएर आजै धादिङको जीवनपुरतर्फ अर्को समूह आएको पनि उहाँले सुनाउनुभयो । आइतबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्यवम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिका समावेश गरिने जनाइएको छ । स्वयम्भूबाट जमलको दसैँघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्र्याइने कार्यक्रम रहेको हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ । फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ । पछिल्लो समय पिङ र चङ्गाको परम्परामा कमी आएकाले पनि दसैँको मौलिकता गुम्न थालेको बूढापाका बताउँछन् । –––
काठमाडौँ: काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ । पोका बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए । पश्चिम नेपाल जान कलङ्की पुग्नुभएकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए । बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो । आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उहाँको अनुमान थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने अनुानज छ । यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् । आजदेखि दसैँ बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो । कुन दिन कति यात्रु भित्रिए कति बाहिरिए ? ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए । असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानबाट ४५ हजार ३३ यात्रु भित्रिएका मा नौ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ । यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए । असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्रापिक प्रहरीले जनाएको छ ।
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्युु र अन्य सात जना घाइते भएका छन् । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन । सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताउनुभयो । दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेको छ भने दुईको अवस्था सामान्य छ ।
सुर्खेत। ‘ती पल्ला घरे लाहुरे दाइले को कोसेली बाँड्दैछन् लाहुरेनी भाउजु मुसुमुसु हाँस्दै भित्र र बाहिर गर्दैछिन्...’ चलचित्र ‘मुग्लान’ यो कालजयी गीत अहिले पनि दसैँमा उत्तिकै गुन्जिन्छ । सत्र वर्षअघि बनेको ‘मुगलान’ चलचित्रको यो गीत दसैँमा गुन्जिने लोकप्रिय गीत पनि हो । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दशैँ । अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैँ घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित भएको हो । अरुबेला बिदा नपाइँदा पनि चाडबाडमा बिदाको मेसो मिलाएर गाउँ फर्किनेको धुइरो लाग्छ । यसरी दसैँ घर फर्किने चाडका रुपमा स्थापित भयो । दसैँ नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दसैँमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ । दसैँ गाउँ फर्किने पर्वका रुपमा बलियोसँग स्थापित भएको पर्व पनि हो । दसैलाई घर फर्किने चाडका रूपमा स्थापित गर्नेमा अझ बढी भूमिका परदेश जाने सर्वसाधारणको लागि छ । हिउँदमा बाली भित्र्याएर रोजगारीका लागि परदेशिनेहरू चाडबाडको खर्च जुटाएर दसैँमा घर फर्किन्छन् । रोजगारीका सिलसिलामा परदेशिन बाध्य नेपालीहरु फर्किएसँगै दसैँमा गाउँघर भरिभराउ हुन्छन् । यसरी बाध्यताले परदेशिएका घर फर्किने चाडका रूपमा दसैँ स्थापित भएको छ । यस वर्षको दसैँ सुरु भएसँगै कर्णालीका गाउँघरहरुमा दसैँको रौनकता पनि सुरु भइसकेको छ । हजुबुवा, बाको समयमा घर फर्किने चाडका रुपमा स्थापित दसैँमा अहिले पनि घर फर्किनेको माहोल उस्तै छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूर, श्रमिक दसैँमा घर फर्किन्छन् नै । असोज महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दसँैलाई नेपालीको प्रमुख चाड पनि हो । नेपाल धर्म निरपेक्ष भइसक्दा पनि दसैँराष्ट्रिय चाडकैरुपमा स्थापित छ भने राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने गरेको छ । यसैले पनि दसैमा गाउँ फर्किने सङ्ख्या ठूलो हुन्छ । परिवेश फेरिए पनि पुस्तौँदेखि दसैँमा घर फर्किने चलन अहिले पनि फेरिएको छैन । जुम्लाको तिला गाउँपालिका–८ का खगेन्द्र नेपालीले भन्नुभयो, “मानव चोला कतिबेला कसलाई के हुन्छ थाहा हुँदैन । त्यसैले अरुबेला जो जहाँ भए पनि दसैँको बेला एकै ठाउँमा जम्मा हुने चलन स्थापित छ र अहिले पनि अरुबेला बिरानो हुने गाउँमा दसैको बेला रौनक छाउँछ ।” मङ्गलबार वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाको तिला गाउँपालिका–८ का नेपालीले आफू दसैँ मान्नकै लागि भारतबाट फर्किएको बताउनुभयो । उहाँलाई जुम्ला पुग्ने हतारो थियो । कमाइका लागि उहाँको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । यसपालि परिवार उतै छोडेर उहाँ मात्रै गाउँ फर्किनुभएको छ । बालबच्चासहित आउँदा बाटोमा अप्ठ्यारो हुने भएकाले दसैँ मान्न एक्लै घर फर्किएको बताउँदै उहाँले बताउनुभयो, “वर्ष दिनमा एकपटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ”, उहाँले भन्नुभयो, “सबै परिवार आउने मन थियो । तर, बाटोमा दुःख होला भनेर एक्लै आइयो ।” कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको खगेन्द्र बताउनुहुन्छ । उहाँले दसैलगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाउँदै भन्नुभयो, “अर्को वर्ष दशैमा घर आउन सकिएन भने अघिल्लो वर्ष त आमाबुवा, हजुरबुवा हजुरआमासँग टीका थापेको थिएँ भनेर चित्त बुझाउने बाटो हुने भएकाले पनि दसैमा घर फर्किनैपर्छ ।” रोजगारीका लागि परदेशिएकाले लामो बिदा नपाउने र यातायातलगायतका अन्य भौतिक सुविधाको अभावका कारण हिउँदमा परदेसिएकाहरू एकैपटक दसैमा घर फर्किन्थे । अहिले यातायात, सडक, पूर्वाधारलगायतको सहजताका कारण अन्य समयमा पनि भेटघाट बाक्लै हुने गरेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दशैँ, तिहारजस्ता ठूला पर्वमा गाउँ घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएका यसैबेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएका अहिले दसैँ मान्न छर फर्किरहेका छन् । परदेशीका र सहर झरेका फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । दसैँमा घर फर्किने क्रममा वीरेन्द्रनगर बसपार्कमा भेटिएका जुम्लाकै कमल बुढा दसैँमनाएर भारत फर्किहाल्ने बताउनुहुन्छ । जीविकोपार्जनका लागि परिवारसहित भारत बस्ने जुम्लाकै निराजन बुढा पनि यसलाली एक्लै फर्किनुभयो । उहाँले गाउँकै चार जना साथीहरू दसैँ मनाउन भारतबाट आएको बताउनुभयो । “दसैँ मान्नका लागि मात्रै आएको हुँ । यहाँ बस्नका लागि रोजगार छैन्”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर छ । अब छोराछोरी सुर्खेत ल्याएर पढाउने र आफूहरू भारतमै बसेर कमाइ गर्ने योजना बनाएको छु ।” दशैँ तिहार नजिकिएसँगै कर्णाली प्रदेशका गाउँहरुमा रौनकता छाएको छ । परदेशिएका गाउँका युवासँगै पढाइ तथा रोजगारीको लागि घर बाहिर रहेका पनि गाउँमा आएपछि रौनकता छाएको दैलेख गुराँसेका दशरथ केसीले बताउनुभयो । घर बाहिर रहेका गाउँघरमा फर्किएसँगै स्थानीय बजारमा पनि किनमेल गर्नेको पनि भिडभाड बढेको पनि केसीले बताउनुभयो । दैलेखवासीका दीपक खत्री साउनको महिना रोपाइँ सकेर कमाउन भारत जानुभएको थियो । उहाँ पनि अहिले गाउँ फर्किनुभएको छ । चाडपर्व खर्च जुटाउन थोरै समयका लागि उहाँ भारत जानुभएको थियो । “यसपाली खासै कमाइ नभए पनि चाडपर्व मान्नकै लागि घर आए”, खत्रीले भन्नुभयो । रोजगारीकै सिलसिलामा दुई वर्ष पहिले दुवै गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किनुभएको छ । परदेश गएका मात्रै होइन दसैका लागि तराईबाट पहाड आउने उक्लिनेको सङ्ख्या पनि अत्यधिक बढेको छ । अन्य समयमा सुनसान हुने गाउँहरु गुल्जार हुँदै गएका छन् । रोजगारीको सिलसिलामा भारत पसेकाहरु पनि घर फर्केकाले गाउँमा निकै चहलपहल बढेको उहाँले बताउनुभयो । दसैका लागि घर फर्कनेहरु लर्को लागेको बताउनुहुन्छ, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा । “अहिले अग्रिम टिकट काट्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । अध्यक्ष सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

